ईश्वर–भक्ति सबैभन्दा ठूलो तप

ईश्वर–भक्ति सबैभन्दा ठूलो तप

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  श्रावण २, २०७६

समस्त प्र्राणी जनत्मा मनुष्य मात्र यस्तो जीव हो । जसमा बुद्धि र चेतनशीलता दुवै हुन्छन् । ऊ महत्वकांक्षी हुन्छ यस संसारमा अमर ज्ञानी र सुखी बनेर स्वतन्त्रतापूर्वक बाँच्न चाहन्छ । परन्तु जन्मेपछि मृत्यु पनि हुन्छ भन्ने कुरा सोच्नतिर लाग्दैन । किनकि ऊ आफना मनमा भावनाले बाँधिएको हुन्छ । तिनकै इसारामा उसले आफ्ना कामकाज गर्नुपर्छ, त्यसैले ऊ स्वतन्त्र रहन चाहेर पनि हुन सक्दैन । उसलाई अधीनमा लिएर काम गराउने उसका मुख्य सत्रु भनेका रिस, राग, द्धेष, इष्र्या अज्ञानता हुन् । यिनीहरूकै कारण ऊ परमात्माको आश्रयबाट छुटेर भौतिका संसारको आश्रय लिन पुग्छ । जबसम्म उसले अहंकार जनित आफ्ना यी भावनालाई नियन्त्रणमा लिन सक्दैन । तबसम्म ऊ यिनीहरूको आधिपत्य स्वीकार गरेर काम गर्न बाध्य हुन्छ । यिनीहरूले उसको स्वभावगत मनोदशालाई कुण्ठित पारिदिन्छन्  र कुमार्गतिर दाग्न प्रेरित गर्छन् । यिनीहरूलाई नियन्त्रणमा लिन सक्ने सबैभन्दा ठूलो शक्ति हो मानस तप । यसले उसलाई कुकर्म गर्नबाट जोगाउँछ । गीतामा भनिएको छ । 

मानव मनोदशाहरू उसका पूर्वजन्मका आदत हुन् । यिनीहरूले मूर्तरुप लिएर यस जन्ममा मानिसलाई दुःखी, क्रोधी, हिंस्रक, चिडचिडे स्वभावको बनाइदिन्छन् । यी जन्म जन्मान्तरका चित्तका रहेका वासना तथा क्लेशहरूबाट मुक्ति पाउन तप पर्नुपर्छ

मनः प्रसाद सौम्यत्वं मौन मात्मविनिग्रहः।
भाव संशुद्धि रित्येतत् तपो मानस मुच्यते ।।

अर्थात् प्रतिकूल परिस्थितिमा पनि प्रशन्न रहनु, आफूमाथि परिस्थितिको प्रभाव पर्न नदिनु, अरुको प्रतिकूल कुरा सुनेर पनि शान्त रहन मनलाई आफ्नो नियन्त्रणमा लिनु, मनको क्षिप्त–विक्षिप्त अवस्थालाई त्याग गर्नु र आफ्नो मनको कसैको पनि अहित भाव नचिताउनु मानस तप हो । तपले मानिसको आत्मा पवित्र हुन्छ र उसले आत्मभित्र ईश्वर विद्यमान छ भन्ने ज्ञान पाउँछ । यदि उसले आफ्नो आत्माभित्रको ईश्वरको अस्तित्वलाई स्वीकार नगरी काम गर्छ भने उसबाट ठूलो भुल हुन जानेछ । ईश्वरको सर्वव्यापकताबाट वेदले भनेको छ । 

इशावस्यमिदं सवं यत्किञ्च जगत्या जगत्

अर्थात् यस संसारमा जति पनि चल–अचल पदार्थ छन्, ती सबैका ईश्वर विद्यमान हुनुहुन्छ । यो जगत् र जीव परमात्माअन्तर्गत छ, त्यसैले संसार र जीव समुदायको स्वतन्त्र अस्तित्व छैन । प्राणी जगत्को सृष्टि र विकास कसरी भयो भन्ने कुरालाई गहिरिएर हेर्‍यौं भने वा अत्यन्त जटिल प्रश्न हुनेछ । मानव बुद्धिले सृष्टिको मूल कारणलाई ठम्याउन सक्दैन । हाम्रो यो नाशवान्, मस्तिष्कले जीवनको शाश्वत शृंखलाको एक अंश मात्र देख्न सक्छ । समस्त सृष्टिको आदि र अन्त्य अनन्तमा लुकेको छ । सृष्टिको यो विराट दृश्यमा अगोचर अनन्त सीमितमा गोचर हुन्छ, जसले यसलाई देख्न सक्छ । उसले प्रत्येक सीमित वस्तुमा असीमित ईश्वरको दर्शन पाउँछ । यो शाश्वत् सत्यलाई जान्ने ज्ञानीहरूका लागि असल–खराब, प्रकाश–अन्धकार, सज्जन–दुर्जन यी सबैभित्र आवरण लुकेको एउटा मात्र मूल तत्व ईश्वरलाई देख्छन् । ईश्वरका दुई रूप छन् । साकार र निराकार ईश्वरको निराकार रूपको आराधनाभन्दा साकार रूपको आराधना बढी सरल हुन्छ । किनकि मानव मनले निराकार अत्यन्त ईश्वरको कल्पना नै गर्न सक्दैन । जसले ईश्वरको निराकार रूपलाई लिएर भक्ति गर्छन् । तिनीहरूले असीमित निराकार भगवान्लाई सीमित साकार रूपमा देख्न सक्छन् । जब ईश्वर सीमित साकार रूपमा प्रकट हुन्छन् उसको सम्पूर्ण असीमित त्यस सीमितताभित्र पनि स्पन्दित हुन्छ । भक्तका अनेक रूप हुन्छन् । कसैले आफूलाई सेवकको रूपमा, कसैले मित्रको रूपमा, कसैले पुत्रको रूपमा, कसैले शिष्यको रूपमा प्रस्तुत गरेका छन् । भक्ति गर्नु ईश्वरसँगको तादात्म्य सम्बन्ध स्थापित गर्नु हो । जबसम्म भक्तले आफूलाई यी रूपहरूमा प्र्रस्तुत गर्छ तबसम्म उसले आफूलाई ईश्वरदेखि अलग ठानेको हुन्छ । परन्तु जब ऊ ईश्वर भक्तिमा पूर्णता लीन हुन्छ त्यस अवस्थामा उसले आफूलाई नै बिर्सिदिन्छ । ईश्वरबाट अलग अस्तित्व ठान्दैन र ईश्वरसँग एकाकार भइदिन्छ । यस्तो अवस्थाको वर्णन भगवान् व्यासले भागवतमा गोपिनीको उदाहरण दिएर गर्नुभएको छ । 

जहुर्गुणमय देहं सद्यः प्रक्षीण बन्धनाः । 

अर्थात् गोपिनीहरूले गुणसँगरहित भएर आफ्नो शरीरलाई त्यहीँ छोडी भगवान् श्रीकृष्णसँग गएर भिजेका थिए । अभिमानग्रस्त मानिसले ईश्वर ऊसँग पनि छ भन्ने कुरा चाल पाउँदैन, त्यसैले ऊ स्वार्थपूर्ण व्यभिचार गर्न डर मान्दैन, परन्तु भक्तले ईश्वरलाई आफनो हृदयमा देखिरहेको हुन्छ, ऊ अहंभावरहित हुन्छ, उसको अन्तःकरण पवित्र छ, त्यसैले ऊ मायाजनित दोषबाट मक्त हुन्छ । मानिसको विचार–शक्ति अत्यन्त प्रवल हुन्छ । कुनै पनि विचारलाई बारम्बार दोहोर्‍याइरह्यो भने त्यो उसको आदत बन्छ । मानव मनोदशाहरू उसका पूर्वजन्मका आदत हुन् । यिनीहरूले मूर्तरुप लिएर यस जन्ममा मानिसलाई दुःखी, क्रोधी, हिंस्रक, चिडचिडे स्वभावको बनाइदिन्छन् । यी जन्म जन्मान्तरका चित्तका रहेका वासना तथा क्लेशहरूबाट मुक्ति पाउन तप पर्नुपर्छ । चित्तमा उत्पन्न हुने लाभ–हानी, मान–अपमान आदि उद्धेगलाई सहन गर्दै तिनीहरूबाट सुखी वा दुःखी नहुनु नै तप हो । मानव मनोदशाले आत्मालाई सम्मोहित गर्छ र त्यसका साथै व्यक्तिको पतन पनि सुरु हुन्छ । क्रोध तथा लोभको मनोदशा अत्यन्त कष्टकर बन्धन हो । यसले पहिले आफैलाई हानी पुर्‍याउँछ । अनि अरुलाई कष्ट दिन्छ । त्यसकारण पतनबाट बच्न मनोदशामाथि विजय प्राप्त गर्न अत्यावश्यक हुन्छ । यसका लागि सरल उपाय हो– आध्यात्मिक चिन्तन वा ईश्वरको भक्ति । ईश्वरको भक्तिबाट प्राप्त हुने आनन्द परमानन्द हो । आफ्नो मन र मस्तिष्करूपी द्वारहरूबाट वासना तथा मनोदशाको सट्टा ईश्वरलाई हृदयमा प्रवेश गराऔं । यसैमा सबैको कल्याण निश्चित छ ।