तरकारी उत्पादन बेलाको भन्दा भण्डारणमा प्रयोग गर्ने विषादी घातक

तरकारी उत्पादन बेलाको भन्दा भण्डारणमा  प्रयोग गर्ने विषादी घातक

निर्जला कक्षपति  |  जीवनशैली  |  असार २५, २०७६

बिचौलियाले तरकारी र फलफूलमा विषादी प्रयोग गरिरहेको तस्बिर हिजोआज सामाजिक सञ्जालमा भाइरल बनेको छ । काँचो केरा, आँप, स्याउ लगायतका फलफूलमा स्प्रे छर्किएर पकाउने गरेको होस् वा लौका, काक्रो, फर्सी, चिचिलो लगायतका तरकारीलाई सुई लगाएर ठूलो पारिएको तस्बिर देख्दा शरीर नै सिरिंङ हुने गर्छ । 

आफूले साँझ–बिहान दुःख गरेर कमाएको रूपैयाँले किनेको तरकारीमा अमानवीय तरिकाले यस्ता विषाक्त तरकारी र फलफूल खानु पर्दा दिक्क लाग्नु स्वाभाविक हो । 

तरकारी तथा फलफूलमा अत्यधिक विषादीको प्रयोग गरिएको समाचार अहिले मात्र आएको होइन, यसअघि पनि आएकै हुन् । बिचौलियाले मुनाफा कमाउन विषादी प्रयोग गर्ने गरेको समाचार आइरहेकै हुन् । 

केही दिनअघि सरकारले भारतबाट आयातित तरकारीको विषादी परीक्षणपछि मात्रै नेपाल भित्रयाउने निर्णय गर्यो । तर, अकस्मात् सरकार आफ्नो अडानबाट पछि हट्यो । जसका कारण नाकाबाट विषाक्त तरकारी भित्रिरहेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर हेर्दा तरकारीलाई सुई लगाएर ठूलो पारिएको, स्प्रे छर्किएका र ओइलिएर फाल्नुपर्ने अवस्थाका तरकारीलाई ताजा बनाउन रंगमा डुबाइएको छ । 

सरकारले यो तरकारी खानयोग्य अथवा यसमा विषादी बढी छ, यसमा कम छ भनेर हचुवाको भरमा भनिरहेको हुन्छ । कृषकले आफ्नो तरकारी उत्पादनका लागि प्रयोग गर्ने विषादीभन्दा बिचौलियाले तरकारीमा प्रयोग गर्ने विषादी घातक छ ।

हामी सबैलाई थाहा छ– यस्ता विषादीयुक्त तरकारीको सेवनले स्वास्थ्यमा असर पुर्याउँछ । चिकित्सकका अनुसार विषादीयुक्त तरकारीको सेवनले कलेजो, फोक्सो, आन्द्रा, मृगौलालाई असर पुर्याउँछ । त्यतिमात्रै होइन, क्यान्सरजस्तो घातक रोग लाग्न सक्छ । 

तर, पनि सरकार यसप्रति किन बेवास्ता गरिरहेको छ ? भारतबाट आयातित तरकारीको विषादी परीक्षणपछि भित्रायाउने निर्णयमा सरकार किन अडिग रहन सकेन ? के नेपाली जनताको स्वास्थ्यको सुरक्षा सरकारले गर्नु पर्दैन ? त्यसो भए किन सरकार छिमेकी देशका नेता रिझाउनु लागिरहेको छ त ? 

आम सर्वसाधारणको प्रश्न छ । 

तर, सरकारले यसको जवाफ दिन सकेको छैन । आखिर किन सरकार विषादी भएका तरकारी भिœयाउन भारतसँग लम्पसार परिररहेको छ । यिनीहरूको पद जोगाउन छिमेकी राष्ट्रको विषाक्त तरकारी हामीले किन खानु पर्ने ? यतिले नपुगेर भोलि बिहान बिरामी हुँदा छिमेकमै गएर उपचारका लागि करोडौं रूपैंया खर्चिनु पर्ने ? छिमेकीलाई त दोहोरो फाइदा ! क्या गज्जब !

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर हेर्दा, विषाक्त तरकारी बेच्नेहरू नेपालीभन्दा भारतीय बढी छन् । कतिपयले यस्ता तरकारी बेच्नेको विषादी हाल्दै गरेको अवस्थाको मोबाइलमा खिँचेर भिडियो बनाएर नै राखेका छन् । कतिपय भारतीय मिडियाले समेत तरकारीमा अत्यधिक विषादी मिसाइएका कारण नेपाल सरकारले तरकारी आयातमा रोक लगायो भन्न निकै नै सकारात्मक समाचार समेत प्रवाह गरे । नेपाल सरकारले विषादी तरकारीको आयातमा रोक लगाउँदा धेरै समाचार नेपालीको हितमै आएको पाइयो । कतिपय भारतीय मिडियाले त अन्य देशमा यस्ता विषाक्त तरकारी पठाउन नहुने र भारत सरकारले नै क्वालिटी कन्ट्रोल गर्नु पर्ने सुझावसहित सामग्री दिएका थिए । तर, सरकार आफ्नो निर्णयमा अडिग रहन नसक्दा हाम्रा भान्छामा विष भएका तरकारी भित्रिएका छन् । यस्तो तरकारी खाएर बिरामी पर्छौं भन्ने थाहा हुँदाहुँदै पनि हामी बाध्य छौं । योभन्दा लाचारीपन के हुन सक्ला र ? 

मानिसलाई दिनरात चौगुना पारेर धनी हुनु परेको छ । त्यसैले भर्खर फल्न थालेको चिचिलो टिपेर सुई लगाएर हवात्तै ठूलो पारिन्छ । 

बिचौलियाले न आम उपभोक्ताको स्वास्थ्यको ख्याल गर्छ, न त धर्मकै । मानिसको ज्यान नै जाने यस्ता विषादी तरकारीमा हाल्नु हुँदैन भन्ने ज्ञान भए पनि धेरै मुनाफा कमाउने उद्देश्यले नै यस्तो गरेको पाइन्छ । विशेष गरी भारतबाट भित्रिने तरकारी परवल, भान्टा, भिन्टी, भेडे खुर्सानी, काउली, तिते करेला, लौका लगायतका तरकारीमा अत्यधिक विष देखिएको छ । यस्तै, आँप, केरा, अनार, मौसम, तरभूजा, लिची लगायतका फलफूलमा पनि उही अवस्था छ । यस्तोमा कसरी स्वस्थ रहने भन्ने चुनौती पनि हामीमाझ थपिएको छ । त्यसैले नेपालमै उत्पादन हुने फर्सीको मुन्टा, स्कुसको मुन्टा, निहुरो, स्कुस, हाम्रै खेतबारीका सागसब्जी, गुन्दु्रक, मस्यौरा, गेडागुडी खानु उत्तम हुन सक्छ ।  

नेपालको संविधान धारा ३६ मा उल्लेख छ,  ‘प्रत्येक नागरिकलाई कानुनबमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ ।’ 

यस्तै, धारा ४४ उपधारा १ मा उल्लेख छ, ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ ।’ 

सोही धाराको उपधारा २ मा गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने उल्लेख छ । संविधानमा मात्र सीमित हुन पुगेको यी धाराअनुरूप कुनै पनि उपभोक्ताले गुणस्तरीय सामानको उपभोग नेपाली जनताले गर्न पाएका छैनन् । अत्यधिक विष भएको तरकारी र फलफूल हामीले खानु परिरहेको छ । यसविरुद्ध कही गएर भन्यो भने पनि हुनेवाला केही छैन, न्याय नभएको देशमा उजुरी गरेर पनि हुनेवाला केही देखिँदैन । 

नेपालमा आफ्नै देशमा उत्पादन भएको तरकारी र फलफूल पर्याप्त छैन । छिमेकी देश भारत र चीनबाट तरकारी भित्रिने गर्छ । 

भारतबाट नेपाल छिर्ने सबै नाकामा विषादी परीक्षण गर्ने पर्याप्त मेसिन छैनन् । काठमाडौंको कालीमाटी बजारका सबै तरकारी र फलफूल पसलका तरकारी परीक्षण हुँदैनन् । 

एउटा पसलमा जाँचिएको नतिजा अनुसार सरकारले यो तरकारी खानयोग्य अथवा यसमा विषादी बढी छ, यसमा कम छ भनेर हचुवाको भरमा भनिरहेको हुन्छ । कृषकले आफ्नो तरकारी उत्पादनका लागि प्रयोग गर्ने विषादीभन्दा बिचौलियाले तरकारीमा प्रयोग गर्ने विषादी घातक छ । मानव शरीरमा प्रत्यक्ष असर पार्ने यस्ता विषादी प्रयोगकर्तालाई न राज्यले कारबाही गर्न सक्छ न त उपभोक्ताले यस्ता तरकारी उपभोग नगरी बस्न सक्छन् । 

काठमाडौंको व्यस्त जीवन अनि खाली जग्गाको अभावका कारण उपभोक्ताले आफै तरकारी उत्पादन गर्न सक्ने अवस्था छैन । त्यसैले विषाक्त तरकारी र फलफूलबाट ज्यान जोगाउने कसरी ? हामी आफैं नै सजग हुनु सिवाय अर्को विकल्प छैन ।