रोकिएन वर्षाको कहर, मुलुकभर ११ को मृत्यु

रोकिएन वर्षाको कहर, मुलुकभर ११ को मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७६

काठमाडौं । मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित काभ्रेपलाञ्चोक, ललितपुर, रामेछाप, भोजपुर, मकवानपुर र पर्सामा ११ जनाले ज्यान गुमाएका छन् । 

कहाँ कतिले गुमाए ज्यान ? 

काठमाडौं 

मूलपानीमा घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बारा घर भई कागेश्वर मनहरा नगरपालिकास्थित मूलपानीमा बस्दै आएका नतु यादव, सर्मिला यादव र कुन्दन यादव रहेको प्रहरीले जनाएको छ । 

काभ्रेपलाञ्चोक 

प्रहरीका अनुसार बनेपा–३, नालामा पहिरोले घर पुरिँदा एकै घरका दुई जनाले ज्यान गुमाएका छन् । यस्तै, दुई घाइते भएका छन् । 
ज्यान गुमाउनेमा ५५ वर्षीय गोमा दंगाल र उनकी नातिनी ७ वर्षीय सोहनी छन् । 

रामेछाप 

पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ भने एक घाइते छन् । पहिरोमा पुरिएर ४५ वर्षीय पदमकुमार सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । 

भोजपुर 

अविरल वर्षाका कारण दुई जनाको ज्यान गएको छ । एकको पर्खालले च्यापिएर र अर्काका चर्पी पुरिएर ज्यान गएको हो । घरभित्र पानी पस्दा पर्खालले च्यापिएर ६६ वर्षीय जगतबहादुर राई ज्यान गएको छ । 
यस्तै, शौच गर्न गएका बेला चर्पी पुरिएर टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय जनक बिकको ज्यान गएको छ । 

ललितपुर 

अविरल वर्षाका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । तर, मृतकको सनाखत हुन सकेको छैन । 

मकवानपुर 

अविरल वर्षाका कारण थाहा नगरपालिका–३, स्थित महाभीर खोलामा आएको बाढीले एकको ज्यान गएको छ । खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
खोलाले बगाएपछि स्थानीयले उद्दार गरी अस्पताल पुर्याए पनि बालिकाको उपचारका क्रममा ज्यान गएको थियो । 

पर्सा 

बाढीले बगाएर बालकको ज्यान गएको छ । पर्सागढी नगरपालिका–१, का १० वर्षीय निखिल पटेलको सिंग्याही खोलाको बाढीले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पटेल बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्न खोलामा पसेका थिए । 

वर्षाले मानवीय क्षति मात्रै होइन, भौतिक क्षति पनि पुर्याएको छ । वर्षाका कारण मुलुकभरका विभिन्न ठाउँमा निर्माण संरचनामा क्षति पुगेको छ । तर, यसको विस्तृत विवरण आइसकेको छैन ।