नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा तीन पक्राउ

नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा तीन पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ७, २०७६

चितवन । जिल्लामा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एलटी एभरेस्ट हर्बल लाइफ ग्लोबल प्रालिका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरू गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका–९ का ४३ वर्षीया पार्वती केसी छन्  ।

उनीहरूले प्रचलित कानुनविपरीत प्रतिबन्धित नेटवर्किङ एलटी एभरेस्ट हर्बल लाइफ ग्लोबल प्रालि काठमाडौंमा दर्ता गरी चितवनमा पिरामिड शैलीमा व्यापार प्रणाली अपनाई चितवनका सर्वसाधारणहरूलाई झुक्याएर ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।

उनीहरूबाट पीडित भएकाहरुले दिएको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता कोइरालाले बताउनुभयो । तीनै जनाउपर ठगी मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाको भनाइ छ ।

उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरिएको समाचार राससमा छ ।