सञ्चारकर्मी गीता अधिकारीको तीज गीतको छायाङ्कन

सञ्चारकर्मी गीता अधिकारीको तीज गीतको छायाङ्कन

लोकसंवाद संवाददाता  |  समाज  |  असार २८, २०७६

काठमाडौँ । गत वर्षको तीजमा सन्देश मूलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालिको तीज गीतमा तीजमा छम छम नाच्न भन्दै आउने भएकी छन् ।

गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘आऊ नाचौँ सङ्गी हो...’ को भिडियो छायाङ्कन गरिएको छ । योगेश काजीको सङ्गीत रहेको गीतको भिडियोलाई शुक्रवार राजधानीमा छायाङ्कन गरिएको हो ।

नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छायाङ्कन गरेका छन् । गीतको भिडियोमा नायिका पुजना प्रधानले कम्मर मर्काएकी छन् भने गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन् ।

‘हामीले गत वर्ष सन्देश मूलक तीज गीत स्रोतारदर्शकमाझ पस्केका थियौ, यसपालिको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौँ भन्ने खालको तीज गीत लिएर आउँदै छु, यसको भिडियो छिट्टै दर्शकमाझ आउँदै छ’, गीताले भनिन् ।

'एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोसिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, हेरौँ कस्तो हुन्छ, गीतको भिडियो आएपछि थाह पाइहाल्नुहुन्छ नि’ नायिका पुजनाले भनिन् ।

‘गत वर्ष भन्दा अलिक फरक खालको गीत लिएर आउँदै छौ’ भन्दै गायिका सारिका घिमिरेले ‘यो तीज गीत छौँ छौँ नाच्ने खालको बनाउन लागेको बताइन ।

'तीजका गीत प्रायः सबै उस्तै उस्तै नै हुन्छन् हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौ', निर्देशक नारायण रिजालले भने ।

मेकअप सञ्जु ढकालको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोस्ट प्रोडक्सन गर्दै छ ।