चीनको आर्थिक वृद्धिदर २७ वर्षमा सबैभन्दा कम

अप्रिल–जुन तीन महिनामा ६.२ प्रतिशत मात्र

चीनको आर्थिक वृद्धिदर २७ वर्षमा सबैभन्दा कम

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७६

काठमाडौं, एजेन्सी । चीनको आर्थिक वृद्धिदर (जीडीपी) यो वर्षको अप्रिल–जुन महिनामा घटेर ६.२ प्रतिशत भएको छ ।

गएको २७ वर्षमा यो तीन महिना सबैभन्दा कम आर्थिक वृद्धिदर भएको महिनाको रुपमा देखा परेको छ ।

यो भन्दा कम आर्थिक वृद्धिदर १९९२ को जनवरी–मार्चमा रेकर्ड गरिएको थियो ।  

यसवर्ष जनवरी–मार्चमा चीनकाे आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहेको थियो । 

अमेरिका तथा चीनबीच जारी व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा कमी आएको हो । हाल चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र हो । 

यस वर्षको पहिलो ६ महिनाको आर्थिक वृद्धिदर भने ६.३ प्रतिशत रहेको थियो । अमेरिकाले आयात शुल्क वृद्धि गरेका कारण चीनको निर्यात व्यापारमा गिरावट आएको हो ।

घरेलु माग घटेका कारण चीनको आयात पनि घटेको छ । अहिले विश्लेषकहरुको नजर भने रोजगारी दरमा रहेको छ । 

विशेषज्ञका अनुसार यदि अमेरिका–चीनका बीच व्यापार युद्ध जारी रहेका खण्डमा विश्व अर्थव्यवस्थामा मन्दी आउन सक्ने खतरा रहन्छ ।

जापानको मिजुहो बैंकका एशिया तथा ओसेनिया इकोनमिक्स प्रमुख विष्णु वराथनका अनुसार, अप्रैल–जुन तीन महिनामा  चीनको कमजोर आर्थिक वृद्धिदरको असर बाँकी एशियामा पनि पर्नसक्छ ।

चीनकाे  आयात तथा निर्यातमा कमी हुनु चिंताको विषय हो किनकि एशियाको बाँकी देशका लागि पनि चीन प्रमुख बाजार हो ।