पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्ग अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७६

पाँचथर । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ ।

फाल्गुनन्द गाउँपालिका–३ को पाँगे्रभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख जनक तिम्सिनाले बताउनुभयो । 

सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने काम भइरहेको र पहिरो पन्छाउन आज दिनभर लाग्ने उहाँको भनाइ छ । 

यो राजमार्गबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रमा सवारी सञ्चालन हुने गर्छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका तिम्सिनाको भनाइ रहेको खबर राससमा छ ।