गौतमबुद्ध रंगशाला निर्माण पुनः सुरु हुने

गौतमबुद्ध रंगशाला निर्माण पुनः सुरु हुने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ६, २०७६

चितवन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रोकिएको निर्माण कार्य मंगलबारबाट सुरु गरिने भएको छ । 

यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । ध्रुर्मुस–सुन्तली फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रंगशाला निर्माण थालिएको हो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘ध्रुर्मुस’ले मंगलबारबाट काम सुरु गर्न लागिएको जानकारी दिनुभयो । 

कट्टेलकाअनुसार आज बिहान रङ्गशाला निर्माण सहयोग समितिका पदाधिकारीसँगको छलफलपछि काम शुरु गर्ने सहमति भएको हो । 

समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार आजको बैठकमा उद्योग वाणिज्य संघ,  उद्योग संघ, निजामती कर्मचारी लगायतले रंगशालाका लागि बोलकवल र संकलन गरेको रकम यथाशीघ्र फाउण्डेसनलाई हस्तान्तरण गरिने सहमति भएको छ । 

सातवटै पालिकामा चार दिनभित्र सहयोग समिति गठन गरी नयाँ ऊर्जाका साथ कामलाई अघि बढाउने सहमति भएको डल्लाकोटीले जानकारी दिनुभयो । गुरुयोजना बनाउने कामलाई तीव्रताका साथ अघि बढाउने पनि छलफलमा सहमति भएको छ । संयोजक डल्लाकोटीले रङ्गशाला नेपालीको सम्पत्ति हुने भएकाले सबैको साथ र सहयोगबाट नयाँ ऊर्जाका साथ काम थाल्न लागिएको बताउनुभयो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मङ्गलबारबाट फाउण्डेसनले काम अघि बढाउने भन्दै सबैलाई सहयोगका लागि आग्रह गर्नुभयो । रंगशाला निर्माणका लागि वातावरण बनिसकेको भन्दै उहाँले वर्षात्मा गर्न मिल्ने काम अघि बढाइने बताउनुभयो ।

आर्थिक संकलन गरी पहिलो चरणमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर छिटो निर्माणको काम सुरु गर्ने योजना रहेको दाहालको भनाई छ । फाउण्डेसनका अध्यक्ष कट्टेलले विस्तृत अध्ययन प्रतिवेदनको काम आजैबाट अघि बढ्ने जानकारी दिँदै रङ्गशालाको निर्माणस्थलको काम पनि अघि बढाइने बताउनुभयो । 

बार, मैदान व्यवस्थापन र आवश्यक संरचना निर्माणका काम अघि बढाइने उहाँको भनाइ छ । रंगशाला निर्माणका लागि ६ करोड ५० लाख रूपैयाँ बोलकवल भएको भए पनि हालसम्म सबै रकम संकलन भइसकेको छैन । फाउण्डेसनले दुवई र मलेसियामा आर्थिक सहयोगका लागि रकम संकलन गर्न कार्यक्रम गरिसकेको छ । 

काम सुरु भएसँगै अन्य देशमा पनि आर्थिक सहयोगका लागि कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । झण्डैं तीन अर्ब लगानी गरेर रंगशाला निर्माण गर्न लागिएको हो । 

भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा रंगशाला निर्माणका लागि छुट्याएको खबर राससमा छ ।