प्रतिघण्टा ५०० कार्ड छपाई गर्ने  ‘मास प्रिन्टर’ ल्याइदै‌ं

प्रतिघण्टा ५०० कार्ड छपाई गर्ने  ‘मास प्रिन्टर’ ल्याइदै‌ं

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २८, २०७६

काठमाडाै । साढे नौ लाखभन्दा बढी ‘स्मार्ट चालक अनुमतिपत्र’ छाप्न बाँकी हुँदा सरकारले छिट्टै मास प्रिन्टर आउने जनाएको छ ।

सरकारले ‘ग्लोबल टेण्डर’मार्फत खरीद गर्न लागेको पिन्टर पाँच दिनभित्र आउने यातायात व्यवस्था विभागले जनाएको छ ।

मास पिन्टर आएको झण्डै एक महिनापछि त्यसले नियमित काम शुरु गर्ने विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभयो ।

दाहालका अनुसार उपकरण जडान, परीक्षणलगायतका काम सकिएपछि नियमितरुपमा सञ्चालनमा आउनेछ ।

‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाई गर्ने रहेको छ । यो सञ्चालनमा आएको केही समयमा नै अहिले भइरहेको ढिलाइ कम हुने आशा गरिएको छ ।

प्रिन्टरसँगै विभागले १० लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको छ ।

दाहालले भन्नुभयो,  'कार्ड र प्रिन्टर दुवै आएपछि अहिले रहेको समस्या हट्नेछ ।' विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेका विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् ।

सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उतीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।