बहुविवाहः ‘दुई जोईको पोइ कुना बसी रोई’ !
असार ३१, २०७६

केही महिना अगाडि एक जना चिने जानेको, अधबैँसे मान्छेको विवाहमा सरिक हुने मौका मिल्यो । उहाँ अलरेडी विवाहित भनेर चिनिनु हुन्थ्यो । त्यहाँ उपस्थित सबैको मनमा फलानोले किन फेरी विवाह गर्न लागेछन् भन्ने कौतुहलता प्रस्टै देखिन्थ्यो ? उमेरले ५५ कटिसकेका ती व्यक्तिको तेस्रो विवाह रहेछ । सहरमा बस्ने श्रीमतीलाई त धेरैले चिनेका थिए । गाउँमा पनि श्रीमती रहे छिन तर त्यो कुरा कसैलाई पनि थाहा थिएन । गाउँकै एक जना दिदीले भनेपछि धेरैले थाहा पाएका थिए । पहिलो श्रीमती गाउँकी केही नजान्ने परि रे, दोस्रोबाट सन्तान भएन रे भनी तेस्रो विवाह गरेका रहेछन् । ढल्किँदो उमेरको विवाह त्यो पनि तेस्रो विवाह भन्ने थाहा पाएपछि मनै नरमाइलो भयो अनि त्यहाँबाट सरक्क उठेर हिँडिहाले म ।

ढल्किँदो उमेरमा पनि लोग्ने मानिसहरू किन बिहे गर्छन्, श्रीमतीको यति धेरै आवश्यकता थियो त पहिलो श्रीमतीलाई नै राम्री बनाएर सहरको रहनसहन सिकाएको भए हुने नी जस्ता कुराहरू मनमा खेली रहे । बिहे गर्ने महिलाले पनि किन त्यस्तो बुढोसँग केहीकुराको खोजीनिती नगरी विवाह गरेको होला जस्तो कौतुहल्ता भइरह्यो । यदि लोग्नेमानिसको जीवनमा श्रीमती,यति धेरै महत्त्वपूर्ण र अर्थपूर्ण रहन्थ्यो त पहिलो श्रीमती हुँदाहुँदै दोस्रो श्रीमती किन बिहे गरेर ल्याए ? फेरि तेस्रो विवाह किन गर्दैछन ? यस्ता प्रश्नले मेरो मनमा कुरा खेली नै रहयो ।

 पहिलो श्रीमतीसँग सम्बन्ध राम्रो नहुनेको दोस्रोसँग राम्रो हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । फेरी बच्चा नहुनुमा श्रीमतीको मात्र दोष नहुन सक्छ पनि सक्छ । के थाहा त्यही लोग्ने मानिसकै कारणबाट बच्चा नभएको हो की ? फेरी हिजोआज प्रविधिको विकासका कारण जस्तो बच्चा नहुनेको पनि औषधि उपचार पछि बच्चा हुने गरेको छ । तर लोग्ने मानिसहरू, चौथौँ श्रीमती बिहे गरेर ल्याउँदा समेत समाजको पुरै बेवास्ता गर्दै २८ वर्षको दुलाहा जस्तो बनेर विवाहमा सरिक भएको देख्दा लाग्छ समाज आधुनिकतामा रूपान्तरण भएको छ तर सोचमा परिवर्तन हुन अझै बाँकी छ । 

लोग्ने मानिसहरु, चौथौं श्रीमती विहे गरेर ल्याउँदा समेत समाजको पूरै वेवास्ता गर्दै २८ वर्षको दुलाहा जस्तो बनेर विवाहमा सरीक भएको देख्दा लाग्छ समाज आधुनिकतामा रुपान्तरण भएको छ तर सोंचमा परिवर्तन हुन अझै बाँकी छ ।

नेपालीमा एउटा उखान छ ,खुटटा भए जुत्ता हजार । यो चरितार्थ विशेष गरी लोग्ने मानिससँग मेल खाने गर्छ । लोग्ने मानिसले चाहियो भने उसले चाहेको जति बिहे गर्न सक्छन् । जसरी खुटटा भयो भने जुत्ता हामीले भने अनुसारको फेर्न सक्छौँ  ठिक यसै गरी लोग्ने मानिस पनि श्रीमती फेर्न सक्छन् भन्ने आशय हो यो । जति धेरै श्रीमती बिहे गर्न सक्यो उ मर्द कहलिने चलन अझै हट्न सकेको छैन र फुँई लगाएर भन्ने गरिन्छ मर्दले त पाँच वटी सम्म बिहे गर्छन् नि ! 

पहिले पहिले हाम्रो आमाहरूको पालामा, कसले बढी काम गर्न सक्छ, कसले घाँस र दाउराको भारी ठुलो बोक्न सक्छ त्यो हेरेर अभिभावकले छोराछोरीका विवाहको टुङ्गो लगाइदिन्थे रे र बिहे गरिदिन्थे रे । पहिलो श्रीमतीले काम गर्न नसके दोस्रो, दोस्रोबाट पनि घरको काम नसकिने भएपछि फेरि अर्को विवाह गरिदिन्थे रे । घरको काम सहज र सल्टिने आशामा श्रीमतीको सङ्ख्या बढाउने चलन थियो हाम्रो समाजमा । महिलाहरू पनि आफ्नो भाग्यको खेल भन्दै मलाई सौता नै बेहोर्नु रहेछ भनेर सहजै स्विकार्थे वा स्विकार्न बाध्य हुन्थे । 

अहिले ठ्याक्कै यही सोच राखेर विवाह नगरेपनि अधिकांशले आफ्नो जीवन सहज बन्ने आसमा नै दोस्रो, तेस्रो र चौंथो  बिहे गर्छन् । बिहे गर्नुको आशय बुझ्दै जाँदा, श्रीमतीले पकाएर खान दिन्छे, लुगा धोइदिन्छे भन्ने नै हुन्छ । आफ्नै घरपरिवारले छोरालाई भन्ने गर्छ,  के गर्नु बाबु बिहे गर, बिहे गरायो भने तेरो स्याहार गर्छे, लुगा धुन्छे, घर सम्हाल्छे, तलाई सम्हाल्छे, भनेर बिहे गर्न प्रोत्साहन गर्ने गरिन्छ । यसरी हेर्दा हामी के भन्न सक्छौ भने लोग्नेमानिसहरु अझै पनि स्वास्नीलाई भोग्य बस्तुका रूपमा र सहयोगी भूमिकामै देख्न रुचाउँछन् । बिहे गरेर ल्यायो भने आफ्नो दिनचर्या सहज हुने अनि, आफूले गर्न पर्ने सबै काम श्रीमतीले गरिदिने,आफू ढुक्कका साथ बाहिर हिँडडुल गर्न पाउने लोभमै श्रीमतीको सङ्ख्या बढाउने गर्छन् । दोस्रो, तेस्रो, चौंथो विवाह गर्दा लोग्नेमानिसलाई कुनै किसिमको हिचकिचाहट हुने गरेको पाइँदैन । पहिले देखिको चलन आफूले अनुसरण गरेको झैँ गर्छन् ।

केही साता पहिले सञ्चारकर्मी रवि लामिछानेको तेस्रो विवाहले निकै चर्चा पायो । चौथो पटक विवाह गरेका चलचित्र छेत्रका छवि ओझा र नायिका शिल्पा पोखरेलको झैझगडा छताछुल्ल भयो । यसै गरी गत साता पूर्व अर्थमन्त्री भइसकेका ज्ञानेन्द्र कार्कीले विवाह गरेको तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा बटुल्यो । चौंथो पटक विवाह गरेका कार्कीको उमेर ६० वर्षभन्दा बढी बताइएको छ । नेपालीहरूको औसत आयु हेर्ने हो भने पनि ७० वर्षको हाराहारी देखिन्छ । हिजोआज खानपान, स्वास्थ्य उपचार र रहनसहनले गर्दा सहरमा बस्ने नेपालीहरूको औसत आयुमा वृद्धि भएको बताइन्छ । तर मानिस ४० कटेपछि बुढ्यौलीको दिन सुरुवात हुने गर्छ भन्ने पनि गरिन्छ ।   अब कति बाँच्ने हो र भनेर भन्न थाल्छन्  । जे होस् मानिसले ४० कटेपछि २०( ३० वर्षको जस्तो ऊर्जाशील बन्न सक्दैन र स्वास्थ्यले पनि साथ दिँदैन यो भने पक्कै हो ।

हाम्रो समाजमा केटीको उमेर २५ हुँदा र केटाको उमेर ३० वर्षको उमेर हुँदा अधिकांशले विवाह हिजोआज गर्ने गर्छन् ।  आफ्नो करियरमा सजग हुनेहरूले यो उमेरलाई पार गरेर केटीले ३० वर्षको उमेरमा र केटाले ३५ देखि ४० वर्षको उमेरसम्म विवाह गर्छन् । ४० वर्षको उमेर, विवाह गर्नको लागि ढिलो भइसकेको अवस्था हो । २५(३० वर्षको युवामा जति जोस जाँगर हुन्छ त्यति धेरै जोस जाँगर ४० वर्षको युवामा नहुन सक्छ । डाक्टरहरूका अनुसार २० देखि ३० वर्षको युवामा बढी यौन तृष्णा हुने गर्छ । उ हरेक तवरले आफ्नो यौन तृष्णा पूरा गर्न खोज्छ । त्यसैले त पहिले पहिले सानै उमेरमा विवाह गरिदिइसक्ने अनि छोरा जवान हुँदा घरकै श्रीमतीसँग रमाइलो गर्छ भन्ने सोच्ने गरिन्थ्यो । तर अहिले जवान परिवर्तन भइसकेको छ । गर्लफ्रेन्ड ब्वायफ्रेन्ड भएरै लामो समयसम्म बसिरहने भएकाले विवाह गर्न आवश्यक ठान्दैनन् र जीवनको मजा यसैलाई ठान्नेहरूको सङ्ख्या पनि बाक्लिदै गएको छ ।

नेपालको कानुन अनुसार, बहुविवाह गर्न पाइँदैन । यद्यपि कोही कोही पुरुष भने बुढेसकालमा सहारा चाहिन्छ भन्दै श्रीमतीको सङ्ख्या थपिरहन्छन् । कसैले पहिलो श्रीमती बितेर दोस्रो विवाह गर्छन् त कसैको मन नमिलेर त कसैले एकलाई छाड्ने अर्कोसँग विवाह गर्ने । कसैलाई श्रीमती फेर्ने बानी नै परेको हुन्छ । ‘दुइटा जोईको पोइ कुना बसी रोई’ भन्ने नेपाली उखान त छदैंछ तर पनि एउटी राम्री भइन अर्की राम्री हुन्छे की अथवा एउटी सँग बस्न सकिएन अर्कोसँग बिहे गर्दा हुन्छ की भन्ने मनसायले बिहे गर्दा  जीवनमा सुख भन्दा दुख मात्र पाइन्छ । फेरि हाम्रो समाजमा बिहे गर्नु भनेको एक हिसाबले निकै जटिल काम हो । बिहे गरेकी महिलाले लोग्ने मात्र रिझाएर पुग्दैन पुरै घरपरिवारलाई रिझाउनु पर्ने हुन्छ । यस्तो बेलामा सम्झौता मात्र जीवनलाई अगाडि बढाउन सक्ने एक उपाय हुन सक्छ ।  फरक फरक पृष्ठभूमिबाट आएका हुनाले कुरा नमिल्नु, झैझगडा हुनु स्वाभाविक हो ।  

अचम्मको चलन त के छ भन्दा श्रीमान् बित्यो भने श्रीमती आजीवन विधवा भएर बस्छिन् । केही समय पहिलेसम्म विधवा महिलालाई समाजले स्विकार्दैन थियो । हिजोआज निकै कम विधवा महिलाले विवाह गर्ने चलनको सुरुवात गरेका छन् । एकजनासँग घरजम भएकी महिलाले अर्कोसँग सम्बन्ध गाँस्नु भनेको निकै गाह्रो कुरा हो । तर पुरुषहरू, यदि श्रीमती बितिन् भने मरेको एक वर्ष नहुँदै अर्को श्रीमती बिहे गरेर ल्याउने गर्छन्  ।  

जीवन चलाउनका लागि यो हुन्छ की त्यो हुन्छ भन्दै बुढेसकालसम्म श्रीमतीको सङ्ख्या बढाउनु पक्कै पनि राम्रो काम होइन ।  गल्ती, कमी कमजोरी सबैसँग हुन्छन्, हाम्रो जस्तो समाजमा यसलाई पन्छाउँदै, सच्याउँदै जीवनलाई अगाडि बढाउनु नै उपयुक्त हुने हो की ? हैन भने मान्छे हरेक कुराले पूर्ण कहिल्यै हुँदैन ।