आइसिसी टी-२० विश्वकप छनोट एसिया फाइनल : नेपालको खराब सुरुवात, पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित

आइसिसी टी-२० विश्वकप छनोट एसिया फाइनल : नेपालको खराब सुरुवात, पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ७, २०७६

काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत एसिया फाइनलको प्रमुख दाबेदार मानिएको नेपालले खराब सुरुवात गरेको छ ।

सिंगापुरमा मंगलबार भएको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ ।

१ सय २३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन जोडे । त्यस्तै कमरन खानले २२, जाहिर इब्राहिमले १२ र मुहम्मद तानवीरले ११ रन जोडे । नोमन सरवान १५ र मोहमद रिजलान ९ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, करन केसीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय रन २२ जोडेको थियो । मध्यम सुरुवात गरेको नेपालका लागि युवा ब्याट्सिम्यान दीपेन्द्र सिंह ऐरीले ३४ रनको पारी खेले । त्यस्तै, कप्तान पारस खड्का २८, ज्ञानेन्द्र मल्लले २३, सोमपाल कामीले ११ रन जोडे ।

कतारका लागि इकबल हुसेइनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै तामुर सज्जाद र नौमन सरवारले समान दुई तथा इनाम उल हकले एक विकेट लिए ।