लोकभाकामा मुगलान

लोकभाकामा मुगलान

यमबहादुर दुरा  |  लोकरञ्जन  |  माघ १४, २०७५

अमेरिकास्थित एल युनिभर्सिटीका तत्कालीन प्राध्यापक एल्सवर्थ हन्टिङ्टन (सन् १८७६—१९४७) ले इतिहासलाई नयाँ शिराबाट परिभाषित गरेका थिए । हन्टिङ्टनको भनाइ थियो, ‘एउटा परिवेशबाट अर्को परिवेशमा मानिसको स्थानान्तरण सम्बन्धी अभिलेख नै व्यापक अर्थमा इतिहास हो’ । उनको भनाइले मानव इतिहासमा बसाइँ सराइले उच्च स्थान राख्छ भन्ने सन्देश दिन्छ । 

इतिहासले पुष्टि गरिसकेको छ, मानव भ्रमणशील प्राणी हो । निकटपूर्वका ऐतिहासिक घटनाक्रमलाई हेर्दा पनि यही तथ्य पुष्टि हुन्छ । हुलका हुल युरोेपेलीहरू अन्तरमहादेशीय बसाइँ सरेर अमेरिका पुगे । युरोपेलीहरूकै एक भङ्गालो दक्षिण अमेरिका पुगे भने अर्को भङ्गालो अष्टे«लिया पुगे । अफ्रिकीहरू दासका रूपमा बलजफ्ती अमेरिकातिर धकेलिए । 

यता, नेपालीहरू समयको विभिन्न कालखण्डमा भारतीय उपमहाद्वीपका कतिपय भूखण्ड चहार्न पुगे, मुटुभरि अनेकौं  सपना साँचेर । असंख्य नेपालीहरू मातृभूमि छाडेर भारत, भूटान, बर्मा हुँदै थाइल्याण्डसम्म पुगे । ती मुलुकमा भेटिने नेपाली मूलका नागरिकले आफ्ना पितापूर्खाबाट सुन्दै आएका यायावर—कहानी अभैm पनि भुलेका छैनन् । अझ, पहिलो तथा दोस्रो विश्वयुद्धको मेहरोमा फ्रान्स, इटली, जर्मनीजस्ता मुलुक पुगेका नेपालीका कतिपय कहानी भन्नै नपाई समय व्यतीत भइसकेको छ । 

समय बदलिएको छ तर मानव जातिको यायावर जीवनधाराको मूलभूत कहानी बदलिएको छैन । स्थानान्तरणको सिलसिला नित्य जारी छ । नयाँ अवसरहरूका खोजीमा मुगलान पस्ने क्रम रोकिएको छैन । बरू, मुगलानका नयाँ—नयाँ गन्तव्यहरू थपिँदै गएका छन् । बसाइँ सराइको आयातन र घनत्व झन व्यापक हुँदै गएको छ । 

‘विश्व बैंक’ ले प्रकाशन गरेको आप्रवासनसम्बन्धी प्रतिवेदन ‘माइग्रेसन एण्ड रेमिट्यान्सेस फ्याक्टबुक २०१६’ ले नेपाललाई रोजगारका लागि उच्च संख्यामा नागरिक विदेशिने मुलुकको सूचीमा राखेको छ । ‘विश्व श्रम संगठन’ ले जारी गरेको एक प्रतिवेदनले देशको कुल गार्हस्थ उत्पादनमा विदेशबाट आउने आयस्ता (रेमिट्यान्स) को उल्लेखनीय योगदान रहने चौथो मुलुकमा रूपमा नेपाललाई सूचीकरण गरेको छ । 

विदेशी आयस्ता ठूलो मात्रामा भित्रिरहँदा त्यसमा यन्त्रणा र हैरानीका अनेकौं कहानी पनि बुनिँदै गएका छन । अँधेरो कोइलाखानीमा घण्टौं श्रम गर्ने श्रमजीवी, ज्यानको पर्वाह नगरी लडाइँमा होम्मिने लाहुरे, अरबको मरुस्थलमा भेँडाको स्याहार सुसारमा जुट्ने गोठालो, मालिकबाट प्रताडित घरेलु कामदार अनि कुल्ली—दरबानका कथा—व्यथाहरू अवर्णनीय छन् । 

यता, स्वदेशमै ओभरसिज कम्पनीका मालिक र एजेन्टहरूले आफ्नै बन्धुबान्धवलाई घर न घाट बनाएका कथा—उपकथाहरू कहिनसक्नुको छ ।


मुगलानले धेरै स्वप्नजीवीका जीवनमा आर्थिक समृद्धि ल्यायो होला तर यसले जनमनमा जकडिएर बसेका विछोड र वेदनाको पहाड भने भत्काउन सकेको छैन । कतिपय अवस्थामा त यस्ता पीरव्यथाहरूकोे पहाड झन अग्लिँदै गएको छ । 

साहित्यका अनेकन् विधामा यस्ता पीरव्यथाहरूको प्रतिविम्ब देख्न सकिन्छ । उपन्यास विधामा यसका गहिरो अनुभतिहरू भेटिन्छन् । ‘मुलुकबाहिर’ (वि.सं.२००४), बसाइँ (सन् १९५७), ‘चपाइएका अनुहार’ (वि.सं.२०३०), ‘मुगलान’ (वि.सं.२०३१), ‘शरणार्थी’ (वि.सं.२०५६) आदि यसका दृष्टान्त हुन् । 

पञ्चायतकालमा जेबी टुहुरेको गलामा क्रान्तिकारी भावले ओतप्रोत भएको भावुक गीत गुञ्जियो : ‘बसाइँ हिँंड्नेको ताँतीले सबको मन रुवाउँछ...’ । देशमा राजनीतिक परिवर्तनको उच्च आकांक्षा राख्दै गुञ्जयमान बनेको यो गीतको गुञ्जनपछि देशको राजनीतिक तथा सामाजिक परिदृश्यमा अकल्पनीय परिवर्तनहरू आए । तर बसाइँ हिँड्ने ताँती रोकिएको छैन, बरू ताँती लम्बिएका छन । दशकौंपछि पनि गीतको सान्दर्भिकता हराएको छैन ।

मुगलानले थोपरेका विछोड र वेदना लोकभाकामा पनि बलियोसँग प्रतिध्वनित भएका छन् । लोकसाहित्यको एउटा सशक्त विधा लोकगीत मूलतः अपठितहरूका लागि अभिव्यक्तिको दरिलो माध्यम भएकाले यसमा बहुसंख्यक निरक्षरका पीरव्यथा युगौंदेखि अभिव्यक्त हुँदै आएका छन् । 

मानव हृदयको भित्री तहलाई नै तरङ्गित गर्ने गरी लोकभाकामा मुगलान प्रतिविम्बित र प्रतिध्वनित भएका छन् । ‘मेरो माया कहाँ गयो रुँदै, पूर्व दिशा उज्यालो नहुँदै’ जस्ता लोकगीतले स्रोतागणलाई भावुकताको उत्कर्षमा पु¥यादिन्छन् । थोरै शब्दमा कथिएको र रचनाकार अज्ञात रहेको यस गीतको व्याख्या र विश्लेषणका लागि हजार शब्द पनि अपर्याप्त हुन्छ ।

झलकमान गन्धर्व (वि.सं. १९९२—२०६०) को बहुचर्चित गीत ‘आमाले सोध्लिन् नि खै छोरो भन्लिन्’ मुगलानको पृष्ठभूमिमा जन्मिएको भीषण मार्मिक गीत भनेर धेरैले स्वीकारेका छन् । उनले यसलाई सत्यघटनामा आधारित गीत भनेर धेरै ठाउँमा भनेका छन् । 

प्रसंग हो, सन् १९६५ को भारत—पाक युद्ध । सारङ्गी रेट्दै गाउँघर डुल्ने क्रममा कास्कीको अर्मला गाउँमा पुगेका थिए, झलकमान । उनी त्यहाँ पुग्दा त्यही गाउँका लाहुरे युद्धमा मरेको चिठी आयो । चिठीको व्यहोरा पढेपछि आफन्तजन र गाउँबासीबीच रुवाबासी चल्यो । उनी त्यस पीडादायी घटनाको साक्षी बने । त्यस घटनाले उनको भावुक हृदयलाई पगालेरै छाड्यो । अनि जन्मियो, धेरै आमाहरूको परेली भिजाउने हृदयविदारक युगान्तकारी गीत ।

मुगलानमा जनसाधारणले भोगेका पीरव्यथालाई समेट्ने स्वरजीवीको सूचीमा लोकबहादुर क्षेत्री (वि.सं. २०१८–२०५०) को नाम अग्रपंक्तिमै आउँछ । ‘आमा रूँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’, ‘साइलो दाइ काँ गयो, पानी खाँदा न्याउली झुरायो’, ‘पँधेरोमा धूलो उँड्यो मूलको पानी सुक्दा, साइलो दाइकै झल्को लाग्छ गाउँमा कुकुर भुक्दा’ जस्ता नेपाली जनजीवनको ढुकढुकी स्पन्दित हुने गीत गाएर उनले धेरैको मन जिते । उनका गीतमा नेपालीको मुगलानी अनुभवलाई गहिरो गरी अनुभूत गराउन सक्ने तागत छ ।

पञ्चायतकालमा जेबी टुहुरेको गलामा क्रान्तिकारी भावले ओतप्रोत भएको भावुक गीत गुञ्जियो : ‘बसाइँ हिँंड्नेको ताँतीले सबको मन रुवाउँछ...’ । देशमा राजनीतिक परिवर्तनको उच्च आकांक्षा राख्दै गुञ्जयमान बनेको यो गीतको गुञ्जनपछि देशको राजनीतिक तथा सामाजिक परिदृश्यमा अकल्पनीय परिवर्तनहरू आए । तर बसाइँ हिँड्ने ताँती रोकिएको छैन, बरू ताँती लम्बिएका छन । दशकौंपछि पनि गीतको सान्दर्भिकता हराएको छैन ।
 
पञ्चायतकालको उत्तराद्र्धतिर लोकगायिका हरिदेवी कोइरालाले अडियो एल्बम निकालिन्, ‘पाइन खबर’ । २०४३ सालमा निस्किएको यो एल्बममा मुगलानले बल्झाएका नेपाली घाउहरू भेटिन्छन् । धेरैको जीवन—भोगाइमा आधारित भएकाले असंख्य स्रोतामाझ औधि लोकप्रिय रह्यो, ‘पाइन खबर’ । घरको दुःखले  मुगलान पसेका श्रीमान्को अनुपस्थितिमा अर्धाङ्गिनीले भोग्नुपरेको हैरानी र सास्ती नै गीतको केन्द्रीय भावभूमि हो । नेपाली जीवनधाराको एउटा बेजोड प्रतिनिधि स्वर बन्न पुग्यो, ‘पाइन खबर’ । 

अन्य असङ्ख्य लोकप्रतिभाहरूका गलामा बसाइँ सराइ र मुगलानसँग गाँसिएका सर्वसाधारणका पीरव्यथा प्रतिध्वनित भएका छन् । कृष्णसुधा ढुङ्गाना, नारायण रायमाझी, तेजबहादुर केसी, बीमाकुमारी दुरा, कृष्ण थापा, बद्री पराजुली, रत्न बानियाँलगायत सयौंका गलाबाट मुगलान हराएको छैन ।

यी नामहरू प्रतिनिधि स्वरमात्र हुन् । वनपात र मेलापातमा कतिले मुगलानसँग सम्बन्धित विरहव्यथा पोखे, त्यसको कुनै लेखाजोखा नै छैन । ती विरहिणी स्वर समयको गर्तमा विलीन भइसकेका छन् । 

यसबारे सिङ्गो समुन्द्र नै मन्थन गर्न बाँकी छ । हाम्रा लोकभाकामा मुगलान कसरी र कुन गहिराइसम्म तरङ्गित भएको छ भन्नेबारे व्यापक खोज—अनुसन्धान र अभिलेखीकरण हुन आवश्यक छ । यसबारे हालसम्म कुनै ठोस काम भएको छैन । यो विधा एउटा बेग्लै विशद अध्ययनको विषय बन्नेमा कुनै द्विविधा छैन ।