नेपाली क्रिकेट टोलीले मलेसियासँग सामना गर्ने

नेपाली क्रिकेट टोलीले मलेसियासँग सामना गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २८, २०७६

काठमाडाैँ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले २०७६ असर २८ गते शनिबार मलेसियासँग खेल्ने भएको छ ।

मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टोलीसँग दुई टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने शनिबारको खेल नेपाली समयअनुसार बिहान ७ः४५ बजे शुरु हुनेछ । अर्को खेल नेपालले आइतबार खेल्नेछ । टी– ट्वान्टी सिरिज सकिएपछि नेपाली टोली त्यतैबाट सिङ्गापुर प्रस्थान गर्नेछ ।

हालसम्म टी–ट्वान्टी खेलमा नेपाल र मलेसिया चार पटक भिडेका छन् । नेपाल तीन तथा मलेसिया एक खेलमा विजयी भएको छ । सिङ्गापुरमा आगामी साउन ६ देखि १२ गतेसम्म आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् ।

नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जीतेन्द्र मुखिया छन् ।