अमेरिकामा ‘हिट वेभ’का कारण ६ को मृत्यु

अमेरिकामा ‘हिट वेभ’का कारण ६ को मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण ५, २०७६

अमेरिका । अमेरिकामा ‘हिट वेभ’ (असामान्य गर्मी मौसमको लामो अवधि)का कारण सर्वसाधारण आहत बनेका छन् ।

‘हिट वेभ’का कारण अहिलेसम्म ६ को ज्यान गइसकेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । 

गत बिहीबार मात्रै दुई जनाको ज्यान गएको छ । सञ्चारमाध्यमका अनुसार ‘हिटस्ट्रोक’का कारण ३२ वर्षीय अमेरिकी फुटबल खेलाडी मिच पेट्रसको ज्यान गएको छ । यस्तै, एक प्राविधिकको पनि ज्यान गएको छ । स्थानीय अधिकारीका अनुसार एरिजोनामा एक एयर कन्डिसनिङ टेक्निसियन स्टिवन बेल ज्यान गएको हो । 

शनिबार पूर्वी अमेरिकाका कतिपय महानगरीय क्षेत्रको तापक्रम ३८ डिग्री सेल्सियस रहेको थियो । जसका कारण त्यहाँ आयोजना हुने केही कार्यक्रम रद्द गरिएको थियो ।

राष्ट्रिय मौसम सेवाले शुक्रबार जारी गरेको अलर्टमा गर्मीको चपेटामा १५० मिलियन मानिस आउन सक्ने उल्लेख रहेको खबर जागरण डट कममा छ ।