बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २५, २०७६

बाँके । दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । सो गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पु¥याएको छ । सोमबार र मंगलबार रातभरि परेको पानीले डुडुवामा बाढी आउँदा डुडुवा गाउँपालिकाको बेतहनीमा केही घरसमेत डुबानमा परेको अध्यक्ष चौधरीले बताउनुभयो । बाढीका कारण सो गाउँपालिकाको वडा नं ३ राजारामपूर्वाका मोलहे अहिरका तीन भैँसी मरेका छन् । भैैँसीलाई बाढीले बगाएको थियो । 

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेको राप्ती नदीमा बाढी आउन सक्ने सम्भावनाका कारण नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी गराउनुभयो । 

नेपालगञ्जमा परेको दुई दिन देखिको अविरल वर्षाका कारण नगरका होचा बस्ती डुबानमा परेका छन् । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका हुन् । नालाको निकास नहुँदा स्थानीय बेलासपुर, रानी तलाउ, महेन्द्रपार्क, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलाम्मे भएका छन् । 

ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगञ्ज- १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ । थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिकाले तदारुकता नदेखाएकोे स्थानीयवासीको गुनासो छ । एसियाली विकास बैंकको अर्बौं ऋण सहयोग खर्च गरेर नगरभरि सडक र नाला बने पनि डुबान समस्या समाधान नहुँदा नेपालगञ्जवासी आक्रोशित भएका छन् । 

नगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले अर्को वर्षदेखि डुबानको समस्या नरहने प्रतिक्रिया दिनुभएको छ । नाला सफा गर्ने मेसिन किन्दैछौँ, अर्को वर्षको वर्षात्अगावै नेपालगञ्जका सबै नाला मर्मत गरेर सफाइ गरिनेछ,’ मेयर राणाले भन्नुभएको खबर राससमा साभार गरिएको हो ।