दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान

दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ३, २०७६

चितवन । इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई एक लाख रूपैयाँ अनुदान वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही एक लाख रूपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । 

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले बिहीबार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठलाई जनही एक लाखका रूपैयाँका दरले अनुदान हस्तान्तरण गरेको छ । 

गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० जनालाई जनही २५ हजार, ब्याड बोकाका लागि २० जनालाई जनही ४० हजार र बंगुरपालनतर्फ दुई किसानलाई पनि जनही २५ हजार रूपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुसी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएको खबर राससमा छ ।