अक्सिजन लोप हुँदा

अक्सिजन लोप हुँदा

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  माघ ९, २०७५

 

अक्सिजन लुप्त हुनासाथ, पृथ्वीका समस्त नदी–नाला, ताल–तलैया, सागर–महासागर हाइड्रोजनमा परिणत भएर विलुप्त हुन पुग्छन् । हाइड्रोजन अत्यन्त हल्का भएका कारण सोझै आकाशमा पुग्छ । र, ती सबै स्थल ‘फुटबल ग्राउन्ड’ बन्न पुग्छन् ।

केही पहिलाको कुरा हो, सिद्धयोगी नामधारी एउटा व्यक्तिको बडो चर्चा भयो काठमाडौंमा । चर्चाको कारण थियो– उहाँ तालैतालको सहर, माछापुच्छ्रे हिमालको श्रृंगार भूमि पोखरामा जमिनमुनि खाल्डोमा बसी समाधिस्थ हुनुभएको थियो । 
पत्रपत्रिकाका अनुसार उहाँ अक्सिजनरहित खाल्डोमा पुरिएर तीन दिन बस्नुभयो । त्यसबारे पक्ष–विपक्षमा बहस भए । खुबै वादविवाद चल्यो पक्ष–विपक्षमा । उहाँले योभन्दा पहिला पनि पूर्वी नेपालमा कतै यो ‘प्रहसन’ मञ्चन गरिसक्नुभएको थियो । त्यो प्रहसनमा सहभागी सहयोगीमध्ये एक जनाले पोखरा प्रकरणपछि भूमिगत समाधिका केही रहस्य उद्घाटित गरेका समाचार पनि प्रकाशमा आए । 
अक्सिजनरहित यो जमिनभित्रको ‘डार्क मुन’ (हनिमूनको उल्टो) उत्सवपछि उहाँसँग प्रवुद्ध जमातले धेरै प्रश्न सोधे । एक व्यक्तिले सोझै ‘च्यालेन्ज’ गर्दै आफूबाट निर्मित ‘बाकस’मा १० मिनेट मात्रै बिताउने प्रस्ताव पनि गर्नुभयो । तर, सिद्ध पुरुषबाट यो ‘च्यालेन्ज’ ‘इग्नोर’ गरियो । अन्य प्रवुद्ध वर्गबाट सिद्धज्यूसामु अनेकौं प्रश्न तेर्सिए । यससँगै उहाँलाई शंका, सन्देह, ताना, उलाहना, निन्दा र आक्षेप लगाइए । 
तर, एउटा कुशल राजनीतिकर्मी जस्तै सिद्धपुरुष ‘नो कमेन्ट’ को खतरामुक्त रक्षाकवचले सुसज्जित भई ‘गुरु ब्रह्मा, गुरुर विष्णु, गुरुरदेवो महेश्वरामा’ विश्वास गर्ने आफ्नो सेनामेनाको व्यूहभित्र आमोद मग्न भई बसिरहनुभयो । 
नेपालका अर्का एउटा ‘पपुलर’ गुरु विकासानन्दज्यूको अभिव्यक्ति आयो– अक्सिजन अभावमा मानिस बाँच्न सक्दैन । पूर्णतया इमानदार ‘स्टेटमेन्ट’ थियो उहाँको सबैले स्वीकार गरे । तर, यस्तो खाले ढोंग त विगतमा उहाँले पनि गर्नुभएको थियो । 
भूमिगत समाधिको व्यापार त उहाँबाट पनि विगतमा राम्ररी नै भएको हो ! उहाँ त्यो कलाका ज्ञाता हुनुहुन्छ भने किन खोल्नुहुन्न त्यसको रहस्य ? यो कुनै ‘ट्रिक’ हो वा खाल्डोमा केही दिन बाँच्न सक्ने ‘अक्सिजन’ हुन्छ वा शरीरले कुनै भाँतीले माटोबाट ‘अक्सिजन’ ग्रहण गर्न सक्छ ? विकासानन्दले यसवारे स्पष्ट पारिदिए उत्तम हुन्थ्यो ।
२००४ को जुलाइमा नैनीतालको तल्ला गेटीयास्थित पाइलट बाबा आश्रममा हामी केही ‘नवजोगी’ उहाँसँग भूमिगत समाधिबारे चर्चा गरेका थियौं । उहाँले भन्नुभएको थियो– तपाईंहरू सन्यास मार्गमा, मुक्तिको खोजीमा हुनुहुन्छ भने यस्ता कुराका पछाडि नलाग्नुस् । मैले त यो प्रर्दशन तपाईंहरूलाई आफूसम्म ल्याउन गरेको हुँ । यसको कुनै ठूलो आध्यात्मिक महत्व छैन । म एकपटकमा सैयौं जनालाई यस्तो समाधिमा पुर्याउन सक्छु । तर, त्यस्तो समाधिको तपाईंहरूका लागि के महत्व ? आफूलाई खोज्नुस्, आफूभित्रको शक्ति चिन्नुस् । त्यसपछि उहाँसँग मैले यो विषयमा कहिल्यै केही जिज्ञासा राखिनँ । 
पोखरा प्रकरणपछि मैले यो विषयमा अध्ययन गरें, समाधिबारे होइन अक्सिजनबारे । यो अध्ययन बडो रमाइलो थियो, अनि ‘सेयर’ गर्न मन लाग्यो तपाईँहरूसँग । 
एउटा स्वस्थ मानव भोजनको अभावमा तीन महिना र पानीबिना तीन दिनसम्म बाँच्न सक्छ । तर, अक्सिजन एउटा यस्तो कुरा हो जसको अभावमा केही मिनेट भित्र नै शरीरान्त हुन्छ । व्यक्तिगत अभ्यासले यो समयसीमा केही मात्रामा बढ्न सक्छ । पृथ्वीमा भोजन र पानी जस्तै विपुल मात्रामा अक्सिजन उपलब्ध छ । हामीलाई बाँच्न पलपल अक्सिजन चाहिन्छ । पृथ्वीमा सबै ठाउँमा हामीलाई चाहिने मात्राको अक्सिजन उपलब्ध छैन । उदाहरणका लागि हामी जति पहाड चढ्दै जान्छौं, ‘अक्सिजनको’ मात्रा कम हुँदै जान्छ । तपाईं विश्वास गर्नुस् वा नगर्नुस् । तर, यो सत्य हो । सगरमाथाको चुचुरोमा हामीलाई चाहिने जति अक्सिजन छैन, त्यसको एक तिहाई मात्र छ । पर्वतारोहीले प्रशिक्षण लिएर त्यहाँ जाने गर्छन् । र, हिँंड्दै जाँदा शरीर अभ्यस्त हुँदै जान्छ । तपाईंलाई अहिले नै हेलिकोप्टरबाट सगरमाथामा ओराल्ने हो भने मैले तपाईंका बारेमा गरेको भविष्यवाणी ‘एक्युरेट’ हुन्छ । तपाईं सगरमाथामा ओर्लेको तीन मिनेटमा मर्नुहुन्छ । यो प्रयोग सिद्धबाबासँग गरी हेर्ने हो कि ? उहाँ त अक्सिजनबिना नै तीन दिन बाँच्नुभएको दाबी गर्नुहुन्छ । सगरमाथामा त अक्सिजन छ, कम्ती मात्र छ, काठमाडौको तुलनामा एक तिहाई मात्र छ । 
अब एउटा परिकल्पना गरी हेरौं, यदि पृथ्वीबाट पाँच सेकेण्डका लागि अक्सिजन लोप हुने हो भने के हुन्छ ? 
पहिलो सेकेन्ड ‘स्टार्ट नाउ’– आकाशमा पहिलेको तुलनामा झण्डै बीस प्रतिशत अँध्यारो छाउँछ । 

 ‘ओजोन लेयर’ नष्ट भएको कारणले सूर्यबाट आउने घातक ‘अल्ट्रा वायलेट रे’ का कारण तपाईंको छाला डढ्न थाल्छ र वातावरणमा हावाको दवाव २० प्रतिशतले कम हुन गएको कारण तपाईंको कानको जाली फुट्छ । तपाईंका वरिपरि रहेका धातु एक आपसमा जोल्ठिन पुग्छन् अर्थात् ‘नेचुरल्ली वेल्ड’ हुन्छन् । ‘अक्सिजन’को उपस्थितिले गर्दा ‘अक्सिडेसन’ प्रक्रियाका कारण यी धातु एक आपसमा ‘मर्ज’ हुन्नन् । 
तपाईं घरभित्र आफ्नो कोठामा हुनुहुन्छ, तपाईंलाई दगुरेर बाहिर आउने अन्तिम चेष्टा गर्ने प्रयास गरिरहनु पर्दैन । कंक्रिटले बनेका सारा भवन ध्वस्त हुन्छन्, कंक्रिटमा अक्सिजनको ‘वाइन्डर’ हुने गर्छन् । 
अक्सिजन लुप्त हुनासाथ, पृथ्वीका समस्त नदी–नाला, ताल–तलैया, सागर–महासागर हाइड्रोजनमा परिणत भएर विलुप्त हुन पुग्छन् । हाइड्रोजन अत्यन्त हल्का भएका कारण सोझै आकाशमा पुग्छ । र, ती सबै स्थल ‘फुटबल ग्राउण्ड’ बन्न पुग्छन् । 
पृथ्वीको भित्री संरचना ‘क्रस्ट’को ४५ प्रतिशत भाग अक्सिजनले बनेको हो । अक्सिजन गायब हुनासाथ समस्त पृथ्वी तीव्र गतिले भास्सिन थाल्छ । 

 यसले गर्दा पृथ्वी माथिको कुनै पनि संरचना कुनै टेकोले अडिन सक्दैन । र, समस्त पृथ्वीवासीले आफूलाई पाताललोकको यात्रा गरिरहेको अनुभूति गर्न पाउँछन् । तर, चिन्ता नलिनुस् तपाईंले पाताल पुगेर ठोक्किएर, कोच्चिएर अथवा भास्सिएर मर्ने दुःखद् संयोग हुन्न । किनकि तपाईंको शरीर दुई तिहाई पानीले बनेको हो । अक्सिजन लोप हुनासाथ तपाईंको प्रत्येक कोशिकामा विस्फोट हुन्छ र पृथ्वी भास्सिनु पूर्व नै तपाईंको इहलिला समाप्त हुन्छ । 
दोस्रो सेकेन्डमा के हुन्छ त ? 
तपाईं पनि गज्जबको हुनुहुन्छ, पहिलो सेकेण्डमै पृथ्वी भासिसक्छ, हामी सबैको परलोक गमन भइसक्छ भने दोस्रो सेकेन्डको कुरै आउँदैन ।