खेल हेर्दाहेर्दै क्रिकेट फ्यानको मृत्यु

खेल हेर्दाहेर्दै क्रिकेट फ्यानको मृत्यु

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २६, २०७६

काठमाडौं, एजेन्सी । यो वल्र्डकपमा लगातार राम्रो प्रदर्शन गरिरहेको भारतीय टिम सेमिफाइनलमा भने न्युजिल्याण्डसँग १८ रनले पराजित भएको छ । हारपछि भारत वल्र्डकपबाट बाहिर भएको छ । 

मंगलवार भएको सेमिफाइनलमा पहिले ब्याटिञ गरेको न्युजिल्याण्डले २४० रनको लक्ष्य भारतसामु प्रस्तुत गरेको थियो । मंगलवारको खेलमा न्युजिल्याण्डले ४६ ओभर खेलेर २११ रन बनाएको थियो । बाँकी ४ ओभर भने पानी परेका कारण उसले भोलिपल्ट बुधवार खेल्दै थप २८ रन बनायो । 

२४० रनको लक्ष्यका साथ ब्याटिञमा ओर्लिएको भारतीय टिमको शुरुवात राम्रो हुन सकेन । जब उसका चलेका ब्याट्स म्यान रोहित, विराट र राहुल केवल एक, एक रन बनाएर आउट भए तब  टीम इंडियालाई समस्या पर्यो । यसको समस्या समाधान गर्दै खेललाई जिततर्फ मोड्दै थिए रविन्द्र जडेजा र महेन्द्र सिंह धोनीले । 

जडेजा ७७ रन बनाएर आउट भएपनि धोनी क्रिजमा रहेका कारण भारतीयको आशा जीवितै थियो । तर जब धोनी पनि रन आउट भए खेल हेरिरहेका धेरै भारतीयको आशामा तुषारापात भयो । 

यस्तैमा खेल हेर्दै गरेका कलकत्ताका क्रिकेट फ्यान श्रीकांत मैती  धोेनी आउट भएपछि भने खेल हेर्दा हेर्दै ढले । साइकल पसल चलाउने ३३ वर्षका उनलाई नजिकैको अस्पताल लगियो । अस्पतालले उनलाई मृत घोषित गर्यो ।