बाढी–पहिरोको क्षतिः ‘खोला बस्तीमा पस्यो कि बस्ती खोलामा?’
श्रावण २, २०७६

केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट ९० जनाको ज्यान गइसकेको छ भने २९ जना बेपत्ता भएका आंकड सरकारले सार्वजनिक गरेको छ । यस्तै, ४१ जनाभन्दा बढी घाइते भएका र जसमध्ये ११ जना अझै उपचाररत रहेको गृह मन्त्रालयले जानकारी दिएको छ । 

अघिल्लो वर्षमा बाढी–पहिरोमा ज्यान गुमाउनेको तथ्यांक भने निकै बढी देखिन्छ । एक तथ्यांक अनुसार अघिल्लो वर्ष बाढी–पहिरोको कारण २५८ जनाले ज्यान गुमाएको सरकारी आंकडा रहेको छ । यद्यपी यसपटकको मनसुनको सक्रियता कायम रहने समय भने अझै बाँकी नै रहेको छ । हालसम्मको अवस्था हेर्दा भने विगतको भन्दा न्यून क्षेती भएको देखिन्छ ।  

सन् १९७१ इताको तथ्यंक हेर्ने हो भने बाढी–पहिरोका कारण झण्डै १० हजार मानिसले ज्यान गुमाइसकेका छन् । 

यो तथ्यांकले नेपाल बाढी–पहिरोबाट कति जोखिमपूर्ण रहेको छ तथ्य स्पष्ट देखाउँछ । 

एक तथ्यांकका अनुसार बाढी–पहिरोको जोखिमको हिसाबले विश्वमा नेपाल ३० औं स्थानमा रहेको छ ।  नेपालमा बाढी–पहिरोबाट हुने क्षति निकै बढी रहँदै आएको छ । बाढी–पहिरोबाट हुने क्षति सबै विपद्को भन्दा झण्डै आधाजति रहेको छ । त्यसकारण बाढी–पहिरोलाई नेपालको प्रमुख विपद् भन्दा अन्यथा नमाने हुन्छ । 

यसरी निम्तिन्छ बाढी–पहिरो

बाढी–पहिरो निम्तनुमा प्राकृतिक कारणभन्दा बढी मानवीय कारण देखिने गरेका छन् । प्राकृतिक कारणमा भने, कमजोर भौगर्भिक अवस्था, विषम भू–बनोट, मौसमी विषमता, नदीको प्रकृतिलगायत छन् । यस्तै, नदी तथा खोला अतिक्रमण, वन फँडानी, नदीजन्य पदार्थको अप्राकृतिक दोहन, जथाभावी विना योजना सडक खनिनुलगायत मानवीय क्रियाकलापले पनि बाढी–पहिरो निम्त्याइरहेको छन् । यसरी हेर्दा मानवीय क्रियाकलाप नै बढी जिम्मेवार रहेको जानकारहरुले दावी गर्दै आएका छन् । 

त्यसकारण बाढी–पहिरोबाट घनजनको क्षति रोक्नका लागि प्रकृतिमाथिको मानवीय अतिक्रमणलाई  रोक लगाउन सक्यो भने पनि बाढी–पहिरोको जोखिमलाई केही हद्सम्म न्यूनिकरण गर्न सकिन्छ ।  
यससँगै प्रकृतिमाथिको मानवीय अतिक्रमण बाहेक बाढी–पहिरोको जोखिम घटाउने अन्य उपायहरु अबलम्बन गर्न सकिन्छ । 

मुख्यगरी खोला तथा नदी आसपास र भिरालो क्षेत्रमा पहिरो जाने जोखिम बढी हुन्छ । यसका अलावा बाढी–पहिरोका अन्य सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान गरी सरकारी तथा निजी क्षेत्रबाट यी क्षेत्रकोे अध्ययन गर्नु आवश्यक छ । यस्तो जोखिम क्षेत्रको पहिचान गरि उक्त क्षेत्रमा बस्ती बस्न नदिने, पहिले नै बस्ती बसीसकेको भए अनेत्र सारेर समस्याको समाधानका उपाय खोजिनुपर्छ । 

मानवीय क्रियाकलापले खोला थुनिने र पहाडमा पहिरो जाने गरेको तथ्यहरु पाइएको छ । यसबाट बच्न खोला–नदी र पहाडमा वृक्षारोपण र खोलालाई प्रयाप्त बगर छुट्याई निजी र सार्वजनिक संरचना निर्माण अनुमति दिने व्यावस्था गर्न सकियो भने अहिले जस्तो बस्तीमा पानी पस्ने समस्याको समाना गर्नु नपर्ने हुन्छ । 

जनघनत्व र भौतिक संरचना निर्माण धमाधम बढ्दा जमिनले पानी सोस्ने अनुपात समेत घटिरहेको अवस्थामा अधिक बर्षा हुँदा खोलामा बग्ने पानीको मात्रा बढ्ने गरेको  छ । यस्तो अवस्थामा खोलाको आकार बढ्नुपर्नेमा मानविय अतिक्रमणले उल्टै ‘कुलो’ मा परिणत भइरहेको छ  । स्मरण रहोस खोला(नदी)मा बगर हुने गर्छ कुलोमा बगर ह्ँदैन । अधिकांश सहरका खोलाहरु बिस्तारै ‘कुलो’मा परिणत भएको कारण हरेक वर्ष बस्तीमा खोला पसेको समाचार बन्नु पर्ने नियती बनि रहेको छ । स्वभाविक रुपमा प्रश्न उठ्छ ‘खोला बस्तीमा पस्यो कि बस्ती खोलामा?’ काठमाडौको कलंकी र भक्तपुरको नियतिलाई यसैसँग जोडेर हेर्नुपर्ने छ । 

त्यसकारण जोखिमको पहिचान गरी खोलामा बगर सहितको तटबन्ध निर्माण गर्ने, खोला सफाइ गर्ने, बस्ती स्थानान्तरण गर्ने लगायतका उपाय अपनाउन सकिन्छ । सम्भावित जोखिमबारे थाहा पाउन पूर्व सूचना प्रणालीको स्थापना र व्यवस्थापन गर्न सकिन्छ । तर, यसतर्फ सरकारले चासो दिएको पाइँदैन । यसप्रति सरकारले किन बेवास्ता गरिरहेको छ, बुझ्न सकिएको छैन । 

तर, अब सरकारले बाढी–पहिरोको क्षति न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न आवश्यक भइसकेको छ । 

यी हुन सक्छन् दीर्घकालीन समाधान 

प्राकृतिक स्रोतमाथि हुने अनियन्त्रित दोहन रोक्नु तथा खोलाको अतिक्रमण हटाउनु र रोक्नु नै बाढी र डुवानको दीर्घकालीन समाधान हो । यस्तै, वृक्षारोपण गर्ने, जथाभावी डोजर नचलाउने लगायत पहिरोको दीर्घकालीन समाधान हो । तसर्थ, यी काम नगरेसम्म बाढी–पहिरो निरन्तर निम्तिरहनेछ । बेलैमा सचेत नहुने हो भने बाढी पहिरोले अझै भयंकर प्रलय निम्त्याउन सक्छ । वृक्षारोपण गरौं, भू–स्खलन रोकौं, नदीका प्राकृतिक साँध सीमालाई यथावत कायम राखौं यसले मानवमात्रको नभई प्रकृतिको समेत भलाई तथा स्वच्छता कायम गर्न मद्दत पुग्छ ।