यी हुन् नेपाल नजिकका दस तारामण्डल

यी हुन् नेपाल नजिकका दस तारामण्डल

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  असार २६, २०७६

रात्रिकालीन आकाशमा झिलिमिली तारा हेर्न कसलाई पो मन पर्दैन होला । स्वच्छ आकाश भएको कुनै रात्रि आकाशमा तारा गन्ने प्रयास गर्नुस् । 

अन्दाजी कति वटासम्म गन्न भ्याउनुहुन्छ ? यससम्बन्धी विज्ञका अनुसार नग्न आँखाले हामीले बढीमा ३ हजारसम्म गन्न सक्छौं ।

नौं लाख तारा उदाए धरतीको आकाश हासेछ 
शरद लाग्यो वनमा फूलले प्रीति गासेछ । 

पक्कै गीतकारले गनेर नौ लाख संख्या पुर्याएका होइनन्, शायद पहिलाका मानिसका लागि नौ लाख संख्या एकदमै ठूलो थियो होला । चलनचल्तीमा सुन्नु नै भएको होला, महिलाहरूका लागि नौ लाख हार अनमोल नै थियो । 

मुझे नौलखा मंगवा देरेओ सैंया दीवाने 
तुझे गले से लगा लुंगीओ सैंया दीवाने । 

तर, आकाशमा रहेका ताराका लागि नौ लाखको संख्या .००००००००१ प्रतिशत पनि होइन । ब्रह्माण्डमा २०० अर्ब त आकाशगंगा नै छन् । प्रत्येक आकाशगंगामा २०० देखि ४०० अर्ब तारा छन् । पृथ्वीबाट आकाशका सम्पूर्ण तारालगायत विभिन्न जानकारी तारामण्डलमा गएर प्राप्त गर्न सकिन्छ । 

विद्यार्थीहरूका लागि तारामण्डलमा गएर तारा लगायत सम्पूर्ण आकाशको अवलोकन गर्नु अत्यन्त ज्ञानवर्धक हुन्छ । तर, दुर्भाग्य हाम्रो देशमा न सरकारले न त निजी क्षेत्रले नै एउटा तारामण्डल रहेका छन् । यस आलेखमा भारतका विभिन्न दस सहरमा रहेका तारामण्डलबारे चर्चा गरिँदैछ । 

बिरला तारामण्डल

Source: goibibo

कोलकातास्थित यो तारामण्डल विश्वकै दोस्रो तथा एसियाको ठूलो तारामण्डल हो । यो स्तुपा आकारमा बनाइएको छ । यहाँ विभिन्न खाले टेलिस्कोप र खगोलशास्त्र विषयक थुप्रै जानकारी लिन सक्ने व्यवस्था रहेको छ ।

नेहरू तारामण्डल

Source: wikimapia

मुम्बईको बर्ली क्षेत्रमा स्थित यो तारामण्डल भवन गुम्बद शैलीमा बनाइएको छ । यहाँ विद्यार्थीलाई खगोल विज्ञानसम्बन्धी थुप्रै जानकारी गराइन्छ । 

बिरला तारामण्डल

Source: dtnext

चेन्नईमा रहेको यो तारामण्डल भारतको आधुनिकतम तारामण्डल हो । यहाँ ३६० डिग्री ‘स्काई थिएटर’ रहेको छ । यहाँ थिएटरमा ‘स्पेसल इफेक्सन’ देखाउने प्रविधि उपलब्ध छ । 

अहमदावाद तारामण्डल

Source: welcometogujarat

गुजरात राज्यको अहमदावाद सहरमा बनाइएको ‘साइन्स सिटी’मा यो तारामण्डल बनाइएको छ । यहाँ पृथ्वीको ‘रिटलिका’, ‘हल अफ स्पेस’ र इनर्जी पार्क पनि रहेका छन् । 

पटना तारामण्डल

Source: archnet

विहारको राजधानी पटनास्थित इन्दिरा गान्धी विज्ञान परिसरमा रहेको यस तारामण्डलको गणना भारतका ठूला तारामण्डलमा हुने गर्छ । यहाँ अन्तरिक्ष विषयक विविध फिल्म देखाइन्छ । 

कुसुमबाई मोतीचन्द तारामण्डल

Source: walkthroughindia

महाराष्ट्र राज्यको पुणे सहरस्थित यो नै भारतको पहिलो तारामण्डल हो । यसको निर्माण सन् १९५४ मा भएको थियो । यसलाई एसियाकै पहिलो ‘प्रोजेक्सन प्लेनेटेरियम’को दर्ता प्राप्त छ । 

प्रियदर्शनी तारामण्डल

Source: keralatourism

केरलको राजधानी तिरुबन्नतपुरमस्थित ‘साइन्स एण्ड टेक्नोलोजी म्युजियम’मा रहेको यस तारामण्डलमा ‘नाइट स्काई अवजरभेसन’ र ‘मोबाइल एस्ट्रोनोमी’बारे जानकारी गराइन्छ । 

गुवाहाटी तारामण्डल

Source: holidify

असम राज्यको राजधानी गुवाहाटीस्थित यो तारामण्डल ‘हाइब्रिड प्लेनेटेरियम प्रोजेक्सन सिस्टम’ प्रविधियुक्त रहेको छ । 

स्वामी विवेकानन्द तारामण्डल

Source: dailyhunt

कर्नाटक राज्यको मंगलौर (मंगलुरु) सहरमा रहेको यो भारतको पहिलो ‘थ्रिडी प्लेनेटेरियम’ हो । यस तारामण्डलमा ‘८ के डिजिटल’ र अटो मेकानिकल प्रोजेक्सन सिस्टम’ प्रविधि रहेको छ । 

अन्ना तारामण्डल

Source: aplf

तमिलनाडु राज्यको तिरुचिरापल्लीस्थित अन्ना विज्ञान केन्द्रमा रहेको यस तारामण्डलमा टेलिस्कोप प्रयोग गर्ने सुविधा पनि रहेको छ । यस तारामण्डलबाट रात्रिकालिन चन्द्रमा र अन्य ताराहरूलाई अवलोकन गर्न सकिन्छ । 

तपाईं भारत यात्रा गर्दा यी सहर पुग्नुहुन्छ भने तारामण्डल भ्रमण गर्न नछुटाउनुहोला !