अनलाइन सपिङः  बन्न सक्छ हुलाकको शान र मान फर्काउने माध्यम

अनलाइन सपिङः  बन्न सक्छ हुलाकको शान र मान फर्काउने माध्यम

असिम भूसाल  |  दृष्टिकोण  |  असार २९, २०७६

बि.स.१९३५ मा स्थापना भएको नेपालको हुलाक सेवा कुनै बेला देशको महत्वपुर्ण खवर आदन प्रदानको साधन थियो । खवर वा समाचारको माध्यम, चिठी पत्र ओसार पसार गर्ने माध्यम । मलाई आज पनि झल्को आउछ, म सानो हुँदा हुलाकी दाइलेले हाम्रो संगोलको घरमा चिठी ल्याएको । कति खातिरदारी थियो हुलाकीको ।  चिठी छिटै र सोझै ल्याईदिन्छन भनेर हाम्रो घरमा र अरुको घरमा पनि उनलाई चिया पानी खाजा समेत सोध्ने चलन थियो  । एउटा ठाउको हुलाकीले त्यो क्षेत्रका करिव  सबै मान्छेलाइ या घरमुलीलाई चिनेको हुन्थ्यो । तर आज हुलाक कार्यालयको त्यो भूमिका समयसंगै बदलिएको छ भने सरकारका लागि पहुँच नभएका कर्मचारी थन्काउने ‘डम्पिङ साइट’ भएको छ । जसको काम फगत सरकारी चिठी पत्र वितरण गर्नेमा करिबकरिब सिमित भएको अवस्था छ ।  एक सरकारी कार्यालयदेखि अर्कोसम्म ।

म आफुलाई पनि हुलाक गएर चिट्ठी पठाएको याद छ, सानो छदाँ । मुना, कान्तिपूर लगायत वालबालिकाका रचना छापिने पत्रिकाहरुमा  आफुले लेखेको कथा, कविता या प्रतियोगीतामा चिट्ठी पठाउने काममा हुलाकलाई नै माध्यम बनाएको स्मरण ताजै छ । म सानो हुदा खेरि अहिलेकोे facebook, twitters को काम हुलाककै जिम्मा थियो । तर आज समय बदलिएको अहिलेको पुस्तालाई हुलाक जनाकारी छैन । छ त  इन्टरनेटमा कुरा मात्र जान्दछ । 

अहिले म अध्ययनको क्रमामा चीनमा छु । हरेक दिन जसो बुवाआमासंग एक अर्काको अनुहार हेरीहरी कुरा गर्न दिनहुँ जस्तो सम्भव भएको छ । मेरा हजुरबा–आमाले जस्तो सामान्य सञ्चारकालागि चिट्ठी कुर्नु पर्दैन । तर अझै फरक यहाँ चीनमा अनुभव गरेको अनौठो कुरो के भने यहाँ किनमेल, खरिदबिक्रि सबै इन्टरनेटबाट हुन थालेको प्रत्यक्ष अनुभव प्राप्त गर्ने अबसर प्राप्त भइरहेको छ । पसल नहुने पनि होइन, तर आफ्नो कोठामा बसेर आफुलाई चाहिएको सामान खरिद गरि आफ्नै घर अगाडी आउने सुबिधा चिनियाहरुले उपभोग गरिरहेछन् । म पनि चीनमा भएको कारणले यो सुविधा उपयोग गरिरहेको छु । चीन भित्र जति सुकै टाढा भए पनि सामान्यतया ३ दिनमा समान हातपरिरहेको छ । सहि ठेगाना उल्लेख गरे सामान ढुक्कसँग आउछ । अझै छिटो चाहिए झन् छिटो आउंछ तर अलिकति पैसा धेरै तिर्नुपर्ने हुन्छ । त्यसलाई सम्भव बनाएको छ, कुरियर सेवाले ।  चीन निकै ठुलो छ, जनसंख्या त झन् संसारकै सब भन्दा बढी छन यहाँ । किन्न सक्नु पर्छ, सबथोक पाईन्छ ।  तर आफ्नै सहरमा नपाईन सक्छ । त्यसले केहि फरक पदैन । 

कर्मचारी छन, तर सेवा छैन । आमरुपमा सर्वसाधारणले कोहि मान्छेलाई केहि कागजात पठाउनु पर्यो भने पनि निजि कुरियर सेवाबाट पठाइन्छ । सरकारी हुलाक कार्यालयबाट नागरिकहरुले विश्वास आर्जन गर्न सकिरहेका छैनन् । हुलाक सेवा आफै कति जिम्मेवार र इमान्दार छ त्यो त भन्न सक्दिन ।

खानामा पनि आफ्नो पन वा संस्कृति हुनेरहेछ । बाहिर हुँदा पनि घरको जस्तै खाना खान रहर लाग्ने । मलाई अचार र तरकारी बनाउन मेथी चाहिएको थियो । म बसेको हुनान प्रान्तको छाङ्सा सहरका केहि मसला पसलमा सोधेको मेथी पाइएन । हामीले प्रयोग गर्ने र चिनियाले प्रयोग गर्ने मसलाहरु कतिपय फरक हुन्छन । त्यसैले मेथी सर्वसुलभ नहुने रहेछ । ताओबाओ भन्ने मोबाइल एप्लिकेशनमा खोजेको पाईदो रहेछ । तर त्यो समान धेरै टाढाबाट मगाउनु पर्ने  । खरिद आदेश गरेको  दोस्रो दिनमा मेथी मेरो हातमा आइपुग्यो । अर्थात यहाँ कुरियर सेवाको निकै ठुलो बजार फस्टाएको छ । बाटोमा हिड्दा मान्छेहरुले आफुले मगाएको कुरियर लिएर घरतिर हिडेको जताततै देख्न सकिन्छ । कुरियर उद्योगले धेरै चिनियालाई राम्रो रोजगारी दिएको छ ।

नेपालमा अझै पनि हुलाक कार्यालयहरु छन । कर्मचारी छन, तर सेवा छैन । आमरुपमा सर्वसाधारणले कोहि मान्छेलाई केहि कागजात पठाउनु पर्यो भने पनि निजि कुरियर सेवाबाट पठाइन्छ । सरकारी हुलाक कार्यालयबाट नागरिकहरुले विश्वास  आर्जन गर्न सकिरहेका छैनन् । हुलाक सेवा आफै कति जिम्मेवार र इमान्दार छ त्यो त भन्न सक्दिन ।  तर समय समयमा पत्र पत्रिकामा समाचार पठ्न पाइन्थ्यो शिंहदरवारबाट पाटनको कुनै सरकारी कार्यालयमा पठाएको पत्र पुग्न १ महिना लाग्यो । यो अवस्था आउनुको मुख्य कारण लापरवाही र अब्यवसायिकता हो भन्ने लाग्छ । कति व्यक्तिको चिट्ठी–सामान पुग्दैन, बीचमा हराउँछ भन्ने गुनासो सुन्ने गरिएको विषय हो । 

सरकारी कार्यालय र सरकारी कर्मचारीको काम तलब बुझ्ने मात्र होइन, जनताको कर बुझाएको रकमले तलब आउछ  भने करदाताको सेवा गर्ने हो । तर समस्या त्यहाँ देखिन्छ भएको सरकारी हुलाकलाई समयानुकुल परिष्कृत र परिमार्जन गरिएन । निजी क्षेत्रको कुरीयर सर्विस पनि सहर केन्द्रित छ ।  जसरि नेपालका निजि वाणिज्य बैंक सधै नाफामा हुन्छन र सरकारी वाणिज्य बैंक घाटामा थिए । यहि दुरावस्था हाम्रा अरु सरकारी संस्थानमा पनि देखिन्छ । राज्यबाट पनि यो कुरामा ध्यान पुगेको देखिदैन । जनताले विरोध गरेको कुरालाइ सबै ठिकै छ, यो केवल सरकार विरुद्धको षड्यन्त्र हो भनेर देख्ने सबै सरकारले बनाएको अघोषित रिति वा कर्मकाण्ड भैसक्यो । विगतमा भनाइ थियो ‘देउता बोल्दैनन, राजाले देख्दैनन’, राम्रो संभावना र देशभरि सञ्चाल भएको हुलाकलाई राम्रो बनाउने कसैको ध्यान छैन । मन नपरेका र पहुँच नभएका कर्मचारी थन्काउने ठाउ बनाए । 

मैले करिव पाँचवर्ष काठमाडौँमा बिताए अध्ययनको शिलशिलामा । खाने चामल, दाल, गुन्द्रुक, मौसमी फलफुल घरबाट आउथ्यो आफ्नै घरको उत्पादन । आमाले छोराको रुचि र स्वादलाइ ध्यान दिएर बनाएका अचार देखि अरु पनि खाने कुरा । ति समान किन्न त काठमाडौँमा पनि पाईन्थ्यो । तर आफ्नो घरको भनेपछि छुट्टै मिठो हुन्थ्यो । जसमा आमाको मायाको मिठास मिसिएको हुन्थ्यो । त्यस्तै मेरा धेरै काठमाडौँ बाहिरका साथीहरुलाई दाल, चामलहरु घरबाट आउंथ्यो । सामान पठाउन गाह्रो थिएन । गाउँको आफन्त गाडी व्यवसायी हुनुहुन्थ्यो । कलंकी कि गोंगबु बसपार्क गएर समान लिनु पर्दथ्यो । जाँदा लोकल बसमा, फर्किदा ट्याक्सीमा । तर ट्याक्सी हामी सामान्य नेपालीलाइ कति महँगो पर्छ भन्ने हामीलाई थाहा नै छ । त्यसमाथी अलिकति सामान देखे पछि जति भने पनि हुन्छ भन्ने सोचाइका काठमाण्डौका ट्याक्सी । घर भएका साथिहरु को झन् ठुलो समस्या हुन्थ्यो मेरो भन्दा ।  बसपार्क गएर कुनै बसको खलासी वा चालकलाइ पैसा दिएर सामान काठमाडौँ पुराईदिन भन्ने, छोराको फोन नम्बर चालकलाइ  दिने र चालकको नम्बर छोरालाइ दिनु पर्ने अवस्था थियो । त्यसपछि सुरु हुन्थ्यो फोनको शिलसिला । चालकले म थानकोट आए भनेर फोन गरेपछि साथी बसपार्क तिर जाने तरखर गर्दथ्यो । तर थानकोटको जामको भर नै नहुने । कहिले १ घण्टामा कलंकी आइपुग्ने, कहिले ४÷५ घण्टा । काठमाडौँ बस्ने लगभग सबै जनाले भोगेको पिडा हुन कुनै न कुनै हिसाबले । यसको साटो हाम्रै पुरानो हुलाकले आफ्नो स्वरूप र कार्यनीतिलाइ बदलेर सामान पनि ल्याइदिने र पुर्याउने गर्न थाल्यो भने सरकारले नयाँ रोजगारी पनि सिर्जना गर्न सक्छ । जनतालाई सस्तोमा सुविधा पनि प्राप्त हुन्छ ।

अहिलेसम्म पनि राम्रो संरचना, कार्यालय भएको हाम्रो हुलाक लाइ व्यवस्थापन गरेर सुलभ दरमा कुरियर सेवा बनाउने हो भने नेपालीहरुलाइ धेरै सुबिधा दिने सम्भावना हुन्छ । चीनमा १५०० किलोमिटर टाढाको समान पनि तेस्रो दिनमा हातमा पर्छ । हाम्रो त देश पनि सानो  समाधान गर्न खोज्यो भने सजलै समाधान सकिन्छ । संसार बदलिदै छ. हामीपनि आफ्नो मौलिक हिसाबले बदलिनु आवश्यक छ । चीनमा अहिले धेरै मानिसको भर्चुअल virtual पसल छन । बजारमा सटर भाडामा लिएको छैन । तर अर्डर लिएर सामान विक्री गर्छ । अर्डर खोज्छ । सबै कुरा कानुनी छ । हाल नेपालमा पनि अलि अलि यस्ता इन्टरनेटबाट हुने पसल छन् तर मुख्यत काठमाडौँमा केन्द्रीत छन् ।

प्राय युवाहरुले फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दछन । बिस्तारै नेपालमा पनि अनलाइन सपिङ भित्रिदै छ । हामीले चाहे पनि भित्रिन्छ नचाहे पनि भित्रिन्छ । दार्चुलामा बस्ने नेपालीलाई भोजपुरे खुकुरी किन्न मनलाग्दा मोबाइलमा तस्बिर हेरेर मगाउने दिन पनि छिट्टै आउँछ र त्यो सम्भव छ । यो माध्यमको अर्को फाइदा भनेको धेरै बिचौलियाले बिचमा खाने पैसा बच्छ । बेच्नेले धेरै पैसा पाउछ र किन्नेलाई पनि सस्तो पर्छ । तराइको आप, लिची पहाड तिर र पहाडको सुन्तला तराई तिर पठाउन सकिन्छ । लमजुंगको भिरमौरीको मह इलामको व्यक्तिले मगाउन सक्छ । इलामको अकवरी खुर्सानी रुपन्देहीमा । तर त्यसको लागि एउटा जिम्मेवार सामान ल्याउने लैजाने संयन्त्रको खाँचो छ ।

 हेर्दा सानो जस्तो लाग्ने यो कदमले आर्थिक हैसियत बदल्न ठुलो भूमिका खेल्न सक्छ । भूमिगत अर्थतन्त्र जसको राज्यमा केहि लेखा जोखा छैन, उनिहरु राष्ट्रिय लेखामा आउछन । करबाट आउने रकम पनि बढ्छ । सुपथ मुल्यमा एक ठाउँ देखि अर्को ठाउँसम्म समान पुर्याउने संरचना को आवस्यकता छ । समान पठाए पछि सुरक्षित तरिकाले पुग्छ भन्ने भरोसा लाग्दो वातावरण आवश्यक छ । बिश्वस्त गराए हुलाकले फेरी नया जीवन पाउन सक्छ । अझै अरु सहायक कार्यलय खोलेर इन्टरनेट नभएको बेलाको देशको संचारको भूमिका खेलेको हुलाकको त्यो शान र इज्जत फेरी फर्किन सक्छ । यसले उत्पादनको बजारीकरण, रोजगारीमा बृद्धि, राजस्वमा योगदान र समग्र नागरिकको आयमा बृद्धि गर्न सक्छ । तर सरकारलाई यस्ता कुरामा ध्यान दिने फुर्सद पो कहाँ छ र ? 

हुनान, चीन