नयाँ उपन्यास कृति ‘मृत्युको आयु’ बजारमा

नयाँ उपन्यास कृति ‘मृत्युको आयु’ बजारमा

लोकसंवाद संवाददाता  |  समाज  |  असार २६, २०७६

काठमाडाैँ । जनस्वास्थ्यविज्ञ तथा लघुकथा विधाका हस्ताक्षर रवीन्द्र समीरको नयाँ उपन्यास कृति ‘मृत्युको आयु’ बजारमा आएको छ ।

वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका एक व्यक्तिको मृत्युपछि उनको आत्माको दृष्टिकोणबाट लेखिएको यो नवीनतम कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक कहरलाई काल्पनिक भाषामा प्रस्तुत गरेको छ । 

  फाइनप्रिन्टले प्रकाशन गरेको कृतिमा संरचनात्मक नयाँपनको खोजी गरिएको छ । लघुकथाका रुपमा पढ्न सकिने ससाना कथालाई उनेर लेखकले उपन्यास तयार गर्नुभएको हो ।   यही नयाँपनलाई लक्ष्य गर्दै आख्यानकार नयनराज पाण्डेले एउटा खास किसिमको ढाँचामा आइरहेको नेपाली आख्यान क्षेत्रमा ‘मृत्युको आयु’ फरक खालको कथावाचन शैलीमा प्रस्तुत भएको जनाउँदै विप्रेषणका भरमा टिकिरहेको नेपाली अर्थतन्त्र र त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको भयावह प्रभावको सशक्त एवम् मार्मिक चित्रणले उपन्यासलाई समकालीन समस्यासित जोड्ने आफ्नो भूमिकामा उल्लेख गर्नुभएको छ ।

 स्वैरकाल्पनिक शैलीमा लेखिएको उपन्यास चोटिलो र मर्मस्पर्शी रहेको आख्यानकार अमर न्यौपानेले बताउनुभएको छ त्यस्तै लेखक तथा व्यवसायी जीवा लामिछानेले मृतकको आत्माले कहेको यो कथा मार्मिक र अझ बढी पीडादायी भएको जनाउनुभएको  छ । 

लेखक समीरले लघुकथाहरुलाई बुनेर उपन्यास बनाउने प्रयोग गरेको बताउनुभएको छ । उहाँका अनुसार यसमा रहेका १६६ लघुकथा आफैंँमा स्वतन्त्र छन् । यिनबाट बनेको उपन्यास पनि आफैंमा स्वतन्त्र रहेको उहाँको भनाइ छ । यसअघि चिकित्सक  नाम डा रवीन्द्र पाण्डे हुनुभएका समीरका आठ लघुकथा सङ्ग्रह, एक एक मुक्तक सङ्ग्रह, नियात्रा सङ्ग्रह र संस्मरण प्रकाशित छन् । पछिल्लो कृति उहाँको बाह्रौंँ साहित्यिक कृति हो ।

उहाँले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कारलयायत थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त पनि प्राप्त गर्नुभएको छ ।