बाढीपीडितको उद्धार तथा राहत तीव्र

बाढीपीडितको उद्धार तथा राहत तीव्र
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७६

काठमाडौं । अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौं ज्यान गएको छ भने कैयौं घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएको हो । 

तराईका विभिन्न जिल्लामा उद्धारपछि संरक्षित क्षेत्रमा राखिएकालाई अत्यावश्यक राहत उपलब्ध गराइएको प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूले जानकारी गराएका छन् । 

झन्डै दुई लाख पीडित

महोत्तरी जिल्लाका सबै क्षेत्र डुबानमै रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । रातु, विगी, अकासी, जङ्घाहा, मराहा लगायतका स्थानीय खोला बस्तीमा पसेको हो । उनले भने, ‘दसवटा नगरपालिकाका ४० हजार घरपरिवार अलपत्र छन्, झन्डै दुई लाख मानिसलाई राहत र संरक्षण दिन कठिनाइ छ ।’ 

सरकारी कार्यालय, कारागार सबै डुबानमा परेकाले समन्वय गर्न पनि साधनस्रोत अभाव रहेको उनी बताउँछन् । उद्धार गरेकामध्ये बस्ने ठाउँ नै नभएकालाई गाउँपालिका भवन, स्कुल, सामुदायिक भवन र उच्च क्षेत्रमा सुरक्षित गरिएको छ । 

यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।