पेशाको आडमा तस्करी !

ग्रीसबाट छुटेका तस्कर इयान कहाँ छन् ?

पेशाको आडमा तस्करी !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १५, २०७५

काठमाठौ । वन्यजन्तुका अंग र विभिन्न प्रतिवन्धित सामाग्रीसहित ११ बर्ष अघि एकजना नेपाली नागरिक राजेश महर्जन पक्राउ परेका थिए । उनीसँग ठुलो परिमाणमा बाघ, भालु तथा अन्य वन्यजन्तुका छाला, हड्डी, सिंङ बरामद भएको थियो । नेशनल जियोग्राफी च्यानलमा कार्यरत एक जना पत्रकार इयान बेकरले महर्जनलाई प्रयोग गरी ती सबै सामाग्री संकलन गरेको तथ्य त्यसैवेला सार्वजनिक भएको थियो । नेपालका गाउँ गाउँबाट वन्यजन्तु अवशेष सम्बन्धी सामाग्री खरिद गरी काठामाडौको नक्सालस्थित एक घरमा संकलन गरिएको थियो । अपरिचित व्यक्तिले दिएको  सूचनाको आधारमा नेपाल प्रहरीको अपराध महाशाखाले यो विषयलाई अनुसन्धानको दायरामा ल्याउन सफल्ता पाएको  थियो । 

तत्कालिन अपराध महाशाखाका प्रमुख थिए उपेन्द्रकान्त अर्याल । उनका सहयोगीहरु थिए, तत्कालिन एआइजी देवेन्द्र सुवेदी र हाल डिआइजी रहेका शेरबहादुर बस्नेत । तीनै जना उच्च अधिकारीको समूहले  यस विषयमा अनुसन्धान गर्दै जाँदा इयान बेकर  यस अपराधको मूख्य व्यक्ति भएको निश्कर्ष आएको थियो । तर अनुसन्धान टोलीको निश्कर्ष आउँदा सम्म पहिचान गरिएका मुख्य अपराधी नेपाल छाडेर अमेरिका पुगिसकेका थिए । तर नेपाल प्रहरीको यति सम्मको अपराध अनुसन्धान भए पश्चात पनि इयान बेकर नेपाल तथा भारतको अरुणाचल र भूटान एवं इण्डोनेसिया लगायतका देश घुम्दै रहे । पछिल्लो समय उनी ग्रीस पुगे  र त्यहाँ  गिरफ्तार समेत भए । 

२०७४ मा इयान ग्रीसमा पक्राउ परे तर लगत्तै हिरासतमुक्त भए । वन्यजन्तुका कुख्यात तस्कर इयान बेकर पक्राउ परेपछि नेपाल सरकार तथा प्रहरी प्रधान कार्यालयले खुशी त व्यक्त गर्यो तर अपराधीलाई नेपाल ल्याउन सक्ने अवस्था भने हुन सकेन । ग्रीसको राजधानी एथेन्समा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको भएपनि कानुनी समस्याका कारण उनलाई नेपाल ल्याउन कठिनाई भएको थियो । ग्रीससँग नेपालको सुपुर्दगी सन्धी नभएका कारण उनलाई नेपाल ल्याउन सम्भव भएन । अन्ततः पर्याप्त प्रमाण नपुगेका कारण उनी ग्रीस छाड्न नपाउने गरी हिरासतमुक्त भए, तर उनी केही दिन भित्रै ग्रीसबाट हराए । उनी हराएको विषयमा ग्रीस सरकारले उनको खोजी गरेपनि सामान्य तारिखमा रिहा भएकाले त्यति महत्व दिएन । हाल उनी कहाँ छन भन्ने विषयमा न त नेपाल सरकारलाई थाहा छ न त ग्रीस सरकारलाई नै थाहा छ ? 

इन्टरपोलले उनको रेडकर्नर नोटिस सस्पेन्समा राखेका कारण पनि उनले आफू निर्दोष भएको दावी गरेको त्यहाँबाट प्रकाशित हुने अनलाइन संस्करणले लेखे  । ग्रीसमा उनी पक्राउ परेपछि नेपाल प्रहरीको प्रधानकार्यालयले ग्रीस प्रहरीलाई नेपालमा रहेको उनको मुद्दाको विवरण पनि पठायो । सो विवरण उपलब्ध भएपछि पनि त्यहाँका कानुन व्यवसायीले नेपालको पुरानो कानुन अनुसार मुद्दा चलाइएको र हाल नयाँ संविधान लागु भएपछि पक्राउ गर्नुपर्ने आधार नभएको भन्दै वेकरको बचाउ गरेका थिए । 

इन्टरपोल मूख्यालयले दुई बर्षसम्म  उनी विरुद्धको रेडकर्नर नोटिसलाई नेपालले गरेको अनुसन्धानमाथि प्रश्न उठाउदै सस्पेन्समा राखेको थियो । उनले आफूले वन्यजन्तुका कुनैपनि अंगहरु तस्करी नगरेको जनाउदै २४ अगष्ट २०१६ मा इन्टरपोल मुख्यालयमा दिएको पुर्नविचार सम्बन्धी निवेदनलाई सुनुवाइ गर्दै इन्टरपोलले नेपाल प्रहरीलाई पुनः अनुसन्धान गर्न समेत भनेको थियो । इन्टरपोल मूख्यालयले आफ्नोे वेभसाइटबाट उनको तस्वीर र मुद्दाको विवरण हटाए पनि नेपाल प्रहरीले भने यो मुद्दा आफ्नो वेभ साइटमा राखिरहेको छ । नेपाल प्रहरीले इयानलाई पक्राउ गर्न अन्र्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरनसेनल पुलिस कर्पोरेसन) इन्टरपोललाई नोटिस दिइसकेको मात्र होइन पटक–पटक अनुरोध पनि गरेको थियो । तर उनी आफ्नो विरुद्धको  रेड कर्नर नोटिस नै सस्पेन्स गराउन सफल भए । उनको यो सफलतासँगै अपराधबाट उन्मुक्ति पाउने अवस्था पनि आएको छ ।  

पत्रकारिताकै आडमा २४ बर्ष नेपालमा 

वन्यजन्तु तथा वातावरणको क्षेत्रमा जसले २४ वर्ष नेपालमा बिताए । इयान तिनै व्यक्ति हुन् जसलाई नेपाल प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको थियो । इन्टरपोलबाट समेत रेडकर्नर नोटिस जारी गरिएका उनी नेपालकै सीमा र विदेशी भूमिमा निर्वाध घुमिरहेको भएपनि पक्राउ परेनन । दुई वर्षअघि उनले भारतको अरुणाचल प्रदेश र तिब्बतको मानसरोवरसम्म यात्रा गरेको सामाजिक सञ्जाल फेसबुकले देखाउँछ । यसै आधारमा उनी  नेपाल घुमिरहेको प्रमाणित हुन्छ । 

नेपाल प्रहरीले २०६५ जेठ ९ गते उनको घरमा छापा मारेर वन्यजन्तु र पुरातात्विक गरी एक सय २२ थान अवैध सामाग्री बरामद गरेको थियो । ती सामान बरामद हुँदा भने उनी भागिसकेका थिए । बरामद भएका सामाग्रीमा बाघ, हिउँचितुवा, चितुवा, हाबे्र, झारल, घोरल, विभिन्न प्रजातिका चित्तल, स्यालका छाला, हड्डी, नङग्रा र खप्पर थिए । सय वर्ष पुराना टुँडाल, भैरव र विष्णुको मुर्ति, दराज, तोरण, खलु, झ्याल, गजुर, कारने, लामोखलु पनि बरामद भएका थिए । जुन अहिलेसम्म एकै व्यक्तिबाट बरामद भएको सबैभन्दा ठूलो परिमाण हो । प्रहरी प्रधानकार्यालय नजिकै रहेको एक घरमा उनले ती समान संकलन गरेर राखेका   थिए । अमेरिकी नागरिक इयान बेकर आफ्ना दुई जना नेपाली सहयोगी राजेश महर्जन र निर्मला रानामगरसँग नक्सालको एउटा भव्य घरमा बस्थे । सहयोगी महर्जनले बालुवाटारस्थित घरमा अवैध वस्तु राखेको सूचना दिएकै आधारमा प्रहरीले अपरेसन सुरु गरेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाले उनी बसेको नक्साल, सम–मार्ग घर नम्बर ८०७ मा छापा मार्दा उनी फरार भइसकेका थिए । भव्य महलको माथिल्लो तलामा अमेरिकी नागरिक इयान बेकर दुर्लभ वन्यजन्तुका अंग तथा सयौं वर्ष पुराना पुरातात्विक सामग्री राखेर चितुवाको छालाले बनेको ओछयानमा सुत्थे, त्यो पनि चितुवाको छालाले बनेको  सिरानीसहित । सोफामा चितुवाकै छालाबाट बनेका चकटी थिए । बैठक कोठामा त भण्डारै थियो, सिङदेखि नङग्रा र हड्डीदेखि खप्परसम्म । घरका लुगाफाटो पनि जम्मै वन्यजन्तुकै अंगबाट बनेका थिए । बाघ वा चितुवाको छालाले बनेका ओभरकोट, ज्याकेट, टोपी, कम्मरपेटी, ब्ल्याङ्केट, बाकस, दाप, मालासमेत प्रहरीले फेला पारेको थियो । बेकरले यस्तै सानसौकतका साथ प्रहरी–प्रशासनको उच्च ओहोदाका पदाधिकारी रिझाएर झन्डै २४ वर्ष नेपालमा बिताए ।

सहयोगी महर्जन 

बेकरले वर्षौंदेखि वन्यजन्तुका आखेटजन्य सामाग्री  र पुरातात्विक वस्तु थुपारेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र प्राचीन स्मारक संरक्षण ऐन अनुसार अपराध गरिरहेका छन् भन्ने सुइँको राजेश महर्जनलाई पक्राउ गरेपछि मात्रै पत्ता लागेको थियो । प्रहरीले यिनै ऐन प्रयोग गर्दै २०६५ जेठ ९ गते उनको घरमा छापा मारेर ती सम्पूर्ण सामान नियन्त्रणमा लियो,तर बेकर भने उम्किन सफल भए । त्यतिबेला हनुमानढोकास्थित प्रहरी महाशाखाको अनुसन्धान टोलीले नक्साल र बालुवाटारस्थित अर्को घरबाट वन्यजन्तु र पुरातात्विक गरी एक सय २२ थान अवैध सामाग्री बरामद गरेको थियो । उनको मुद्दा जिल्ला वन कार्यालय, काठमाडौंमा दर्ता छ । नेपाल प्रहरी र इन्टरपोलले ‘अवैध वन्यजन्तुका अंग’ संग्रह गरेको अभियोगमा उनको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो । तत्कालिन डीएसपी शेरबहादुर बस्नेत नेतृत्वको टोलीले २३ वर्षीय महर्जनलाई २०६५ जेठ ४ गते बालुवाटारबाट पक्राउ गरेपछि उनीसँग वन्यजन्तु  र पुरातात्विक गरी ६५ थान अवैध वस्तु फेला पा¥यो । महजर्नले ती वस्तु बेकरका लागि संकलन गरेको र मुख्य व्यक्ति उनै भएको बयान दिए । बेकर बसेको नक्सालस्थित घरको पहिलो तलामा छापा मारिएको थियो । बेकर फरार भए पनि उनले आफना सहयोगी महर्जनलाई छुटाउने निकै कोसिस गरेका थिए । अनुसन्धानमा संलग्न रहेका एक प्रहरी अधिकृतका अनुसार उनले न्युयोर्कबाटै अर्का सहयोगी मार्फत प्रहरीको माथिल्लो तहमा सम्पर्क गरी ‘बरामद सबै वस्तु आफैंले संकलन गरेको’ स्वीकार गरेका थिए ।
वन्यजन्तु ऐनले घरमा वन्यजन्तु पाल्न, ओसारपसार गर्न र घरमा पुरातात्विक वस्तु राख्न निषेध गरेको छ । प्रहरीले यही ऐनलाई प्रयोग गरेर उनको घरमा भएको सामान बरामद गरेको थियो भने उनको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो । उनका विरुद्ध नेपाल प्रहरीले सेप्टेम्बर २००८ मा रेडकर्नर नोटिस जारी गरेको थियो ।  

भूटान तिब्बत मूख्य थलो 

उनले तिब्बतबारे सात वटा पुस्तक समेत लेखेका छन् । ‘नेसनल जियोग्राफी च्यानलसँग आबद्ध बेकर थाइल्यान्डबाट ‘रेअरजर्नी डटकम’ नामक वेबसाइट चलाइरहेका छन । उनले आफनो व्यक्तिगत प्रोफाइलमा रेअरजर्नीको डाइरेक्टरका रुपमा आफूलाई प्रस्तुत गरेका छन । उनी आफै सांस्कृतिक, पर्यटन तथा अध्यात्म क्षेत्रमा काम गरिरहेको वेबसाइटमै उल्लेख गरिएको छ । पछिल्ला केही वर्ष भारतको अरुणाचल प्रदेशमा विताएका उनी भूटानका अग्ला पहाडमा समेत उनी घुमिफिर गरिरहेको विभिन्न सञ्जालहरुमा देखिन्छ ।