केयुमा प्राविधिक शिक्षामा स्नातकोत्तर तह सुरु

केयुमा प्राविधिक शिक्षामा स्नातकोत्तर तह सुरु

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण १, २०७६

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)को स्कुल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (सिटिइभिटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ ।

यो कार्यक्रम दक्षिण एसियामै पहिलो पटक काठमाडौं विश्वविद्यालयले सुरु गरेको हो । देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो । देशका ७० प्रतिशत युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पाउन सके समाज रूपान्तरणका लागि सघाउ पुग्ने सकारको विश्वास छ । 

सरकारले नेपालका सबै ७५३ स्थानीय तहमा प्राविधिक शिक्षालयहरू खोल्ने योजना राखेको छ । देशभर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का झण्डै ६०० आंगिक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्था छन् । सोही सन्दर्भलाई मध्यनजर गर्दै केयुले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको नेतृत्व र अनुसन्धान विकासका लागि आवश्यक जनशक्ति तयार गर्न यो कार्यक्रम सुरु गरेको हो । ‘सरकारले ‘एक गाउँ एक प्राविधिक शिक्षालय’ को अवधारणा ल्याउना साथ यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाएका हौं,’ स्कुल अफ एजुकेसनका डिन तथा प्राध्यापक डा. महेशनाथ पराजुलीले भन्नुभयो, ‘तर, यो कार्यक्रमको पूर्वतयारी अगाडिबाटै भएको थियो ।’ उहाँका अनुसार सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम अघि बढाएपछि विश्वविद्यालयले पनि आफ्नो दायित्वका रूपमा यो कार्यक्रम सुरु गरेको हो । 

नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि आवश्यक नेतृत्वदायी क्षमता भएका जनशक्ति तयार गर्न केयुको यो कार्यक्रम कोसेढुंगा सावित हुने प्राध्यापक डा. टंकनाथ शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ शैक्षिक कार्यक्रम भएकाले यो विषय अध्ययन गर्नेहरूले छिट्टै रोजगारीको अवसर पाउने अवस्था रहेको छ ।’ 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विज्ञ डा. उषा भण्डारीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा स्नातकोत्तर तहको कार्यक्रमले यस क्षेत्रका लागि आवश्यक योजनाकार, व्यवस्थापक तथा अन्य विशेषज्ञ तयार गर्छ । उहाँले भन्नुभयो, ‘पढ्ने मात्र नभई गरिखान सिकाउने शिक्षाको विषयलाई सम्बोधन गर्न छुट्टै शैक्षिक कार्यक्रम आवश्यक थियो, जुन केयूले ल्याएको छ ।’