आजको चन्द्रग्रहणः कुन राशिका हेर्नुहुन्छ, कुन राशिका हेर्नुहुँदैन

आजको चन्द्रग्रहणः कुन राशिका  हेर्नुहुन्छ, कुन राशिका हेर्नुहुँदैन

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  असार ३०, २०७६

काठमाडाै । आज २०७६ असार ३१ गते म‌गलबार  शुक्ल पूर्णिमाका  दिन  खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने भएकाे  छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍. डा. रामचन्द्र पोखरेलले दिएकाे जानकारी अनुसार चन्द्र ग्रहण राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने छ । 

पोखरेलका अनुसार बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ र ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने छ ।  उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास रहँदै आएकाे छ ।  दुई राशिका मानिसले ग्रहण हेर्नु नहुने  मान्यता छ । साथै मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने समितिले स्वीकृति दिएको पात्रोमा नै उल्लेख गरिएकाे छ । त्यसैगरी कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्दा फाइदा हुने पात्राेमा उल्लेख छ  । ग्रहण लागेको समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म प्रचलन रँहँदै आएकाे छ ।

चन्द ग्रहण लागेको समयमा दीक्षामन्त्र लिन पनि उत्तम साइत हुने धार्मिक मान्यता छ भने  ग्रहण लागेको  बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरीमा पुगेर नुहाउनेलाई उत्तम मानिन्छ ।  जान नसक्नेहरुले घरमै स्नान गर्नु राम्राे हुने  ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

चन्द ग्रहण लागेको समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने  उल्लिखित धार्मिक ग्रन्थमा उल्लेख छ । 

धार्मिक ग्रन्थका अनुसार सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रीहरुकाे दावी रहँदै आएकाे छ ।  सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक मान्यता छ । २०७६ असार ३१ गते अपराह्न ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यतानुसार भोजन  नगर्न भनिएको छ । विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेका बेलामा गरेका थिए ।

यो चन्द ग्रहणलाई खगोलविद् तथा वैज्ञानिकहरुले  प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसरका रुपमा लिएकाे  खगोलविद् जयन्त आचार्यले जानाकारी दिनुभयाे । यसपटककाे चन्द  ग्रहणको प्रभाव केवल मानिसमा मात्र नभई पशुपन्छीमा पनि प्रत्यक्ष असर पर्ने दावी गिरएकाे छ ।  

चन्द ग्रहण ग्रहणसम्बन्धी आधुनिक एवं वैज्ञानिक मान्यता अनुसार र नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएकाे खण्डमा नेपालका सबै भागबाट चन्द ग्रहण  ग्रहण लागेको देख्न सकिने दावी गरिएकाे छ ।  ग्रेगोरियन पात्रोअनुसार ग्रहण जुलाई १७ तारिखको बिहान र नेपाली पात्रोअनुसार असार ३१ गते राति पर्छ ।

नेपाली पात्रोअनुसार सुर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन मानिन्छ । मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभएकाे छ । चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले  हेर्दा केही फरक नपर्ने पनि सोसाइटीले स्पष्ट पारेकाे छ । 

२०७६ असार ३१ गते म‌गलबार राति १ः४६ बजे शुरु हुने खण्डग्रास ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा राति ३ः१५ बढी ढाक्नेछ । अवलोकनकर्ताले १ः४६ बजेदेखि दुई घण्टा ५८ मिनेटसम्म अर्थात् ४ः४४ बजेसम्म चन्द्रमाको केही भागलाई तामा खलकाे  रङमा देख्न  सक्ने अनुमान छ ।    यसअवधिलाई नै खण्डग्रास चन्द्रग्रहण भनिन्छ । ग्रहण नेपाललगायत भारत, चीन, मङ्गोलिया, जापान, रुस तथा अफ्रिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया महादेशबाट देख्न सकिनेछ । 

 एकाइसौँ शताब्दीमा परेका ८५ चन्द्रग्रहणमध्ये यो एक रहेकाे बताइएकाे  छ । तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्घि हुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्दै आएका छन ।  चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सिकने हुन्छ ।  चन्द्रग्रहणमा आँखालाई हानिनोक्सानी पुर्‍याउने खालका किरण नआाउने बैज्ञानिकहरुले बताएका छन् ।