सवारी दुर्घटना : एक वर्षमा १४६ को मृत्यु

सवारी दुर्घटना : एक वर्षमा १४६ को मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७६

चितवन । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । 

अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन । गत आवमा भएका दुर्घटनामा ४५३ सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ५५८ घाइते भएका छन् । 

जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ । गत वर्ष २०५ मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै ८० ट्रक तथा ट्यांकर, ५३ बस, ५२ जिप÷कार दुर्घटनामा परेको कार्यालयको तथ्यांकले देखाएको छ । यस्तै कार्यालयले गत आवमा ४० हजार २९ सवारी कारवाही गरी ३ करोड ७ लाख ६६ हजार ५ सय रूपैयाँ राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४५ हजार १५० सवारीसाधनलाई कारवाही गरी ३ करोड ३६ लाख ८७ हजार ५ सय रूपैयाँ राजश्व संकलन गरेको थियो । 

जनचेतनाका कारण कारवाही घट्दै गए पनि दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख गिरीले बताउनुभयो । हलुका सवारीसाधनको तीव्रगतिका कारण दुर्घटना बढी हुने गरेको उहाँले जानकारी दिनुभयो । बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा बढी सङ्ख्यामा दुर्घटना भएको उहाँले बताउनुभएको खबर राससमा छ ।