नेपालद्वारा मलेसियासँगको टि–ट्वान्टी क्रिकेट शृंखला ‘क्लिनस्विप’

नेपालद्वारा मलेसियासँगको टि–ट्वान्टी क्रिकेट शृंखला ‘क्लिनस्विप’
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २९, २०७६

काठमाडौं । नेपालले मलेसियासँगको टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ‘क्लिनस्विप’ गरेको छ । 

नेपालले आइतबार दोस्रो टि-ट्वान्टी खेल जितेसँगै शृंखला २-० ले ‘क्लिनस्विप’ गरेको हो । 

दोस्रो टि–ट्वान्टी खेलमा नेपालले मलेसियालाई ६ रनले हरायो । १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १६७ रनमा सीमित भएपछि नेपालले शृंखला जितेको हो । 

टिमका लागि सायद ऐजाजले सर्वाधिक ५० रनको योगदान दिए । यस्तै, एमिनुद्दिन र्यामलीले २४ र भिरानदिप सिंहले २३ रनको योगदान दिए । 
नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान २ विकेट लिए । यस्तै, करण केशी, अविनाश बोहरा र पारश खड्काले १–१ विकेट लिए । 
त्यसअघि ब्याटिङ गरेको नेपालले विनोद भण्डारीको आक्रामक ब्याटिङको मद्दतमा ६ विकेट गुमाएर १७३ रन जोडेको थियो । 

भण्डारीले २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरी ५१ रनमा अभिजित रहे । यस्तै, सरद भेषवाकरले २८ बलमा ४० रनको पारी खेले । कप्तान पारश खड्काले १९ बलमा २ चौका र २ छक्का प्रहार गरी २३ रन बनाए । 

मलेसियाका लागि फित्री सामले सर्वाधिक ३ विकेट लिए । 

खेलको प्लेअर अफ दि म्याच विनोद भण्डारी घोषित भए । 

यसअघि शनिबार सम्पन्न पहिलो अन्तर्राष्ट्रिय टि–ट्वान्टीमा नेपाल ७ विकेटले विजयी भएको थियो ।