६ महिनामा ५४ एचआइभी संक्रमित

६ महिनामा ५४ एचआइभी संक्रमित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण ३, २०७६

चितवन । सन् २०१९ को ६ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी संक्रमित भेटिएका छन् ।

जिल्लाको विभिन्न स्थानमा गरिएको ७ हजार ८ सय १ जनाको रगत परीक्षणका क्रममा नयाँ संक्रमित भेटिएका हुन् । 

योसँगै जिल्लामा अहिले १ हजार ७ सय ६४ संक्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरूमध्ये ८ सय ८९ ले नियमित औषधि सेवन गरिरहेका छन् । अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ संक्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन् । 

सन् २०१८ को अन्त्यमा जिल्लामा १ हजार ६ सय ८५ संक्रमित थिए । सन् २०१८ मा १७ हजार १ सय १० को परीक्षण गरिएकामा १ सय ११ नयाँ संक्रमित भेटिएका थिए । अस्पतालमा आउने संक्रमितलाई अहिले अस्पतालमै रहेको एएचएफ नेपालले सहयोग गर्दै आएको छ । 

केन्द्रका स्रोतव्यक्ति डा. युवानिधि वस्यैलाले खुलेर आउनेको संख्या कम रहेको बताउनुभयो । जिल्लामा रहेका सबै केन्द्रबाट औषधि नलिने गरेका कारण उनीहरूमा आएको सुधारको विषयमा जानकारी लिन कठिन हुने गरेको उहाँको भनाइ छ । विशेषगरी भरतपुर अस्पतालमा आएर औषधि लिनेहरू बाहिरी जिल्लाको बढी रहेको उहाँले बताउनुभयो । मकवानपुर, नवलपरासी धादिङ लगायतका जिल्लामा रहेका संक्रमित चितवन आएर औषधि लाने गरेको र उनीहरूलाई एकदेखि दुई महिनाका लागि औषधि पठाउने गरेको डा. वस्यौलाले बताउनुभएको खबर राससमा उल्लेख छ ।