रगत पाउनै मुस्किल

रगत पाउनै मुस्किल

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०७६

चितवन । बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रम आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ ।

अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको संख्या बढ्दै गएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार आवश्यक मात्रामा रगत संकलन  नहुँदा समस्या उत्पन्न भएको हो । चिनजान भएका बिरामीका आफन्तले आफैँले दाता खोजेर रगत लिने गरेका छन् । 

अति आवश्यक भएकालाई रगत पुर्याइएको पौडेलले जानकारी दिनुभयो । रगतको व्यवस्थापन गर्न नसक्दा अति आवश्यक बाहेकका शल्यक्रियाको समय सार्नुपर्ने अवस्थासमेत सिर्जना भएको पौडेलले बताउनुभयो । केन्द्रमा दैनिक १५० युनिट रगतको माग हुने गरेको छ भने रक्तदान र केन्द्रमा नै रक्तदाता पुगेर दिने रगत ७५ युनिट मात्र हुने गरेको उहाँले जानकारी दिनुभयो । रगत अभावका कारण बिरामीका आफन्तले हैरानी व्यहोर्नुपरेको छ । 

देशकै केन्द्र भागमा रहेकाले यहाँ आउने दुर्घटनाका घाइते, भरतपुर अस्पतालमा हुने प्रसूतिको शल्यक्रिया, क्यान्सर अस्पतालमा हुने बिरामीको शल्यक्रियामा बढी रगत आवश्यक पर्छ । यहाँका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालले पनि शल्यक्रिया र अन्य उपचारका क्रममा बिरामीलाई रगत चढाउने गर्छन् । 

जेठदेखि साउनसम्म रगतको चरम अभाव हुने गर्छ । मानिसको खेर जाने रगतले जीवन बचाउन सकिने भएकाले रक्तदानमा सहभागी भई सहयोग पु¥याइदिन केन्द्रले आह्वान गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज, युथ फर ब्लड र दारिग्याङ लगायतका समूहले रक्तदाता खोजी सहयोग गरिरहेका छन् । कार्यालयमा ५०० भन्दाबढी रक्तदाताको नाम र नम्बर राखिएको छ । अति आवश्यक हुँदा उनीहरूलाई पनि बोलाउने गरिएको पौडेलले बताउनुभयो । 

केन्द्रले चितवन, धादिङ, नवलपुर, नवलपरासी, बारा, पर्सा, तनहुँ, लमजुङ, गोर्खालगायतका १२ जिल्लाबाट रगत संकलन गर्छ । यी जिल्लामा गर्मीका कारण रक्तदाताको अभाव भएपछि रगतको समस्या देखिएको हो । जिल्लामा रहेका अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या उच्च रहेकाले रगतको माग बढी रहेको खबर राससमा छ ।