लोकगीतमा ‘तेरो र मेरो’देखि आर्थिक दोहनसम्म

लोकगीतमा ‘तेरो र मेरो’देखि आर्थिक दोहनसम्म

यमबहादुर दुरा  |  लोकरञ्जन  |  असार २७, २०७६

लोकगीत के हो ? यो प्रश्नको सीधा र सरल जवाफ हो, लोकगीत जनताको गीत हो । लोकगीतको सर्जक पनि जनता नै हुन्, प्रयोक्ता पनि जनता नै हुन् । लोकगीत सार्वजनिक सम्पत्ति भएकाले भएकाले त्यसलाई चाहेको बेलामा जसले पनि प्रयोग गर्न सक्छ । लोकगीतमा तेरो र मेरो भन्ने कुरा नै हुँदैन ।

तर, समयको प्रवाहसँगै लोकगीतको परम्परागत परिभाषामा परिवर्तन आएको छ । यसको स्वाभाव र चरित्र पनि बदलिँदै गएको छ । लोकगीतमा जनताको स्वामित्व गुम्दै गएको छ । हिजो सार्वजनिक स्वामित्व (‘पब्लिक डोमेन’) मा रहेको मानिने लोकगीत निजी स्वामित्व (‘प्राइभेट डोमेन’) मा पुग्न थालेको छ । 

विगतमा लोकगीत ग्रामीणजनको स्वच्छ मनोरञ्जनको माध्यम थियो । यसमा व्यापार वा अर्थोपार्जनको कुनै गुञ्जायस नै थिएन । रेकर्डिङ प्रविधि र सङ्गीत उद्योगको विकाससँगै लोकगीत व्यापारिक वस्तु बन्न थाल्यो । जहिलेदेखि लोकगीत व्यापारिक वस्तु बन्न थाल्यो, त्यहीबेलादेखि नै एउटा वृत्तमा लोकगीत झगडाको बीउ बन्न थाल्यो । 

विकसित मुलुकको तुलनामा नेपालमा धेरै पछिमात्र लोकगीत व्यापारिक वस्तु बन्न थालेको हो । २००७ सालमा राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालको स्थापना भएपछि लोकगीत प्रसारण हुने वातावरण बन्यो । त्यसपछि लोकगीत सङ्कलन, गायन र प्रसारण गर्ने परिपाटी तयार भयो ।

लोकगीतको मौलिकता र प्रतिलिपि अधिकारबारे अनेकन् जटिलता छन् । मूल कुरा के हो भने लोकगीत युगौंदेखि पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा भएकाले यसको मौलिकता र रचनाकारको परिचय छुट्याउन सहजै सम्भव हुँदैन ।

गीतले वायुतरङ्गतमार्फत यात्रा गर्न थालेपछि स्थानीयस्तरमा प्रचलित लोकभाकाहरू फराकिलो दायरामा विस्तार हुन थाल्यो । यससँगै कलाकारहरूबीच नजानिँदो

किसिमले प्रतिस्पर्धा पनि बढ्न थाल्यो । गीत सङ्कलक र गायकको रूपमा कलाकारको नाम प्रसारण हुन थाल्यो । त्यसपछि लोकगीतमा ‘तेरो र मेरो’ प्रश्न उठ्न थाल्यो । 

२०२४ सालमा रत्न रेकर्डिङ संस्थान स्थापना भएपछि नेपालमा रेकर्डिङ उद्योग बामे सर्न थाल्यो । २०४० को दशकमा निजी क्षेत्रमा रेकर्डिङ स्टुडियो स्थापना हुन थालेपछि एकपछि अर्को गरी लोकगीतका चक्काहरू निस्कन थाले । तिनको सुक्रीबिक्री पनि उत्साहजनक रूपमा हुन थाल्यो । यस्ता गतिविधिले लोकगीत व्यापारिक वस्तुमा परिणत हुँदै गयो ।  

बजारमा आएका चक्कामध्ये कतिपयका भाका र शब्द एकअर्कामा मिलेको भनि सिकायत गर्नेे क्रम शुरु हुन थाल्यो । कतिपय अवस्थामा कलाकार–कलाकार र उत्पादक–उत्पादकबीच मनोमालिन्य बढ्न थाल्यो । लोकगीतमा ‘तेरो र मेरो’ प्रश्न झन झन पेचिलो बन्दै गयो । अहिले बेलाबखतमा यस्ता विषयमा तातो बहस  नै चल्ने गर्छ ।

भर्खरैमात्र लोकगीतको मौलिकता र स्वामित्वबारे ठूलै बहस चल्यो । सामाजिक सञ्जालमा डरलाग्दो भनाबैरी चल्यो । यतिबेला उठेका लोकगीतको स्वामित्वसम्बन्धी प्रश्न कुनै नयाँ विषय होइन, पुरानै प्रसंगको नयाँ संस्करणमात्र हो ।  

अन्तर्राष्ट्रियस्तरमा पनि सङ्गीत चोरीका गम्भीर मामिलाहरू समयसमयमा सतहमा आउँछन् । केसा भर्सेस् डक्टर लुक (सन् २०१४), कोल्डप्ले भर्सेस् जो साट्रियानी (सन् २००८), मेटालिका भर्सेस न्याप्स्टर (सन् २०००),  भनिला आइस भर्सेस् डेभिड बोइ (सन् १९९०), सेली भर्सेस् गिब (सन् १९८४) जस्ता मुद्दामा दोषी ठहरिएका पक्षले लाखौं अमेरिकी डलर क्षतिपूर्ति समेत तिर्नुपरेको दृष्टान्त छ । नेपालमा यस्ता मामिलामा धेरै दन्तबझान भए पनि क्षतिपूर्ति वापत ठूलो रकम तिर्नुपरेको अवस्था छैन ।

 

 

प्रतिलिपि अधिकारसम्बन्धी कानुनले सम्बन्धित सर्जकको सिर्जनामा कति समयसम्म प्रतिलिपि अधिकार कायम रहने भन्नेबारे विभिन्न प्रावधानहरू राखेको पाइन्छ । अमेरिकी कानुनले  भन्छ –सर्जकको मृत्युभएको ७० वर्षपछि प्रतिलिपि अधिकार अन्त्य हुन्छ र त्यो रचना ‘पब्लिक डोमेन’ मा रहन्छ ।

नेपालमा पनि सङ्गीतको प्रतिलिपि अधिकारसम्बन्धमा  केही प्रावधानहरू छन् । ती प्रावधान कति पर्याप्त र मजबुद छन् भन्ने कुरा बेग्लै विश्लेषणको विषय हो ।  २०७४ सालमा संशोधित ‘प्रतिलिपि अधिकार ऐन, २०४९’ ले नाटक, नाट्य—संगीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना एवम् शब्द सहित वा शब्द रहित सांगीतिक रचनालाई प्रतिलिपि अधिकारको दायरामा ल्याएको छ ।

राष्ट्रिय वौद्धिक सम्पत्ति नीति, २०७३ ले लोकगीतबारे स्पष्ट शब्दमा नभने पनि कला, साहित्य, संस्कृति, परम्परागत ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति, आदिको रचनात्मकतालाई प्रोत्साहन गर्ने कुरा गरेको छ । 

लोकगीतको मौलिकता र प्रतिलिपि अधिकारबारे अनेकन् जटिलता छन् । मूल कुरा के हो भने लोकगीत युगौंदेखि पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा भएकाले यसको मौलिकता र रचनाकारको परिचय छुट्याउन सहजै सम्भव हुँदैन ।

त्यसमा पनि डिजिटल प्रविधिको आगमनले मौलिक रचनालाई सजिलै परिमार्जन गर्ने र आफ्नोजस्तो देखाएर प्रस्तुत गर्ने कार्यलाई सहज तुल्याइदिएको छ । 

जति जति समय बित्दैछ, उति उति सार्वजनिक दायरामा रहेको लोकगीत व्यक्तिको खल्तीमा पुग्दैछ । अर्को शब्दमा भन्दा पूँजीवादले लोकगीतमा रहेको आर्थिक सम्भावनालाई पूरापुर दोहन गरिरहेको छ । 

नेपालमा अहिले उठेका विवादले लोकगीतका सर्जकहरू थप रचनात्मक र विवेकशील हुनुपर्ने तथ्य औंल्याएकोमात्र छैन, उनीहरूको नैतिक धरातल र कानुनी ज्ञान थप मजबुद र समृद्ध हुनुपर्छ भन्नेतर्फ सूक्ष्म किसिमको सन्देश दिएको छ ।

सँगसँगै दूरगामी महत्वको एउटा गम्भीर प्रश्न उठेको छ, लोकगीत कसको हो ? यसको उत्तर खोज्ने जिम्म तपाईँ–हाम्रै हो ।