बीस लाख पर्यटक हाम्रा लागि ठूलो कुरा होइन

बीस लाख पर्यटक हाम्रा लागि ठूलो कुरा होइन

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  माघ १४, २०७५

कृष्ण अर्याल,
सदस्य 
नेपाल पर्याटन बोड

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य केन्द्रीत विभिन्न अभियान सञ्चालन गरिरहेको छ । आन्तरिक र बह्य पर्यटन प्रवर्धनको लागि स्थपना भएको नेपाल पर्यटन बोर्ड के गरिरहेको छ । यो लक्ष्य कति व्यवहारीक छ ? भन्ने बारेमामा लोकसंवाद डटकमले नेपाल पर्यटन बोर्ड सदस्य कृष्ण अर्यालसँग कुराकानी गरेका थियो । प्रस्तुत छ उक्त कुराकानी । 


नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि अहिले पर्यटन बोर्डले के गर्दैछ ?
नेपाल सरकारको पहलमा पब्लिक प्राइभेट पार्टनरसीप अन्र्तगत पर्यटनको प्रचार, प्रसार तथा प्रवद्र्धनका लागि स्थापित देशकै पहिलो संस्था हो पर्यटन बोर्ड । अहिले नेपाल सरकारले पर्यटन मन्त्रीको अध्यक्षतामा आयोजक कमिटि गठन गरेको छ । र त्यसैको मातहतमा पर्यटन सचिवको संयोजकत्वमा कार्यान्वयन कमिटि जस्तो अर्को सचिवालय पनि गठन गरेको छ । बोर्डले भन्दा पनि अहिले मन्त्रालय अन्र्तगत नै कार्यक्रम भइरहेको छ । 
यति ठूलो कार्यक्रममा त बोर्डले नै सचिवालयको जिम्मेवारी लिनुपर्ने होइन र ? 
मुख्यकुरो जसरी भएपनि पर्यटनको विकास हुनुपर्ने हो त्यसको जिम्मेवारी अहिले मन्त्रालयले लिएको छ । यसलाई सकारात्मक ढंगले नै लिनुपर्ला । 
पर्यटन बोर्डको भूमिका चाँही के रहन्छ त ? 
अन्र्तराष्ट्रिय रुपमा बजारीकरण तथा प्रचार प्रसारका काम बोर्डले नियमित रुपमा गर्छ । त्यसका अलावा यहाँ हुने कार्यक्रममा सहभागीता जनाउनु पनि बोर्डको काम हो । भ्रमण वर्ष भएपनि नभएपनि जुन काम हामी हिजो गथ्र्यौं, अहिले गरिरहेका छौं र भोली पनि गर्छौं । 
भ्रमण वर्ष जस्तो महत्वपूर्ण कामको संयोजन त बोर्डले नै गर्नुपर्ने नि ? 
बोर्ड आफ्नै नियमित कार्यक्रममा व्यस्त रहेका कारण पनि नीति निर्माताहरुले बेग्लै संरचना निर्माण गर्नु भएको हुनसक्छ । 
बोर्डको संलग्नता बिना यत्रो कार्यक्रम सफल हुन्छ त ? 
संलग्नता नहुने भन्ने होइन, ‘लाइफ टाइम एक्सपिरियन्स’ जिन्दगिका अनुभवहरु संगाल्नुस, यस्तो अनुभव तपाईले अन्यत्र कहिं पनि पाउनुहुन्न भन्ने नारा बोर्डले राखेको छ त्यसैबाट प्रचार प्रसार गर्छौं । पब्लिक प्राइभेट पार्टनरसीप अन्र्तगत निजी क्षेत्रको नेतृत्व भएको संस्था हुनाले प्रभावकारी भूमिका निभाउन सक्दैन भन्ने सरकारलाई लागेको पनि हुन सक्छ । 
अहिलेसम्म त बोर्डले नै संयोजनकारी भूमिका निर्वाह गरेको होइन र ? 
अहिलेसम्म रह्यो । शायद हिजोको भूमिकाबाट सन्तुष्ट नभएर यसो गरेको हुनसक्छ । यसमा म मात्रै होइन निजी क्षेत्रका सबै साथीहरु समेत आश्चर्यचकित हुनुहुन्छ । 
यो कुरामा मन्त्रालयलाई झक्झक्याउने काम भएको छ कि छैन ? 
हाम्रो भूमिका नचाहेको हो वा नदिइएको हो भन्ने कुरा सभ्य तरिकाले जहाँ  राख्नुपर्ने हो हामीले त्यहाँ राखेका छौं । तर कुनै जवाफ आएको छैन । 
पर्यटन बोर्ड एकातिर र सरकार यो कार्यक्रमलाई अर्कै ठाउँबाट सम्पन्न गर्न खोजिरहेको छ भन्न खोजिएको हो ? 
हामी आफ्नो काम गर्छौं । मन्त्रालय त परको कुरा विभाग नै नजन्मेको समयमा पनि निजी क्षेत्रका मान्छेले विदेशमा गएर पर्यटन प्रवद्र्धन गरेको गौरवशाली इतिहासको बाहक हौं हामी । त्यसमा कुनै द्विविधा छैन । अब यो भन्दा बढी किन मन्त्रालयले गरेन भन्ने कुराको जवाफ त मन्त्रालयलाई नै सोध्नु उपयुक्त होला । अथवा यसको जवाफ मन्त्रालयले मात्र दिन सक्छ । 
हाम्रो पूर्वाधार र क्षमताको अध्ययन पश्चात २० लाख पर्यटकको लक्ष्य राखिएको हो वा केवल नाराका लागि ? 
मूख्यकुरा भनेको पर्यटकको बसाईका लागि होटलको उपलब्धता हो । हामीसंग २५ लाख पर्यटक राख्ने क्षमता छ । निजी क्षेत्रले त्यो सबै पूर्वाधार निर्माण गरेको छ । उसले त भोलि जन्मिने कुरालाई आज हेर्ने हो । आज त्यसको मूल्यांकन गरेर लगानी गर्ने हो । देशमा शान्ति सुरक्षाको व्यवस्था तथा सरकारले निर्माण गर्छु भनेको पूर्वाधार सम्पन्न गरेका खण्डमा संख्या ठूलो कुरा होइन । गौतम बुद्ध विमानस्थल निर्माण सम्पन्न गरी संचालन गर्न सकेमा र अहिले देखि नै तदारुकताका साथ लक्ष्यलाई बिचार गरेर अघि बढेका खण्डमा पर्यटकका लागि बस्ने खाने सबै व्यवस्था गर्न हामी सक्षम छौं । 
पर्यटकका लागि आवश्यक सुरक्षा देखि अन्य वातावरण नभएमा उ तुरुन्तै फर्कन पनि त सक्छ नि त्यसको तयारी के छ ? 
उसको एजेण्ट वा हाम्रो एजेण्टले सुरक्षा लगायत अन्य सबै कुरा ठीक नभएसम्म प्याकेज बिक्री गर्दैन । द्वन्दकालमा पनि कुनै एउटा पर्यटकलाई सानो कोतर्ने घटनासम्म पनि नभएका कारण पनि त्यसको एउटा सकारात्मक सन्देश गएको   छ । हडताल, बन्द जस्ता कार्य मात्र नभएका खण्डमा पनि निजी क्षेत्रले यसलाई सम्हालेर लैजान्छन । यदि बन्द भइहालेका खण्डमा पनि एअरपोर्ट देखि होटल सम्म पर्यटकलाई लैजाने ल्याउने जुन काम भएको छ त्यसले पनि राम्रो सन्देश गएको  छ । काठमाण्डौ, चितवन, पोखरा जस्ता पर्यटकीय क्षेत्रमा पर्यटकलाई केही नगर्ने जुन माहौल बनेको छ त्यो पनि सकारात्मक नै छ । 
भूमिकाका हिसाबले पर्यटन बोर्डलाई सरकारले पहिले देश अनि मात्र विदेश भन्यो भन्यो भने त्यो सहि हुन्छ वा गलत ? 
संसारको पर्यटनको विकास र दिगोपन हेर्ने हो भने जहाँ आन्तरिक पर्यटक राम्रो संग गएका छन त्यो ठाउँको विकास भएको छ । गतवर्ष वैशाख १ गते सम्माननिय प्रधानमन्त्रीले राराबाट देशवासीका नाममा जुन सम्बोधन गर्नु भएको छ त्यसले रारा जाने पर्यटकको संख्यामा वृद्धि गरेको छ । अहिले हिउँ परेपछि तलबाट रारा हेर्न जानेको लर्को लागेको छ । रारा राष्ट्रिय निकुञ्ज भित्र पर्छ । अब प्रदेश सरकार लगायत अन्य निकायले निजी क्षेत्रलाई आकर्षित गरी त्यसको वरिपरि होटल लगायत अन्य पूर्वाधार निर्माणमा आकर्षित गर्न सक्नुपर्छ । हिजो रारा भन्दा एउटा कल्पनाको मात्र चित्र थियो भने । अब बाटोघाटोको सुविधाका कारण हिउँ पर्दा पनि मान्छे रारा जान सक्ने वातावरण बन्यो । मैले आफ्नो जन्मस्थानबाट आफ्नै देशको अर्को स्थान देखेको छैन भने विदेश गएर मात्र ठूलो हुने होइन । मान्छे घुम्न जाने भनेको सक्षम भएर समृद्ध भएर जाने हो । मेरो समृद्धि विदेशमा भन्दा आफ्नै देशका नागरिकले एउटा छेउबाट अर्को छेउ गएर घुमेर थोरै आफ्नै देशका नागरिकमा बाँडौं है भन्ने एउटा अभियान पनि हो । समृद्धि साटफेर गर्ने अभियान पनि हो । आन्तरिक पर्यटनको विकास भयो भने अरु विदेशी आए पनि नआए पनि, कुनै ठाउँमा युद्ध भएर पर्यटक नआउँदा पनि हामीलाई कुनै चिन्ता भएन । यो नारालाई साँच्चै सार्थक बनाउने हो भने सरकारले कम्तीमा एउटा प्रदेशका कर्मचारीलाई अर्को प्रदेशमा हेर्न पठाउनु प¥यो । त्यहाँ पूर्वाधारको विकास कसरी भएको रहेछ, पर्यटनको विकास कसरी भैराखेको छ, जलश्रोतमा कसरी अघि बढ्दैछ । कृषिमा कस्ता कार्यक्रम अगाडी बढाएको रहेछ । अर्को कुरा नेपाल सरकारले नीतिगत निर्णय गरेर बैंक, इन्सुरेन्स कम्पनी लगायत जस्ले अलिकति लगानी गर्न सक्छ उसले आफ्ना कर्मचारीलाई आन्तरिक पर्यटनमा अनिवार्य गर्ने तथा एक स्थानिय सरकारका कर्मचारी अर्को स्थानिय सरकारले कसरी काम गरेका छन अध्ययन गर्ने, सिक्ने त्यसका लागि स्थनिय, प्रदेश तथा संघीय सरकारले नीतिगत निर्णय गरेर नै यो कार्यक्रम लागु गर्न सकेका खण्डमा यसले अर्थतन्त्र समेत चलायमान बनाउन मद्दत गर्छ जसले गर्दा स्थिर रह्यो भनिएको हाम्रो अर्थतन्त्रको विकासमा पनि मद्दत गर्छ । 
वर्षभरि पर्यटक भित्र्याउन बोर्डले के के काम गर्छ ? 
बोर्डले आफ्नो नियमित काम गरिराखेकै हुन्छ । वर्षभरि संसारका ठूला शहरमा पर्यटन संग सम्बन्धित विभिन्न मार्ट हुन्छन त्यसमा सहभागी हुने, त्यसमा होटल, ट्राभल, ट्रेकिङ्गसंग सम्बन्धित साथीहरुलाई त्यहाँ लगेर बजारीकरण गराउँछौं, प्याकेज बेच्न लगाउँछौं । त्यहाँ रोड शो देखि बि टु बि लगायत अन्य थुप्रै कार्यक्रमहरु हुन्छन त्यसमा हामी बजारीकरण गर्छौं । विदेशमा रहेका नेपाली दुतावाससंग मिलेर प्रचार प्रसार गराउँछौं । विदेशका ठूला ठूला सेलिब्रेटीहरुलाई गुडविल एम्बेसडर बनाएर कामहरु गर्छौं । विदेशबाट ठूला पत्रकार, लेखक, ब्लगरहरुलाई बोलाएर विभिन्न ठाउँ देखाएर प्रचार प्रसार गराउँछौं । यो हाम्रो नियमित काम हो । यो सँधै जारी रहन्छ । त्यसको परिणाम नै हो झण्डै झण्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गर्नु । 
उसोभए राज्य जिम्मेवार हुने र यो क्षेत्रसंग सम्बन्धित मान्छेहरुसंग सहकार्य गर्ने हो भने २० लाख हाम्रा लागि कुनै ठूलो कुरा होइन ? 
२० लाख हाम्रा लागि कुनै ठूलो कुरा होइन । अर्को कुरा तपाई कुनै ठूलो अभियानमा लाग्नुहुन्छ भने त्यसले एउटा लक्ष्य तय गरेको हुन्छ । गन्तव्यहीन मान्छेले कुनै अभियान संचालन गर्न सक्दैन । हिजो १९९८ मा हामीले ५ लाख पर्यटक पुरयाउँछौं भन्यौं । त्यो भनेको ५ लाख पर्यटक आए भने हामी सजिलै उनीहरुका लागि आवश्यक पर्ने सेवा प्रदान गर्न सक्छौं भन्ने हो । संगसंगै पर्यटन यस्तो क्षेत्र हो यसको विकास गरेका खण्डमा राम्रो आर्थिक उर्पाजन गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गरयौं । २०११ मा हामी भर्खर द्वन्दबाट बाहिर निस्किएका थियौं । हामी आफ्नो छाँयासंग पनि डराउने अवस्था थियो त्यो । त्यसलाई हटाउन हामीले ‘टुरिजम फर टुगेदर’ पर्यटनका लागि संगसंगै भन्ने नारा लिएर आयौं । त्यसबेला सबै राजनीतिक पार्टीहरुलाई संगै ल्याएर एकमतले हामीले के भन्न लगायौं भने हामी यो देशमा एक वर्ष सम्म बन्द हडताल केही गर्ने छैनौं । पर्यटनलाई असर गर्ने कुनै क्रियाकलाप गर्ने छैनौं । पहाड, मधेश, हिमाल सबैतिर हामी पर्यटनका लागि एक हुन्छौं भन्न लगायौं । अर्को कुरा पर्यटन भनेको केही सिमित मान्छेले कमाएर खाने भाँडो भन्ने लागेपछि होमस्टेको कार्यक्रम अघि सारयौं । घरमा २-३-४ वटा कोठा सम्म राखेर हामीकहाँ आएको मान्छेलाई हाम्रो रहन सहन, संस्कृति सिकाउने वातावरण बनायौं । त्यसले ग्रामिण क्षेत्रमा आर्थिक रुपान्तरणको लागि टेवा पुरयाइरहेको छ । 
पर्यटकलाई हामी दुख दिंदैनौं है भन्ने सन्देश के छ हामीसंग ?
यो भनेको सेवा उद्योग हो । सेवा उद्योग भनेको मैले तपाईलाई खुशि बनाएर पैसा लिने हो । पर्यटकले १ वर्ष अघि नै तालिका बनाएको हुन्छ तर हामीकहाँ तीन दिन अघि आएर यति पैसा बढ्यो है भनिन्छ । पैसा बढाउन सकिन्छ । तर त्यहाँको राजस्व बढाउनु छ भने निजीक्षेत्रलाई विश्वासमा लिनुपरयो । बेच्ने त उनीहरुले हो । निजीक्षेत्रको भनाई के हो भने डिसेम्बर देखि फेब्रुअरि सम्म अर्को वर्षको लागि सम्झौता हुने वर्ष   हो । त्यसकारण कुनै राजस्व बढाउनु छ, कतै प्रवेश शुल्क बढाउनु छ भने एक वर्ष अघि नै निर्धारण गरिदिने हो भने त्यसले राज्यले पनि पर्यटन क्षेत्रसंग सम्बन्धित सबैलाई सम्बोधन गरयो भन्ने सकारात्मक सन्देश पनि जान्छ र काम गर्न पनि थप सहज हुनजान्छ ।