चन्द्र विजयको स्वर्ण जयन्तीः अपोलो अभियान मानव इतिहासको सर्वोच्च छलाङ

चन्द्र विजयको स्वर्ण जयन्तीः अपोलो अभियान मानव इतिहासको सर्वोच्च छलाङ

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  श्रावण ५, २०७६

५० वर्षपहिला २१ जुलाई १९६९ को दिन प्रारम्भ हुनासाथ २ बजेर ५६ मिनेट जाँदा चन्द्रयान ईगलबाट ओर्लेर चन्द्र धरातल टेक्दै प्रथम चन्द्रयात्री निल आर्मस्ट्रङले भने, ‘दैट्स वन स्माल स्टेप फर अ म्यान, वन जाइन्ट लिप फर म्यान काइण्ड ।’ अर्थात् मानवको यो सानो पाइला, मानवताको एउटा ठूलो छलाङ हो । 

चन्द्रमा जसले हजारौं वर्षदेखि पृथ्वीका मानिसलाई लोभ्याउँदै आइरहेको थियो, जुन अनेकौं कवि, साहित्यकार, कलाकारका लागि प्रेमको बिम्ब रहिआएको थियो । अमेरिकी स्पेस एजेन्सी नासाले ‘अपोलो–११’ अभियानअन्तर्गत आफ्ना तीन जना चन्द्रयात्री पठाएर त्यहाँ अमेरिकी झन्डा फहराइदियो । ती तीन जना सौभाग्यशाली मानिस थिए– अभियानका कमाण्डर निल आर्मस्ट्रङ, नियन्त्रण यान (कोलम्बिया) चालक माइकल कोलिन्स र चन्द्रयान (ईगल) चालक एल्ड्रिन बज । 

प्रथम चन्द्रयात्री आर्मस्ट्रङले चन्द्र धरातल स्पर्श गरेको १९ मिनेटपछि एल्ड्रिन बजले चन्द्र धरातल टेक्दै भने, ‘ब्युटिफुल, ब्युटिफुल, म्याग्निफिसेन्ट डेसोलेसन ।’ अर्थात् सुन्दर, सुन्दर विशाल उजाड स्थान । 

१९५० पछि प्रारम्भ भएको पृथ्वी बाहिरको ‘रेस’मा तल्कालीन सोभियत संघ र अमेरिका नै मुख्य प्रतिस्पर्धी थिए । अन्तरिक्षमा पहिलो यान ४ अक्टुबर १९५७ मा ‘स्पुतनिक–१’ पठाएर सोभियत संघले अन्तरिक्ष प्रतिस्पर्धामा अमेरिकालाई जित्यो । ३ नोभेम्बर १९५७ मा ‘स्पुतनिक–२’ बाट लाइका नाम दिइएको कुकुरलाई अन्तरिक्षमा पठाएर कुनै जीवित प्राणीलाई अन्तरिक्षमा पठाउने दौडमा पनि सोभियत संघले नै बाजी मार्‍यो । यति मात्र कहाँ हो र, ४ वर्षकै अन्तरालमा सोभियत संघले १२ अप्रिल १९६१ का दिन ‘बोस्टोक–१’ यानमार्फत् मानवलाई सर्वप्रथम अन्तरिक्षमा पठाउने उपलब्धि पनि हात पार्‍यो । ती सौभाग्यशाली मानिस थिए– युरी गागरिन । उनले पृथ्वी सतहबाट ३ सय २७ किमिमाथि पुगेर १०८ मिनेट समय व्यतीत गरे । अमेरिकाको पहिलो अन्तरिक्ष अभियान सोभियत संघभन्दा झन्डै चार महिनापछि ३१ जनवरी १९५८ मा ‘एक्सप्लोरर–१’ बाट प्रारम्भ भयो । यसैगरी प्रथम अन्तरिक्ष यात्री युरी गागरिन अन्तरिक्षमा पुगेको २३ दिनपछि अमेरिकाले ‘फ्रिडम–७’ यानबाट अमेरिकी नागरिक एलन सेपर्डलाई अन्तरिक्षमा पठाउने सफलता पायो । तर, एलनको यो अन्तरिक्ष यात्रा जम्मा १५ मिनेटको रह्यो । उनी पृथ्वीदेखि १ सय ८७ किमि माथिसम्म पुगे । अन्तरिक्षमा पुगेर पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिक जोन ग्लेन बने । २० फेबु्रअरी १९६२ मा ‘फ्रेन्डसिप–७’ यानबाट उनले पृथ्वीको परिक्रमा गरेका थिए । उनले अन्तरिक्षमा ५ घण्टा रहेर पृथ्वीको तीनवटा परिक्रमा गरेका थिए । 

(स्मरण रहोस् ‘स्पुतनिक–१’ अन्तरिक्षमा पुग्ने मानव निर्मित पहिलो वस्तु थिएन । पहिलो वस्तु केही अरु नै थियो– लेखक ।)

अन्तरिक्ष यात्रामा सोभियत संघबाट मात खाएको अमेरिका चन्द्रयात्रामा पहिलो बनेर आफ्नो ‘नूर’ कायम राख्न चाहन्थ्यो । उसले यसका लागि अपोलो मिसनको घोषणा गर्‍यो । सोभियत संघ पनि सम्पूर्ण शक्तिले अमेरिकासँग प्रतिस्पर्धा गर्दै थियो । तर, चन्द्रयात्रामा बाजी भने अमेरिकाले जित्यो । ५० वर्षअघि २१ जुलाई १९६९ मा ‘अपोलो–११’ अभियानमार्फत् पृथ्वीबाहेक सौर्यमण्डलको अन्य कुनै खगोलीय पिण्डको धरातल स्पर्श गर्ने श्रेय अमेरिकाले आर्जित गर्‍यो, जुन ५० वर्षपछि पनि उसकै नाममा छ । चन्द्रमामा मानवरहित यान पठाउने देशमा रुस, चीन, भारत, इजरायल, जापान र युरोपियन स्पेस एजेन्सी मात्रै छन् । यसमा पनि चन्द्र धरातलमा यान ओराल्ने सफलता अमेरिका, रुस र चीनबाहेक कसैले पाएका छैनन् । यसै वर्ष इजरायलले चन्द्रमामा ‘ल्याण्ड’ गर्न पठाएको चन्द्रयान ‘सफ्ट ल्याण्डिङ’ गर्न नसकेर ‘क्रयास’ भएर ‘फोर्स ल्याण्डिङ’मा रूपान्तरित हुन पुग्यो । भारतले पहिलो पटक चन्द्रमामा ‘ल्याण्ड’ गर्ने लक्ष्य राखेर २२ जुलाई २०१९ मा ‘चन्द्रयान–२’ प्रक्षेपित गरेको छ । यो अभियान सफल भएमा भारत चन्द्रमामा ‘सफ्ट ल्याण्डिङ’ गर्ने चौथो देश बन्न पुग्नेछ । 

अपोलो अभियान मानव इतिहासको सर्वोच्च छलाङ

चन्द्र आरोहणको उद्देश्यका साथ अपोलो अभियानको घोषणा १९६० को अमेरिकी चुनावताका राष्ट्रपतिका उम्मेदवार जोन एफ केनेडीले चुनावी सभामा गरेका थिए । राष्ट्रपति निर्वाचित भएपछि २५ मई १९६१ मा केनेडी महोदयले विधिवत अपोलो अभियानको घोषणा गरे । उनले ६० को दशकभित्र अमेरिकाले चन्द्र–विजय गर्ने महत्वाकांक्षी लक्ष्य लिए । 

पहिलो गासमै ढुंगा 

चन्द्र अभियानअन्तर्गत २७ जनवरी १९६७ मा ‘अपोलो–१’ परीक्षणमै ठूलो दुर्घटना भयो । यस दुर्घटनामा तीन जना अमेरिकी अन्तरिक्ष यात्री गस ग्रीसम, इडी ह्वाइट र रोजर बी कैफीको ज्यान गयो । यिनीहरूलाई ‘प्रथम अन्तरिक्ष सहिद’को टाइटल प्रदान गरियो । यस दुर्घटनाका कारण ‘सेड्युल’मा रहेका ‘अपोलो–२’ र ‘अपोलो–३’ लाई रद्द गरियो । ‘अपोलो–४’ को मानवरहित अन्तरिक्ष सम्मको उडान सफल रह्यो । ९ नोभेम्बर १९६७ का दिन १२ बजेर १ सेकेण्डको समयमा ३४० लाख न्युटन बलको धक्काले केनेडी अन्तरिक्ष केन्द्रबाट रकेट उड्यो । रकेट पृथ्वी सतहदेखि १८ हजार किमि माथिको कक्षमा स्थापित गराएर पृथ्वीमा सकुशल फर्काइयो ।

 

‘अपोलो–५’ र ‘अपोलो–६’ अभियानले पनि मानवरहित अन्तरिक्ष यात्रा गरे । ‘अपोलो–७’ भने मानव सहितको पहिलो अभियान बन्यो । यस अभियानमा ३ अमेरिकी अन्तरिक्ष यात्री सम्मिलित थिए । कमाण्डर वैली स्किरा, मुख्य नियन्त्रण यान चालक डान ऐसेले र चन्द्रयान चालक वाल्टर कनिन्गम । 

‘अपोलो–७’ सम्मको लक्ष्य अन्तरिक्षसम्म पुग्नु मात्रै थियो । ‘अपोलो–८’ को उद्देश्य भने चन्द्रमाको कक्षमा प्रवेश गरेर परिक्रमा गर्नु रहेको थियो । यस अभियान दलका तीन यात्री फ्रैन्क बोरमन, जेम्स लोभेल र विलियम एण्डर्स थिए । सर्वप्रथम चन्द्रमाको सर्वाधिक नजिकसम्म पुग्ने श्रेय यिनै तीन जनालाई प्राप्त छ । चन्द्रमाको परिक्रमा गर्दा यिनीहरूले चन्द्र धरातलबाट १११.९ किमि माथिबाट २० घण्टासम्म परिक्रमा गरे । चन्द्रमाबाट देखिने पृथ्वी उदय (चन्द्रोदय–सूर्योदय जस्तै) को पहिलो चित्र खिच्ने श्रेय यिनीहरूलाई नै प्र्राप्त छ । 

‘अपोलो–९’ अभ्यास उडानकै रूपमा सम्पन्न गरियो । भनौं ९ र १० दुवै अभियान ‘अपोलो –११’ अभियानको पूर्व तयारीकै रूपमा प्रक्षेपित गरिएका थिए । तर, ‘अपोलो–१०’ले एउटा यस्तो रेकर्ड कायम गर्‍यो, जुन आजका मितिसम्म कायम छ । चन्द्र परिक्रमा गरेर पृथ्वीतिर फर्कने क्रममा यानमा रहेका यात्री थामस स्टैफोर्ड, जोन डब्ल्यु यंग र युगेने सेरननले ३९ हजार ८ सय ९७ किमि प्रतिघण्टाको रफ्तारले यात्रा गरेका थिए । यी तीन जनाका अतिरिक्त अन्य कुनै मानिसले यो रफ्तारबाट यात्रा गरेको छैनन । 

‘अपोलो ११’– पृथ्वीबाहेक मानिसले अन्यत्र कतै टेकेको पहिलो क्षण 

१६ जुलाई १९६९ को दिन बिहान ९ बजेर ३२ मिनेटमा प्रक्षेपित गरिएको यो उडानले १९ जुलाईका दिन चन्द्रकक्षमा प्रवेश गर्‍ यो । २० जुलाईका दिन मुख्य नियन्त्रण यानबाट चन्द्रयान विच्छेद भएर चन्द्र अवतरण गर्नतिर लाग्यो । माइकल कोलिन्सको दायित्व मुख्य नियन्त्रण यानमा रहेर आकाशबाटै चन्द्र परिक्रमा गरिरहनु थियो । निल आर्मस्ट्रङ र एल्ड्रिन बज चन्द्रयान इगलबाट २० जुलाईको रात्रि ८ः१७ मा चन्द्र धरातलमा ओर्लिए । यान ओर्लिनासाथ निलले पृथ्वीस्थित नियन्त्रण कक्षलाई सन्देश पठाए, ‘यो ट्रैक्युलिटी बेस हो, इगल ओर्लिसक्यो ।’ 

तत्पश्चात एल्ड्रिनले सन्देश प्रसारित गरे, ‘म चन्द्रयान चालक हुँ । म यो प्रसारण सुनिरहेका सबै मानिसलाई जो जहाँ छन्, जुन अवस्थामा छन्, निवेदन गर्छु कि सबै जनाले एक क्षणका लागि मौन धारण गरेर आ–आफ्नो ढंगले ईश्वरलाई धन्यवाद प्रदान गरुन् ।’ 

चन्द्रमामा इगल ओर्लेको झण्डै ६ घण्टा ३० मिनेटपछि निल इगलबाट निस्के र चन्द्र धरातलमा स्पर्श गरे । दुवै यात्री चन्द्रमामा ओर्लेको पृथ्वीमा प्रत्यक्ष प्रसारण भयो । यस प्रसारणलाई विश्वभरिका ६० करोड मानिसले अवलोकन गरे । तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनले दुवै जनासँग कुरा गरे । 

दुवै यात्रीले चन्द्र धरातलमा अमेरिकी झण्डा गाड्नुका साथै विभिन्न वैज्ञानिक प्रयोग गरे । चन्द्र धरातलबाट २२ किलोग्राम नमुना सामग्री एकत्रित गरे । दुवै जनाले २ घण्टा ३१ मिनेटसम्म चन्द्रभूमिमा भ्रमण गरी यानमा फर्केर विश्राम गरे । 

२१ जुलाईको बेलुका ५ः५४ मा चन्द्रयानको इन्जिन स्टार्ट गरेर उनीहरूले चन्द्र धरातल छाडे । चन्द्र आकाशमा माइकल कोलिन्स उनीहरूको फर्कने प्रतीक्षा गरिरहेका थिए । २१ जुलाईको राति ९ बजेर ३५ मिनेटमा चन्द्रयान इगल मुख्य यान कोलम्बियासँग पुनः जोडियो । झण्डै २८ घण्टापछि तीनै जनाको पुनः भेट भयो । 

अर्को दुई घण्टासम्म चन्द्र परिक्रमा गरेपश्चात चन्द्रयान इगललाई कोलम्बियाबाट पुनः विच्छेद गरी चन्द्र धरातलमा खसाइयो । सोच्नुस् त, कत्रो आवाज भयो होला चन्द्र धरातलमा ? यस विनोदका लागि क्षमा गर्नुहोस् । चन्द्र धरातलमा कुनै आवाज हुन्न । 

२४ जुलाई १९६९ का दिन अपरान्ह ४ः५० मा कोलम्बिया यान प्रशान्त महासागरमा ओर्लियो । कोलम्बिया यान प्रदर्शनीका लागि वासिंगटनस्थित ‘नेसनल एअर एण्ड स्पेस म्युजियम’ मा राखिएको छ ।