आयुष केसीलाई वासुदेव ‘मुनाल’ बालप्रतिभा पुरस्कार

आयुष केसीलाई वासुदेव ‘मुनाल’ बालप्रतिभा पुरस्कार

लोकसंवाद संवाददाता  |  समाज  |  असार २७, २०७६

काठमाडाै‌ ।  वासुदेव कोइराला ‘मुनाल’ बालप्रतिभा पुस्कारबाट बाल गायक आयुष केसी सम्मानित भएका छन् ।

सानै उमेरमा गीतसङ्गीतका क्षेत्रमा योग्दान पुर्‍याएका केसी रु २१ हजारसहित सम्मानित भएका हुन् ।

गायक तथा सङ्गीतकार मुनालको ७०औँ जन्मजयन्तीका अवसरमा यहाँ आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गायक केसीलाई सम्मान गर्दै मुनाल गायक मात्र नभएर नेपाली समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिने तथा बालबालिकालाई सही बाटामा हिँड्न सिकाउने व्यक्ति भएको बताउनुभयो ।

पूर्वप्रधानन्याधीश सुशीला कार्कीले मुनालको देन र उपलब्धिलाई लिएर परिवारले मात्र नभई समाज र राष्ट्रले पनि सम्मान गर्नुपर्ने बताउँदै उनका कृतिहरुलाई एकेडेमीमा सङ्कलन गरेर राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रा. डा. कृष्णहरि बरालले यस्ता महत्वपूर्ण व्यक्तित्वको नामबाट स्थापित संस्थाले भोलिका दिनमा बालबालिकाका लागि मात्र नभई समाज तथा राष्ट्रकै लागि योगदान पुर्‍याउने धारणा राख्नुभयो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा उपेन्द्र कोइरालाले नेपाली समाजमा मुनालजस्ता ओझेलमा परेका धेरै प्रतिभालाई राष्ट्रले खोजी सम्मान गर्नुपर्ने बताउनुभयो ।

नाटककार अशेष मल्लले बालबालिकाका लागि नै भनेर जीवन समर्पण गर्ने पहिलो नेपाली मुनाल नै भएको दाबी गर्नुभयो ।