साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७६

चितवन । जिल्लामा साढे ९ हजार भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निवेदनको पुनः जाँच गरी ९ हजार ५ सय ६९ जनाको लाभग्राहीका लागि सिफारिस गरिएको हो । केन्द्रले छानबिन गरी लाभग्राही भए नभएको टुंगो लगाउने छ । 

कार्यालयका इञ्जिनियर सुवास न्यौपानेका अनुसार केन्द्रबाट पठाइएका पाँच हजार र जिल्लामा परेका उजुरी पाँच हजार गरी १० हजारको सर्भे गरिएको थियो । २०७५ चैत १३ गतेदेखि २०७६ असार पहिलो सातासम्म गरिएको सर्भेका आधारमा उनीहरूको सिफारिस गरिएको हो । 

सर्भेका लागि जिल्लाका सातै स्थानीय तहमा गरी २३ प्राविधिक परिचालन गरिएको थियो । उनीहरूले कार्यालयमा जेठ मसान्तसम्म आएका गुनासोको सर्भे गरेका थिए । सर्भेका क्रममा सबैभन्दा बढी कालिका नगरपालिकामा दुई हजार ४४३ घरधुरी सर्भे गरिएको थियो भने सबैभन्दा कम माडी नगरपालिकामा २६ घरधुरी सर्भे गरिएको थियो । यस्तै राप्ती नगरपालिकामा दुई हजार २६०, रत्ननगर नगरपालिकामा एक हजार ५५३, इच्छाकामना गाउँपालिकामा एक हजार ४१८, खैरहनी नगरपालिकामा एक हजार २०८ र भरतपुर महानगरपालिकामा ६७९ घरधुरी सर्भे गरिएको थियो । छुट तथा पुनः जाँच कार्यविधि, २०७५ अनुसार आएका गुनासाको सुनुवाइका क्रममा सर्भे गरिएको न्यौपानेले बताउनुभयो । 

यस्तै कार्यालयले यस वर्ष प्राविधिक आउनुअघि घर निर्माणको काम सम्पन्न गरेका भूकम्प प्रभावितहरूलाई पनि दोस्रो र तेस्रो किस्तावापतको रकम निकासा गर्ने भएको छ । जिल्लामा विसं २०७४ मङ्सिरभन्दा अगाडि निर्माण गरिएका घरहरूको स्थानीय तहको सिफारिसमा रकम वितरण गर्न लागिएको हो । यस्ता घरहरू ५०० रहेका छन् । उनीहरूले पहिलो किस्तावापतको रकम रु ५० हजार लगिसकेका छन् । अब दोस्रो किस्तावापत रु एक लाख ५० हजार र तेस्रो किस्तावापत रु एक लाख पाउने न्यौपानेले जानकारी दिनुभयो । 

जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले अहिलेसम्म निजी आवास पुनःनिर्माणतर्फ ४८ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । कार्यालयका अनुसार २ हजार ९ सय ८२ ले घर निर्माण सम्पन्न गरी तेस्रो किस्तावापतको रकमसमेत लगिसकेका छन् । जिल्लामा ७ हजार ३ सय ३५ लाभग्राही रहेका छन् । तीमध्ये ६ हजार १ सय १३ ले पहिलो किस्ताका लागि सम्झौता गरेका थिए । तीमध्ये ४ हजार ३ सय ९ ले दोस्रो किस्तावापतको रकमसमेत प्राप्त गरिसकेको कार्यालयले जनाएको समाचार राससमा छ ।