पाल्तु कुकुर खोज्नेलाई सबै श्रीसम्पत्ति

पाल्तु कुकुर खोज्नेलाई सबै श्रीसम्पत्ति

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण ५, २०७६

अमेरिका । अमेरिकाको सहर टस्कनका एक व्यक्तिले आफ्नो पाल्तु कुकुर खोज्नेलाई सबै श्रीसम्पत्ति दिने घोषणा गरेका छन् । 

स्थानीय एडी कोलिन्सले सहरमा पोस्टर टाँसेर चिहुआहुआ नामको कुकुर खोज्ने वा खबर दिनेलाई एक बेडरूमको अपार्टमेन्ट, वर्कसप र फ्ल्याट दिने घोषणा गरेका हुन् । 

उनको कुकुर अप्रिलदेखि हराइरहेको छ । उनले उक्त कुकुर खोज्ने हरसम्भव प्रयास पनि गरिसकेको बताएका छन् । उनले भने, ‘मैले धेरै कोशिश गरिसकें । जो कोहीले मलाई जेनी फिर्ता दिन्छ, उसलाई म यी सबै कुरा दिनेछु । बस, मलाई जेनी चाहिन्छ । ऊबिना जिन्दगीको एक पल बिताउन पनि मलाई मुस्किल भइरहेको छ । थाहा छैन, अहिले ऊ कहाँ र कुन अवस्थामा रहेकी छ ।’ 

पोस्टरमा लेखिएको छ यस्तो सन्देश

सहरमा जेनीको तस्बिरवाली पोस्टर्समा लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभयो ? मेरो बुबाले मलाई खोजिरहनुभएको छ । यदि तपाईले मलाई घर फर्काउन मद्दत गर्नुभयो भने बुबाले तपाईंलाई घर र फ्ल्याट दिनुहुनेछ । यदि तपाईंलाई म कहाँ छु भन्ने जानकारी छ भने कृपया उहाँलाई भनिदिनुस् ताकि उहाँले मलाई घर लैजान सक्नुहुनेछ । यसो गर्यो भने मेरो बुबाको सबै श्रीसम्पत्ति तपाईंको हुनेछ ।’ 

पछिल्लो तीन हप्तायता सामाजिक सञ्जालमा ‘माइ नेम इज जेनी’ अभियान चलिरहेको छ । यसबाट जेनीलाई खोज्न सहज हुने एडीको आशा रहेको खबर भाष्कर डट कममा छ ।