‘कुनै पनि अनुसन्धानको सिफारिस एजेन्सीबाट प्रायोजित हुनुहुँदैन'

‘कुनै  पनि अनुसन्धानको सिफारिस एजेन्सीबाट  प्रायोजित हुनुहुँदैन'

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  असार २६, २०७६

प्रा. डा. शिवकुमार राई  

नेपाल मेडिकल कलेजमा रिसर्च डाइरेक्टर पदमा कार्यरत प्रा.डा. शिवकुमार राईलाई हालै  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा मै पहिलोपल्ट ‘हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गर्‍यो ।  स्वास्थ्य क्षेत्रको ल्याब (प्रयोगशाला) परीक्षणका विज्ञ राई दख्खल राख्ने थोरै व्यक्तिमा पर्नुहुन्छ । जापानस्थित कोवे युनिभर्सिटी स्कुल अफ मेडिसियनको असोसियट प्रोफेसर हुँदै भिजिटर प्रोफेसरका रूपमा कार्यरत राईले यस अघि राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड  कस्तो सम्मान हो ? यो क–कस्ले पाउँछन ? पाउने विधिमा केन्द्रीत रहेर लोकसंवाद डटकमले प्रा.डा.शिवकुमार राईसँग अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूलअंशः

हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट प्राप्त गर्नुभएको छ, तपाईंले यो के कारण प्राप्त गर्नुभएको हो ? 

मेरो स्वास्थ्य र विज्ञानको क्षेत्रमा सबैभन्दा बढी रिसर्च (अनुसन्धान) पेपर प्रकाशन भएको रहेछ । अहिलेसम्म मेरो १ सय ७९ वटा रिसर्च पेपर प्रकाशन भइसकेका छन् । यो नै धेरै हो भन्ने लागेको थिएन । तर, त्यो नै धेरै रहेछ । 

अर्को केका आधारमा भन्दा यो प्रज्ञिक गतिविधिमा मेरो अहिलेसम्म स्वास्थ्य र चिकित्सा विज्ञानको २५ किताब वा किताबमा खण्ड गरेर २५ प्रकाशन भएका छन् । यसको आधारमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को छनोट कमिटिद्वारा नेपालीमध्येमा सबैभन्दा बढी अनुसन्धानात्मक कृति प्रकाशनमार्फत् योगदान गरेको व्यक्ति भनेर मलाई छानिएको हो । मलाई लाग्छ– आजभोलि गुगल स्कलरमा डेटाबेस बनाइदिन्छ । त्यो स्कलरमा गएर हेर्‍यो भने पनि त्यो देखिने कुरा नै हो । त्यसकै आधारमा गरेको हो भन्ने मलाई लाग्छ ।

रिसर्च गर्न पैशाले गर्ने होइन । रिसर्च गर्न भित्रबाट आउनुपर्छ र विषयप्रति समर्पित हुनुपर्छ । रिसर्चले प्रश्न गर्न सक्नुपर्छ । त्यसो भयो भने मात्र रिसर्च गर्न सकिन्छ ।  

यो कसले स्थापना गरेको हो र तपाईंलाई पहिलो पटक प्रदान गरेको हो ?

नेपालमा चिकित्सा विधाको शिक्षाको विकास भनेको २०२८ सालदेखि सुरु भएको हो । त्योभन्दा पहिला तालिम भन्न मात्रै हुन्थे । म महाराजगन्ज क्याम्पसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना भइसकेपछि महाराजगन्ज क्याम्पसमा ३२ सालको भर्ना भएको विद्यार्थी हुँ ।  त्यसबेला अहिलेको जस्तो इन्सिटिच्युट र मेडिसिनको विकास भएको थिएन । टिचिङ हस्पिटल थिएन, यी इत्यादि कुरा केही पनि नभएको अवस्था हो । पछि आएर विस्तारै यी सबै कुराको विकास हुँदै जाँदा शिक्षामा गुुणस्तर ल्याउनुपर्छ भन्ने कुरा सँगसँगै आयो । सेवामा गुणस्तर ल्याउनुपर्छ भन्ने कुराको विकास हुँदै जाँदा त्यसको सुरुवात कसरी गर्नेभन्दा त्यसलाई एकेडेमिक क्रियाकलाप र रिसर्चको माध्यमबाट हुनुपर्छ भन्ने निश्कर्ष निकालियो । यो मुलुकमा पनि स्वास्थ्य अनुसन्धानलाई रेखदेख गर्ने निकाय बन्नुपर्छ भनेर १९९१ सालमा स्वास्थ्य मन्त्रालयअन्तर्गत रहने गरी एउटा सानो कमिटी बन्यो । त्यसबेला मेडिकल रिसर्च कमिटी भन्ने नामाकरण गरिएको थियो । त्यही कमिटीलाई पछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् भन्ने नामाकरण गरियो । समय अनुसार त्यसको पनि विकास भएपछि यो मुलुकमा अहिले थुप्रै एकेडेमिक इन्सिटिच्युट, मेडिकल कलेज पनि करिब २० वटा जति भइसकेको अवस्था छ । सबैलाई युनिर्भसिटीले पनि शिक्षाको गुणस्तर बढाउन रिसर्च गरेको हुनुपर्छ भन्ने छ । यस कुरालाई निरन्तर गर्दा आज–भोलि लेक्चरलबाट एसिस्टेन प्रोफेसरमा प्रमोसन हुँदा पनि यतिवटा रिसर्च पेपर प्रकाशन गरेको हुनुपर्छ भनी निर्धारण गरिएको छ । एसिस्टेन प्रोफेसरबाट एसोसिएट प्रोफेसरमा जानलाई फेरि त्यही पिरियडमा अर्को रिसर्च गरेको हुनुपर्छ । यो सबै किन भन्दा सबैले रिसर्च गर्दै जाँदा अहिले रिसर्च नगरेर नहुने भो भन्ने एउटा खालको एउटा माहोल बनेको छ ।  

त्यो परिषद्ले रिसर्च गर्नेलाई आकर्षण गर्न यो अवार्डको स्थापना गरेको हो भनेर बुझ्यौं भने सही हुन्छ कि गलत ?

त्यो हो । तर, त्यसरी गर्दै जाँदा एउटा माहोल त सृजना भएको छ । त्यहाँ वेस्ट रिसर्च अवार्ड भन्ने पनि छ । यो वर्षभरिमा कसले राम्रो रिसर्च ग¥यो त्यसलाई अवार्ड दिइन्छ । तर, यस पटक यसको सुरुवात कसरी गरिएको रहेछ भन्दा यो मुलुकमा नेपालीमध्ये जिन्दगीभरि रिसर्च गरिरहेका ६० वर्ष नाघेकामध्येबाट सबैभन्दा बढी रिसर्च पेपर प्रकाशन गर्नेमध्येबाट छान्ने भन्ने क्राइट एरिया बन्नेछ । र, त्यसमा म परेछु । यो खालको अवार्ड दिँदाखेरि अबको आउने पुस्ताको निरन्तरता दिनको लागि आकर्षित गर्ने खालको रह्यो । यो काम गरिरह्यो भने यस्तो खालको अवार्ड पनि पाइने रहेछ भन्ने भावना जगाउने खालको छ । 

तपाईंले प्राप्त गरेको अवार्ड नेपालमा पहिलो पटक हो ?

यो नेपालमा पहिलो पटक नै हो । नेपालमा एनएचआरसीले यो सुरुवात गरेकै थिएन । यो नै पहिलो पटक हो । सुरुवात गरेकै पहिलो पटक हो र पहिलो पटक नै मैले यो अवार्ड प्राप्त गरेको हो । 

सरकारले सम्मान गर्दा मन्त्रालयका अमुक व्यक्तिको प्रभाव, राजनीतिक संरक्षणका आधारमा प्राप्त गर्ने परिपाटी छ । तपाईंले पनि कुनै खालको दबाब र प्रभाव वा संरक्षणले पाउनुभएको त होइन ?

यो त घामजस्तै छर्लङ्गै छ । तपाईंले इंगित गर्नुभएको कुरा हुन सक्छ । अहिले राज्यबाट दिइने कतिपय मेडल, विभूषण, तक्मालगायत पदक भन्ने छन्, त्यस्तामा अहिले सामाजिक सञ्जालमा सायद तपाईंहरूले पनि कुनै सन्दर्भमा रिपोर्ट गर्नुभयो होला । योग्यतै नभएको, क्षमता नै नभएको यो वा त्यो बहानामा विभिन्न किसिमको नाताको कारणले पाएको विभिन्न संचार माध्यमले उजागर गरिरहेका छन् । मैले पाएको चाहिँ घामजस्तै छर्लंङ्ग यो कारणले छ कि यो मुलुकमा मेरो जति रिसर्च पेपर लेख्ने मान्छे कोही नभएकाले मैले पाएको हो । पुरस्कार पाएको समारोहमा नै त्यही भनिएको थियो । 

यो बीचमा कसैले तपाईंलाई चुनौती दिएर मेरो पनि रिसर्च थिए भनेर कसैले भनेको अवस्था छ कि छैन ?

दिएको पनि छैन । मैले सुनेको छैन । मेरो विचारमा छैन पनि होला । किनभने स्वास्थ्य अनुसन्धान परिषद्को छनोट कमिटीले हेर्दा पनि ती सबै त हेरे नै होलान् भन्ने लाग्छ । गुगल स्कलरमा पनि गएर खोजी गर्दा कसैको नाताले बनाइदिने कुरा त होइन । गुगलले त वल्र्डवाइड डाटाबेसमा बनाउने हो । मैले लेखेको पेपर कति जनाले उनीहरूका रिसर्च पेपर बनाउँदा रिफरेन्सका रूपमा प्रयोग ग¥यो भन्ने कुरा पनि आजभोलि आउँछ । यो सबै अहिलेको इन्टरनेट, प्रविधिले ट्रेकिङ गरिरहेको हुन्छ । त्यसको आधारमा बनेको डाटाबेसको आधारमा बनेको हुनाले यो कुनै दबाब, प्रभाव, नातागोता कुनैबाट पनि होइन भनेर म भन्न सक्छु । यदि त्यस्तो थियो भने धेरै मानिसले चुनौती दिइसकेका हुने थिए । 

नेपालका बुद्धिजीवी अथवा अनुसन्धानकर्ताले जति पनि जति रिसर्च गर्छन् ती कुनै संस्थाका लागि प्रायोजित अर्थात् रोजिरोटीसँग जोडेर मात्र  रिसर्च गर्छन् भन्ने छ । तपाईंका कति वटा रिसर्च त्यो रोजिरोटीसँग जोडिएका छन् ? स्वतन्त्र रूपमा कतिवटा गर्नुभएको छ ?

तपाईंले इंकित गर्नुभएको जुन प्रायोजित भन्नुभयो प्रायोजित रिसर्च हामी प्राज्ञिकले गर्नु हुँदैन भन्ने हाम्रो नैतिकतामा पर्छ । विद्यार्थीलाई पढाउँदाखेरि रिसर्चमा नैतिकता भन्ने के हो भनिरहँदाखेरि प्रायोजित रिसर्च हामीले गर्नु हुँदैन । फन्डिङ लिन सकिन्छ । तर, डोनर एजेन्सीबाट लिएर गर्नुपर्छ । तर, उनीहरूले जे–जे भन्यो त्यही–त्यही खालको रिकमेण्डेसन लेख्ने खालको रिसर्च गर्नुहुँदैन । त्यो अनैतिक काम हो भनिन्छ । त्यसैले त्यो खालको काम त मैले गरेकै छैन । तर, फन्डिङ लिएको छु । 

तपाईंले गरेको १ सय ७९ रिसर्चमा कति वटामा फन्डिङ लिनुभयो, कति तपाईं आफैले गर्नुभयो ?

१३० जतिमा मैले फन्डिङ लिएको छु । कुनैमा जापानी गभर्नमेन्ट, जापानी डोनरको पनि फन्डिङ छ । टिचिङ अस्पतालमा काम गर्दाको सन्दर्भमा भन्ने हो भने जाइको फन्डिङमा पनि अनुसन्धान गरेको छु । कुनैमा डब्लुएचओले फन्डिङ गरेको छ । फन्डिङ एजेन्सीलाई म जहिले पनि त्यो प्रायोजित हुनुहुँदैन भनेर पहिले नै भन्ने गरेको हुन्छु । कतिले त के पनि भन्ने गर्छन् भने तपाईं त राष्ट्रिय योजना आयोगको सदस्य भइसक्नुभएको छ, अब त तपाईंलाई एनजिओ, आइएनजिओले प्रोजेक्ट दिन्छ भन्ने खालको कुरा पनि गर्थे । मलाई दिँदैनन् किनभने उनीहरूले भनेजस्तो रिर्पोट मैले लेख्दैन । त्यसै कारणले दिँदैनन । 

अरु रिसर्चभन्दा के अर्थमा तपाईं रिसर्च जसले राज्यले तिनलाई सम्मान गर्नुपर्छ ?

यो वा त्यो अर्थ भन्दा पनि राज्यले सम्मान गरेको चाहिँ निरन्तरताको लागि हो । सामान्यतया केका लागि रिसर्च गर्नेभन्दा आफ्नो प्रमोसनका लागि । एक दिन प्रोफेसर हुन्जेलसम्मका लागि कुनै न कुनै प्रकारले रिसर्च गरेर मापदण्ड पु¥याएर प्रोफेसर पद पाउँदासम्म पुग्ने त्यसपछि रिसर्च नगर्ने धेरै साथी हुनुहुन्छ र छौं । तर, मचाहिँ त्यो नगरेर हामी एकाडेमिसिएनको धर्म नै वा ड्युटी नै के हो भने हामी जहिले पनि रिसर्चमा इन्भल्भ भइरहनुपर्छ । विद्यार्थीलाई गाइड गर्ने सन्दर्भमा अथवा आफैले पनि उमेरले भ्याउन्जेलसम्म गर्नुपर्छ यो नै हामीले देशका लागि दिने यही नै त हो नि ? ताकि म मेरो विद्यार्थीलाई राम्रो बढाउन सकौं ताकि मेरा विद्यार्थीले पनि राम्रो गर्न सकुन् । उनीहरूले पनि हेर्दाखेरि सरले त गरिरहनुभएको छ । हामीले पनि गर्नुपर्छ भन्ने उनीहरूलाई पनि लाग्न सकोस् । एउटा प्रभाव पनि हुन सक्छ कि । त्यसैले मेरो जुनियर र मेरो विद्यार्थीलाई अलिकति भए पनि इन्सिप्रियसन भयो भने त एकेडेमिक रूपमा हामी कमसेकम अहिले हाम्रो मुलुकमा डिग्री पनि चोरी भएको, यो वा त्यो भएको/भइरहेको सन्दर्भमा कमसेकम हामीले क्वालिटी एजुकेसन दिनलाई त्यताबाट योगदान दिन सकिन्छ भने हाम्रो धर्म नै त्यही हो गर्नुपर्छ भन्ने सोचले मलाई ड्राइभ गरेर म निरन्तर रिसर्चमा लागिरहे । मैले रिसर्च पेपर पब्लिकेसन गर्न थालेको ३८/४० वर्ष जति भयो । 

एकाडेमिकसँगै कुनै डोनर एजेन्सी अथवा औषधी कारखानाको ब्राण्ड म्यानेजर भएर देखिएर सानसौगत प्राप्त गर्नेे बाटो नरोजेर किन यो बाटो रोज्नुभयो यहाँले ?

मलाई त के लाग्छ भने मानिसले एउटा जीवन जिउने हो सबैले, जसले जतिसुकै अरबौं, खरबौं कमाए पनि उसको २/३ जिन्दगी जिउने त होइन । जीवन त मानिसले एकचोटी जन्मेपछि एकै चोटी जिन्दगी जिउने हो । त्यसैले एउटा जिन्दगी जिउदाखेरि मानिसले अनइथिकल कुरा गरेर आफ्नो एउटा प्रिन्सिपलभन्दा अर्थात् सबैको आ–आफ्नो जीवन जीउने सिद्धान्त हुन्छ । त्यो प्रिन्सिपलभन्दा बाहिर भएर काम गर्नु हुन्न भन्ने मेरो मान्यता हो । म भोजपुरको माथि एउटा सानो सिस्नोघारी, जुकाघारीबाट जन्मेर आएको मान्छे हो । मैले त्यो ठाउँबाट आएर सबैले मुलुकको विकास गर्नको लागि योगदान गर्नुपर्छ, भनिन्छ । मैले जे सक्ने त्यही नै गर्ने हो । त्यसैले मैले यही नै सके, मेरो सिद्धान्तले एउटा क्वालिटी एजुकेसन दिनुपर्छ । विद्यार्थीको अगाडि हामी त टिचर हौं । विद्यार्थीको अगाडि उभिँदाखेरि मैले यो ठाउँमा गरेको रिसर्चमा यो चिज भेटियो । हाम्रो मुलुकमा यस्तो छ भनेर उनीहरूलाई, ए सरले पनि गरेको रहेछ भन्ने खालको एउटा इन्सिप्रियसन हामी टिचरले गर्नुपर्छ । शिक्षक चार किसिमको हुन्छ, भनिन्छ । एउटा शिक्षक रातभरि पढेर आयो र बिहान आएर बताउने मात्रै अर्को शिक्षक बताउने पनि र त्यसलाई व्याख्या गरेर पनि सम्झाउन सक्ने र त्योभन्दा अर्को शिक्षकचाहिँ बताउने, व्याख्या पनि गर्ने र उसलाई यसरी गर्ने भनेर स्किल पनि ट्रान्सफर गर्न सक्ने हुनुपर्‍यो । अर्को सबैभन्दा बेस्ट शिक्षक भनेको बताउने, व्याख्या गर्न सक्ने, प्रविधि प्रदर्शन नै गरेर देखाउन सक्ने र अर्को त्योभन्दा माथि इन्सपायर गर्न सक्ने भन्ने हुन्छ । बेस्ट शिक्षक त्यो चौथोलाई भनिन्छ । हामी सबै टिचरले त्यो चौथो क्याटोगोरीको टिचर बन्ने प्रयत्न गर्नुपर्छ भन्ने मलाइ लाग्छ । 

अहिलेसम्म जे गर्नुभयो, तपाईं त राष्ट्रिय योजना आयोगमा पनि पुग्नुभयो । राज्यले तपाईंको योगदानको कदर गरेको जस्तो लाग्छ कि लाग्दैन ?

राज्यले योगदानको कदर गरेको छैन भनौं भने लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइएको छ । जुन तपाईं हामीले भन्ने गर्छौं नि सिनेमामा कता–कता लाइफ टाइम एचिभमेन्ट सिने अवार्ड पायो त्यो भनेको ठूलो हो भन्ने गरिन्छ । त्यो खालको हिसाबले भन्ने हो भने हो मैले पाएको छु । तपाईंले सायद इन्डिकेट गर्न खोज्नुभएको होला, जुन सभा समारोहमा बाँडिने पदकको कुरा गरिरहनुभएको होला । तर, त्यो खालको पदक मैले पाएको छैन । मैले पदक पाएको छु, मैले तत्कालीन अवस्थामा राष्ट्रिय प्रमुखको हातबाटै पाएको हो । त्यसबेला महेन्द्र विद्याभूषण ‘ग’, महेन्द्र विद्याभूषण ‘ख’, महेन्द्र विद्याभूषण ‘क’ तीनैवटा मैले पाएको हो । तत्कालीन अवस्थामा राजाले दिने चलन थियो, अहिले राष्ट्रपतिले दिने चलन छ । त्यो मैले पाएको हो । 

अब यो लाइफ टाइफ अचिभमेन्ट अवार्ड पनि मुलुकको सबैभन्दा बढी रिसर्च पेपर गरेको, ६० वर्ष नाघेको मान्छेलाई दिने अथवा धेरै किताब लेखेकोलाई दिने एउटा प्रावधान बन्नेछ, त्यसमा परेछु मैले पाएँ । त्योभन्दा बाहेकका अन्य पदक पाएको छैन ।