इग्ल्याण्ड र न्युजिल्याण्ड फाइनल पुग्दा पाकिस्तानमा खुसीयाली !

इग्ल्याण्ड र न्युजिल्याण्ड फाइनल पुग्दा पाकिस्तानमा खुसीयाली !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २७, २०७६

काठमाडौं । जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम दुई टिमको टुंगो लागिसकेको छ । ती हुन्- न्युजिल्याण्ड र इग्ल्याण्ड । न्युजिल्याण्डले भारतलाई हराउँदै फाइनल पुगेको हो भने इग्ल्याण्डले अस्ट्रेलियालाई पराजित गरी अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो । 

तर, कोशौं टाढा रहेका यी दुई टिम फाइनल पुग्दा पाकिस्तानमा खुसीयाली मनाइँदैछ । सामाजिक सञ्जाल ट्विटरका प्रयोगकर्ताले ट्विटमार्फत् खुसी व्यक्त गरिरहेका छन् । 

पाकिस्तानी यस कुरामा खुसी छन् कि जारी विश्वकपमा पाकिस्तानले फाइनल पुगेका दुवै टिमलाई पराजित गरेको थियो । जबकी भारत यी दुवै टिमसँग हारेको थियो । भारत राउण्ड रोबिन चरणमा इग्ल्याण्डसँग र सेमिफाइनलमा न्युजिल्याण्डसँग पराजित भएको थियो । 

यसबारे पाकिस्तानका ट्विटर प्रयोगकर्ताले ट्विट गरेका छन् । मोहम्मद अकिब नामक ट्विटरले ह्याण्डलले लेखेको छ, ‘पाकिस्तानले फाइनल खेल्ने दुवै टिमलाई हराएको थियो भने भारत यी दुवै टिमसँग हारेको थियो । फेरि पनि भारत भन्छ कि ऊ हामीभन्दा राम्रो छ ।’ 

यस्तै आशयको ट्विट हम्माद अजिज नामक ट्विटर ह्याण्डलले पनि गरेको छ । उक्त ट्विटमा भनिएको छ, ‘फाइनल पुगेका टिमलाई पाकिस्तानले हराएको छ । यसकारण तर्कका आधारमा पाकिस्तान च्याम्पियन भयो । साथै त्यो कुन टिम थियो जसले पाकिस्तानलाई बाहिर गर्ने षड्यन्त्र गर्यो र आखिरमा आफै बाहिर भयो ।’ 

डेबिन क्विन नामको ट्विटर ह्याण्डलले ट्विटर गरेको छ, ‘अब सबै पाकिस्तानी भनिरहेका छन्, ‘भारत न्युजिल्याण्डसँग हारेको थियो तथा  न्युजिल्याण्डलाई पाकिस्तानले हराएको थियो । एक हिसावले पाकिस्तानले जित्यो भन्न सकिन्छ । तर, हामीलाई यो याद नदिलाउनुस् कि पाकिस्तानलाई भारतले हराएको थियो ।’