‘आरोहण बन्द होइन, सबै हिमाल खुल्ला गरेर अन्तर्राष्ट्रिय गुणस्तरको बनाउनुपर्छ’

‘आरोहण बन्द होइन, सबै हिमाल खुल्ला गरेर अन्तर्राष्ट्रिय गुणस्तरको बनाउनुपर्छ’

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  श्रावण ६, २०७६

गोविन्द गुरुङ

गोविन्द गुरुङ पर्यटन व्यवसायी हुनुहुन्छ । हिमाल आरोहणमा सक्रिय रहेको ट्याग नेपालको प्रबन्ध निर्देशक हुनुहुन्छ । अन्तर्राष्ट्रिय केही संस्थाहरूको लविङमा परेर नेपाल सरकाकारका केही पदाधिकारीहरू केही समयमाको लागि आरोहण बन्द गर्ने भन्दै खुलेर लविङ थालेपछि पर्यटन व्यावसायीहरुको चर्को विरोध पश्चात् पर्यटन विभागले प्रेस विज्ञप्ति नै जारी गरी त्यस्तो तयारी नभएको धारणा सार्वजनिक गर्न बाध्य भएको थियो । हिमाल आरोहणमा विगत लामो समयदेखि सक्रिय अप्रेटरहरुका सघंसंस्थाहरु भने भ्रमण वर्षको सन्दर्भ पारेर नेपालमा खुल्ला नगरिएका सबै हिमालहरू खुल्ला गरेर आरोहणलाई अन्तर्राष्ट्रिय गुणस्तरको बनाउनेबारे बहस प्रारम्भ भएको छ । आरोहणलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? सबै हिमालहरू खुल्ला गरिनुपर्छ भन्ने पछाडिको स्वार्थ के हो र कसरी व्यवस्थित हुन सक्छ भन्ने विषयमा केन्द्रित रहेर पर्यटन व्यवसायी गोविन्द गुरुङसँग लोकसंवाद डटकमले अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूल अंशः

हिमाल आरोहण केही वर्षका लागि स्थगित गर्नुपर्छ भन्ने लबिङ भइरहेको छ, यसले पर्यटन व्यवसायलाई के असर गर्छ जस्तो लाग्छ ?

यो राष्ट्रकै लागि एकदमै गम्भीर परिस्थितिमा लैजाने खालको विषय हो । यसमा छलफल भइरहेको मैले पनि सुनेको छु । यो सगरमाथा वा अन्य कुुनै पनि हिमाल बन्द गर्नुपर्छ भन्ने विषय किन आयो भन्ने महत्वपूर्ण हो । 

यस वर्ष सगरमाथामा ट्राफिक जाम कसरी भयो ? यो किन व्यवस्थित भएन ? मान्छेको जीवन सुरक्षित नहुने हो भने किन सगरमाथा खोल्ने ? सगरमाथा नै बन्द गर्नुपर्छ ? आदि प्रश्न उठेकै हुन् । तर, यससँगै अर्काे प्रश्न पनि खडा भएको छ । सगरमाथा बन्द गर्ने हो भने नेपालको पर्यटन  विकासको आधार केलाई मानेर गर्ने त ? के लुम्बिनी मात्रै देखाउने ? के संस्कार मात्रै देखाउने ? 

त्यो तरिकाले नेपालको पर्यटन विकास हुन्छ वा नेपालले पर्यटनमा केही गर्न सक्छ जस्तो मलाई लाग्दैन । त्यही भएर यस्तो कुरालाई बेलैमा समाधान गर्नुपर्छ । यसका लागि सरोकारवालाले तत्काल निर्णय लिन सकेन भने राष्ट्रकै लागि घात हुनेछ । तर, तत्कालका लागि यो रोकिएको छ ।

तपाईंहरू जो–जो हिमाल आरोहणको व्यवसाय गरिरहनुभएको छ, तपाईंहरू राज्यका यी निकायलाई किन चित्त बुझाउन सकिराख्नुभएको छैन अथवा किन सहमत गराउन सकिराख्नुभएको छैन ? 

पहिलेको दाजोमा कुरा नबुझेको होइन ।  काम गर्ने शैली अहिले अझै राम्रो भएको हो । अहिले सञ्चारमाध्यमकोे पहुँच तथा सामाजिक सञ्जाल धेरै सक्रिय भएकाले हरेक कुरा पहिलेभन्दा चाडो सार्वजनिक हुने गरेको छ, जस्तै ः हिमालका परिस्थिति, यससँग सम्बन्धित फोटो तथा भिडियो आदि । हिजो त्यो सार्वजनिक हुन सक्ने अवस्था थिएन । तर, अहिले प्रविधिले त्यहाँ हुने गतिविधि देखिने भएको हुनाले यो इस्युको रूपमा अगाडि आएको मात्र हो । हामी अहिले पनि धेरै पटक छलफल गरिरहेका छौं । नेपाल पर्यटन बोर्ड, पर्यटन विभागलगायत अन्य सरोकारवालाहरूसँग सगरमाथा आरोहणलाई कसरी अन्तर्राष्ट्रिय गुणस्तरको बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं । त्यसमा विवाद नल्याई मिलेर अगाडि जान कोशिस गरिरहेका छौं । 

पर्यटन विभागले हामी बन्द गर्दै छैनौ है भनेर किन भन्नु आवश्यक पर्‍यो जस्तो लाग्छ तपाईंलाई ?

त्यसमा इन्टरनेसनल क्लाइम्बर (आरोही)हरूदेखि लिएर अरु इन्टरनेसनल माउन्टेनरले चिन्ता व्यक्त गरेको पाइयो । नेपालले सगरमाथालाई किन व्यवस्थित गर्न सकेन भनेर हल्ला फैलाइयो । केही साथीहरूले सरकारले जाबो यति पनि गर्न नसक्ने भनेपछि अहिलेको परिस्थिति सरकारको अगाडि देखाउन त्यो एउटा इस्युको रुपमा अगाडि आएको हो । 

यो बन्द गरेर कसैलाई पनि फाइदा हुँदैन । त्यसकारण यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा हामी एकदमै सकारात्मक छौं । हामी जतिबेला पनि सरकारी निकायसँग यो विषयमा छलफल गर्न तयार छौं । किनभने नेपालको पर्यटन हेर्ने हो भने जति निजी संस्थाले जसरी पहल गरेको छ, त्यो अनुपातमा सरकार गम्भीर भने देखिँदैन ।  

पर्वतारोहण व्यवसाय निजी क्षेत्रले धानेको छ भन्दा सत्य हुन्छ ?
एकदमै सत्य हुन्छ । सरकारले त पर्मिट (अनुमति) दिने काम भन्दा अरु के गरेको छ र ? यस्तो भन्दै गर्दा मैले सरकारलाई नजरअन्दाज गर्न खोजेको चाहिँ होइन । धेरै काम गर्न सक्ने क्षमता सरकारमा छ र हुनु पनि पर्छ । तर, त्यो अभ्यासमा भने देखिँदैन ।     

सरकारी निकायले के कारणले सगरमाथा आरोहण बन्द गर्नुपर्छ भनेका होलान् ? 
होइन, सरकारी निकाय र तपाईं यसमा अलि भ्रममा हुनु भयो होला । सरकारले भन्दा पनि इन्टरनेसनल कम्पनीले यो सेफ भएन, सरकारले यसको जिम्मा नलिने हो भने यसलाई बन्द गर्नुपर्छ भनेको जस्तो लाग्छ मलाई । 
तर, सरकारी निकायकै कर्मचारीले विभिन्न समारोहमा त्यही कुरा भनिराखेका छन् नि त ?

हजुर हो, त्यसको चाहिँ मलाई अलि प्रष्ट जानकारी भएन । 

सरकार अथवा कुनै एजेन्सीले खुला भएका हिमाल बन्द गर्नुपर्छ भनिरहेका बेला पर्यटन व्यवसायीहरू सबै हिमाल खोलिनुपर्छ भनेर पहल गरिरहेका छन् भन्ने कुरा सत्य हो ? 

त्यो सत्य हो । मेरो बुझाइमा नेपालजस्तो साहसिक पर्यटनको सम्भावना र अवसर संसारमै कही पनि छैन । जति भू–भाग हामीले ओगटेका छौं, त्यो भू–भागमा नै धेरै सम्भावना र अवसर छ । तर, त्यसबाट हामीले फाइदा लिन सकेका छैनौं । संसारकै राम्रा गनिने हिमाल हाम्रो देशमा छन् । तर, ती हिमालमा अहिलेसम्म आरोहणका लागि खुला गरिएको छैन । माछापुच्छ्रे हिमाल यसको उदाहरण हो । माछापुच्छ्रे, गणेश र गौरीशंकर लगायतका हिमालहरुमा आरोहण खोल्नुपर्छ भन्ने हाम्रो धारणा हो । 

सगरमाथा खुम्बु क्षेत्रमा छ । सगरमाथा मात्रै त्यहाँ उभिएको छैन, सगरमाथालाई उभ्याउन त्योभन्दा अगाडि–अगाडि धेरै स–साना हिमाल छन् । 

६ हजार मिटर अल्टिच्युटको हिमाल आरोहण व्यक्तिले त्यसमा सफलता पायो भने त्योभन्दा अग्लो हिमाल आरोहणका लागि आफूलाई चुनौती दिन सक्छ । र, यसले विस्तारै आकर्षण बढाउँछ । 

विगतमा एक पटक खोलिएको माछापुच्छ्रे हिमाल पछि स्थानीयको अवरोधले बन्द भएको होइन र ? 

त्यो पनि सत्य हो । स्थानीयले हिमाललाई आफ्नो भगवानको रूपमा पूजाआजा गर्ने गरेको पाइन्छ । कुनै परिवारले त आफ्नो पितृ भगवान रूपमा लिने मात्र होइन, कूल देउताको रूपमा मान्ने र पूजा गर्ने चलन पनि छ भन्ने सुनेको छु । तर, त्यसरी आफूले मानेको हिमालमाथि कसैले पाइला राख्छु भन्दा अवश्य पनि उहाँहरू खुसी हुने कुरा भएन । तर, हाम्रो देशमा मात्रै नभएर सबै देशमा हिमाललाई भगवान मान्ने चलन छ । जुन पनि हिमालमा चढ्नुअगाडि क्षमा याचनाको पूजा गरेर मात्र हिमाल चढ्ने पुरानो चलन हो । 

आरोहण नखोलिएका हिमाल खोल्नका लागि स्थानीय समुदायले के गर्नुपर्छ ? 

पर्यटन उद्योग नेपालको दोस्रो आर्थिक मेरुदण्ड हो । यसलाई अझै बुलन्द बनाउन संस्कृति तथा प्रकृति उपयोग गर्न सकिन्छ । यी सबै देखाएर विदेशीबाट मनग्गे आम्दानी गर्न सकिन्छ भने किन नगर्ने ? हाम्रो स्थानीय क्षेत्रको हिमाल चढ्नका लागि खोल्यौ विदेशी आउने क्रम बढ्छ । हाम्रै घरपरिवारका सदस्यले कुनै न कुनै हिसाबले रोजगारी पाउँछन् । अरुले पनि यसबाट आम्दानी गर्न सक्छन् । 

जस्तैः सगरमाथाको खुम्बु क्षेत्र आसपास बौद्ध धर्मावलम्बीको बसोबास बढी छ । त्यसैकारण सगरमाथा चढ्दा बुद्धको पूजा गरिन्छ । यसैगरी अरु हिमाल चढ्दा पनि त्यस आसपासका मानिसको संस्कृति अनुसार पूजा गर्ने परिपाटी बसाले संस्कृतिको विकास र संरक्षणमा मद्दत पुग्न सक्छ । 

त्यसरी हामीले पनि आफ्नो स्थानीय प्रचलन अनुसार गरिने पूजा सहाम्रो संसारभर देखाउन सक्छौं । त्यसकारण यसबाट नेपाली संस्कृति विश्वलाई देखाउने मौकाका रूपमा लिन सकिन्छ ।  

भनाइको तात्पर्य अहिले आरोहणका लागि खुला नगरिएका हिमाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को सन्दर्भ पारेर खोलिनुपर्छ भन्ने हो ? 

एकदमै हो । सबै विदेशीले सगरमाथा चढ्न सक्ने क्षमता राख्छ भन्ने हुँदैन । हामीसँग अन्य विकल्प भयो भने विदेशीहरूले आफ्नो क्षमता अनुसारका हिमाल चढ्न आउन सक्छन् । यसले नेपालमा रोजगारीको अवसर बढ्न सक्छ । र, समग्र राज्यलाई नै आर्थिक उन्नतिको बाटोतिर लैजान सकिन्छ । यसबारे सोच्न सकिएन भने ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्देश्य पूरा नहुने हो कि भन्ने चिन्ता लागिरहेको छ । 

अहिले त स्थानीय सरकार छ, प्रदेश सरकार छ, तपाईंहरूले यो अभियान अथवा सबै हिमाल खुला गर्नुपर्छ माग गरिरहँदा ती निकायसँग छलफल गर्नुभएको छ कि छैन अथवा ती निकायको भनाइ के छ ?

औपचारिक रूपमा छलफल गरेका छैनौं । तर, अहिले स्थानीय सरकारमा चुनिएका जनप्रतिनिधि पहिलेका भन्दा धेरै कुरा बुझने हुनुहुन्छ । आफ्नो क्षेत्रमा कसरी विकास गर्न सकिन्छ, के–के काम गरेर आफ्नो स्थानीय तहलाई सहयोग गर्न सकिन्छ भन्ने उहाँहरूलाई राम्रोसाग थाहा छ । अहिले सहरभन्दा टाढा–टाढाको गाउँमा पनि होमस्टेका अवधारणा भित्रिसकेको अवस्था छ भने होमस्टे चलाउनलाई पनि त हिमाल खुला गर्नुपर्छ भन्ने उहाँहरूको भनाइ छ । 

हिमाल चढ्ने क्रममा विदेशी १०/१५ दिन बस्छन हिमालको काखमा, त्यो जादाँ आउदाको बाटोमा होमस्टेमा बस्छन् । यो तरिकाले समग्र पर्यटनको विकास हुन्छ, गाउँ–गाउँमा विकास हुन्छ, गाउँ–गाउँमा रोजगारी पुग्छ । यो कुरा स्थानीय नेताहरुलाई जानकारी छ जस्तो लाग्छ मलाई । मेरो गाउँ लमजुङ, त्यहाँ पनि धेरैले होमस्टे चलाएका छन् । त्यसकारण अब लमजुङतिर कुन–कुन हिमाल खोल्न सकिन्छ त्यो अब खोल्नुपर्‍यो । जसले गर्दा होमस्टे अझै राम्रोसग चलोस् ।

त्यसका लागि स्थानीय, प्रदेश हुँदै केन्द्रीय सरकारसँग त्यसको पहल गरिरहनुभएको छ कि छैन ?

अब गर्ने सुरमा छौं हामी । किनभने, अहिले हाम्रो अफ सिजन पनि हो । अफ सिजनमा यो तरिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई कसरी सफल बनाउन सकिन्छ भन्ने अहिले एनमे, टानलगायत संस्थाका साथीहरूले छलफल गरिरहेका छौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सकेसम्म अझ उत्साहजनक रूपमा कसरी सफल बनाउन सकिन्छ भनेर हामी छलफलमै छौं । त्यही छलफलमा यी कुरा निस्केका हुन् । हामीले एकदमै हाइलाइटमा आउन सक्ने र त्यहाँबाट मनग्ये आम्दानी गर्न सक्ने, स्थानीय सरकारले आयआर्जन गर्न सक्ने, त्यसैमा भविष्य निर्धारण गर्न सक्ने ठाउँको पहिचान गरेर पहल गर्ने भनेर अहिले बेजोड छलफलमै छाैं । 

प्रकृतिको सुन्दरतालाई संरक्षण गरेर प्रयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हिमाल आरोहण अथवा कुनै पनि टे«किङ रुट खोल्दा भेडा–बाख्रा लिएजसरी होइन, व्यवस्थित तरिकाले गर्नुपर्छ । 

वैज्ञानिक तरिकाले त्यहाँको प्रकृति, त्यहाँको रहनसहन, संस्कृति नबिग्रने तरिकाले फोहोरै नभएर हिमाल आरोहण गर्न सकिन्छ भन्ने चेतना हामीसँग छ । अबदेखि त्यहाँ त्यस्तो समस्या हुँदैन भन्ने मलाई लाग्छ । यो तरिकाले प्रकृतिले दिएको सौन्दर्य हामीले विश्वभरि फैलाउनु पर्छ र त्यो बाट राज्यले स्थानीय समुदायले दिन सक्ने फाइदाचाहिँ लिनु पर्छ भन्ने हाम्रो धारणा हो ।