घरघरमा तुलसी रोपिँदै

घरघरमा तुलसी रोपिँदै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार २७, २०७६

काठमाडाैँ । आज  २०७६ असार २७ गते शुक्रबार हरिशयनी एकादशी (ठुली एकादशी) मनाइँदै छ । आजका दिन घरघरमा तुलसी रोप्ने गरिन्छ ।

एक महिनाअघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी) मा छरिएको तुलसीको बीउ तयार  हुने र आजैका दिन रोप्नुपर्ने मान्यता छ । यो एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ । वैष्णव धर्मअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुने मान्यता छ ।

पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णुक्षीरसागरमा सुत्छन् । यो अवधि चार महिनाको हुने भएकोले चतुर्मास भनिएको हो । धार्मिक एवं ज्योतिषीय मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता मांगलिक कार्य गर्नु नहुने  विश्वास छ ।

यो अवधिभर तुलसीको पूजा गर्ने भागवत आदि विष्णु माहत्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा छ। यद्यपि सूर्य दक्षिणायान रहँदा सामान्यतया मांगलिक कार्य गरिँदैनन्। यसरी आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णुको रूपमा पूजा गर्ने परम्परा  रहि आएकाे छ ।

चतुर्मासभरी  पूजाआजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति भएकाे प्रमाणित भइसकेको छ भने यसबाट विविध प्रकारका औषधिका रुपमा उपयाेग हुँदै आएकाे छ ।  चतुर्मासको समाप्ति कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा हुनेगर्छ ।