बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कारवाही गर्न नेपाल लोकतान्त्रिक पार्टीको माग

बुद्धको मूर्ति तोडफोड  गर्नेलाई कडा कारवाही गर्न नेपाल लोकतान्त्रिक पार्टीको माग

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७६

काठमाडाै‌ं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका अनुर्तगत सिद्धार्थ राजमार्ग सडकको बीचमा स्थापन गरिएको गौतम बुद्धको मूर्ति तोडफोड भएकाप्रति नेपाल लोकतान्त्रिक पार्टीले आफ्नो ध्यानाकर्षण भएको भन्दै आज एक प्रेस विज्ञप्ति जारी गरेकाे छ ।

विज्ञप्तिमा भनिएको छ, नेपाललाई विश्व सामु चिनाउने शान्तिका अग्रदूत भगवान गौतम बुद्धको मूर्ति तोडफोड गरी समाजमा कायम रहेको धार्मिक, साँस्कृतिक सहिष्णुतामा आँच आउने र अशान्ति फैलाउने गरी देशमा धर्मको नाममा साम्प्रदायीक हिंसा फैलाउन नियोजित र संगठित रुपमा घटना गराइएको ठहर गर्दै पार्टीले यस निन्दनीय कार्यप्रति घोर आपत्ति प्रकट गरेको छ । 

विज्ञप्तिमा पार्र्टीले, लुम्बिनी भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले स्थापना गरेको बुद्धको मूर्ति तोडफोड हुनु भनेको विकास विराधी गविधिका साथै हाम्रो धर्म, संस्कृति र मूल्य मान्यताको ठूलो अपमान भएको पार्टीको ठहर छ । 

साथै पार्टीले जारी गरेको विज्ञप्तिमा, यो घटना सिंगो राष्ट्रका लागि अशुभ र लज्जास्पद घटनाको रुपमा आम नेपाली जनताले महशुश गरिरहेको बेला झन सरकारका तर्फबाट संयमता अपनाउनु पर्नेमा नेपाल सरकारका प्रवक्ताको अभिव्यक्ति झन उक्साहट हुने किसिमले समाचारमा आएको देख्दा हामीलाई झन स्तब्ध र आश्चर्य चकित बनाएको छ, विज्ञप्तिमा भनिएको छ । 

साथै यस्ता घटनाको विषयमा सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाही गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।