बन्याे ‘एभेन्जर्सः इन्डगेम’ विश्व इतिहासमै सबैभन्दा बढी कमाइ गर्ने  चलचित्र

बन्याे ‘एभेन्जर्सः इन्डगेम’ विश्व इतिहासमै सबैभन्दा बढी कमाइ गर्ने  चलचित्र

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण ७, २०७६

एजेन्सी ।  हलिउड चलचित्र ‘एभेन्जर्सः इन्डगेम’ विश्व इतिहासमै सबैभन्दा बढी कमाइ गर्ने  चलचित्र बन्न सफल भएको छ ।

गत २२ अप्रिलमा प्रदर्शनमा आएको यो चलचित्रले आइतबारसम्म २ अर्ब ८० करोड डलर कमाइ सेकेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाएकाे छ । कमाइसँगै यस चलचित्रले हालसम्मकै धेरै कमाउने रेकर्ड कायम गर्न  सफल भएको छ ।

सन् २००९ मा प्रदर्शनमा आएको हलिउड चलचित्र ‘अवतार’ को कमाइलाई उछिन्दै ‘एभेन्जर्सः इन्डगेम’ रेकर्ड बनाउन सफल भएको हो । ‘अवतार’ ले २.७८९ अर्ब अमेरिकी डलर कमाउन सफल भएको छ । यो रेकर्डलाई दश वर्षयता कुनै चलचित्रले उछिन्न सकेका थिएनन् ।

‘एभेन्जर्सः एन्ड गेम’ ले यसअघि नै कमाइका विभिन्न रेकर्ड बनाएको थियो । रिलिजको दुई साता नबित्दै दुई अर्ब बीस करोड डलर कमाएको थियो । यससँगै यो चलचित्र सबैभन्दा चाँडो दुई अर्ब डलर कमाउने चलचित्रको सूचीमा परेको छ ।

सन् २००८ मा ‘आइरन म्यान’ बाट सुरू भएको ‘एभेन्जर्सः एन्ड गेम’ मार्भल कमिक्सको २२औँ शृंखला हो । यसमा सबैजसो श्रृंखलाका सुपरहिरोहरूलाई एकसाथ प्रस्तुत गरिएको छ । ‘एभेन्जर्सः एन्ड गेम’ पछि मार्भलको २३औँ शृंखलाका रूपमा ‘स्पाइडर म्यान फार फ्रम होम’ समेत प्रदर्शनमा आइसकेको छ । यस चलचित्रले पनि अहिलेसम्म ९७ करोड डलरभन्दा बढी कमाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस चलचित्रमा क्रिस इभान्स, रोबर्ट डउनी जुनियर, क्रिस हेम्सवर्थ, मार्क रफालो, ब्रि लार्सन, स्कार्लेट जोहनसन, जेरेमी रेनर, पल रूड, क्यारेन गिलान, डन चिडल, काडविक बोसम्यान, डनाइ गुरिरा, जोस ब्रोलिन, ब्रयाड्ली कुपरलगायतका कलाकारको मुख्य भूमिका छ ।

त्यस्तै, अहिलेसम्म सबभन्दा बढी पैसा कमाउनेमा चलचित्रमा एभेन्जर्स शृंखलाका अघिल्ला चलचित्रकै वर्चस्व छ । कमाइका आधारमा ‘एभेन्जर्सः एन्ड गेम’ पहिलो, ‘अवतार’ दोस्रो र २० वर्ष पुरानो चलचित्र ‘टाइटनिक’ तेस्रो नम्बरमा परेका छन् । टाइटनिकले अहिलेसम्म २ अर्ब १९ करोड डलरको हाराहारी कमाइ गरेको छ ।

त्यसैगरी, चौथो नम्बरमा सन् २०१५ मा बनेको ‘स्टार वार्सः द फोर्स अवेकन्स’ ले करिब २ अर्ब डलर कमाएको छ । पाँचौंमा परेको ‘एभेन्जर्सः इन्फिनिटी वार’ ले ‘स्टार वार्सः द फोर्स अवेकन्स’ भन्दा केही कम कमाइ गरेको छ । एक अर्ब ६७ करोड डलर कमाएर छैठौं स्थानमा सन् २०१५ बनेको ‘जुरासिक वल्र्ड’ पर्न सफल भएको छ । करिब एक अर्ब ५२ करोड डलर कमाएको सन् २०१२ बनेको ‘एभेन्जर्स’ सातौंमा परेको छ ।

आठौँमा ‘फास्ट एन्ड फ्युरियस’ को सातौँ शृंखला ‘फ्युरियस ७’, नवौंमा ‘एभेन्जर्सः एज अफ अल्ट्रोन’ र दसौँक स्थानमा पनि मार्भलकै शृंखलामध्येको ‘ब्ल्याक प्यान्थर’ रहेको छ । एभेन्जर्स निर्माण टिमले हालसम्म अवतारभन्दा ५ लाख १६ हजार १९३ अमेरिकी डलर बढी कमाएको जनाइएको छ ।