पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ६, २०७६

कास्की । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य संघको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल समाज भवनमा ‘प्रथम पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ गर्न लागिएको संघका अध्यक्ष सञ्जीबहादुर कोइरालाले बताउनुभयो । 

विगतका वर्षमा प्रदेश तथा जिल्लास्तरीय प्रतियोगिता गरिएकामा यस वर्षदेखि राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको र यसबाट संघीय सरकारले मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ तथा प्रदेश सरकारको आन्तरिक पर्यटन वर्षलाई सफल बनाउन टेवा पुग्ने विश्वास आयोजकको छ । 

गत वर्षसम्म खुला र भेट्रान्सतर्फ गरी चार इभेण्टमा प्रतिस्पर्धा गराइएकामा यस वर्षदेखि पुरुष डबल्स राष्ट्रिय इभेण्ट पनि थपिएको छ । राष्ट्रियतर्फ ४५ प्लस भेट्रान्स तथा ५५ प्लस खुला र गण्डकी प्रदेशस्तरीय पुरुष डबल खुला तथा पुरुष डबल्स खुला कास्की जिल्लास्तरीय गरी पाँच इभेण्टमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । 

राष्ट्रिय खुलामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः ५० हजार, ३० हजार तथा १० हजार रूपैयाँसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्नेछन् भने खुला गण्डकीस्तरीय ४५ प्लसमाथि प्रथम, द्वितिय र तृतीय हुने समूहले क्रमशः नगद ३० हजार, २० हजार, १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी ५५ प्लस भेट्रान्स खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः नगद २० हजार, १५ हजार र १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिनुभएको खबर राससमा छ ।