एकदिवसीय क्रिकेटमा नयाँ विश्व-विजेताको छिनोफानो आज

एकदिवसीय क्रिकेटमा नयाँ विश्व-विजेताको छिनोफानो आज

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २९, २०७६

काठमाडौं । एकदिवसीय क्रिकेटमा नयाँ विश्व-विजेताको आज (आइतबार) छिनोफानो हुँदैछ । 

जारी एकदिवसीय विश्वकप प्रतियोगितामा आज इग्ल्याण्ड र न्युजिल्याण्डबीच उपाधि-भिडन्त हुन लागेको हो ।  खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । उपाधि जित्ने राष्ट्र एकदिवसीय विश्वकपको छैठौं विश्वविजेता बन्नेछ ।

यी दुई टिमले एकदिवसीय विश्वकपको ४४ वर्षे इतिहासमा अहिलेसम्म उपाधि जितेका छैनन् । यद्यपि, इग्ल्याण्ड तीन पटक र न्युजिल्याण्ड एक पटक फाइनल पुगिसकेका छन् । इग्ल्याण्ड सन् १९७९मा वेस्ट इण्डिजसँग, १९८७ अस्ट्रेलियासँग र १९९२ मा पाकिस्तानसँग फाइनलमा पराजित भएको थियो । न्युजिल्याण्ड भने पछिल्लो विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । 

दुवै टिम पहिलोपटक उपाधि भित्र्याउन आफ्नो पूरै शक्ति खर्चने रणनीतिमा छन् । न्युजिल्याण्ड भारतलाई पराजित गर्दै फाइनल पुगेको हो भने इग्ल्याण्डले अस्ट्रेलियालाई हराएर अन्तिम दुईमा स्थान बनाएको हो ।

कसले कति पटक जिते उपाधि ? 

यसअघि अस्ट्रेलियाले पाँच, भारत र वेस्ट इण्डिजले दुई-दुई तथा पाकिस्तान र श्रीलंकाले एक-एक पटक विश्वकपको उपाधि जितिसकेका छन् ।

अस्ट्रेलिया- सन् १९८७, १९९९, २००३, २००७ र २०१५ 

वेस्ट इण्डिज- सन् १९७५ र १९७९

भारत- सन् १९८३ र २०११

पाकिस्तान- सन् १९९२

श्रीलंका- सन् १९९६