क्रिकेटर लासिथ मालिंगाद्वारा सन्यास लिने घोषणा

क्रिकेटर लासिथ मालिंगाद्वारा सन्यास लिने घोषणा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ७, २०७६

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगाले वनडे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । 

मालिंगाले बंगलादेश विरुद्धको तीन वनडे अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलपछि क्रिकेटलाई अलबिदा गर्ने भएका हुन् । 

श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले श्रीलंका–बंगलादेश शृंखलाअघि मिडियासँगको कुराकानीमा यो कुराको पुष्टि गरेका छन् । उनले भने, ‘लासिथ मालिंगा यो सिरिजको पहिलो खेल खेल्दैछन् । यसपछि उनी सन्यास लिनेछन् । यो कुरा उनले मलाई भनेका छन् । तर, उनले चयनकर्तासँग के भने त्यो मलाई थाहा छैन ।’ 

उक्त शृंखलाको पहिलो वनडे खेल जुलाई २६ मा हुनेछ ।

मालिंगाले टेस्ट क्रिकेटबाट भने सन् २०११ मा सन्यास लिएका थिए । 

यस्तो छ प्रदर्शन 

मालिंगा श्रीलंकाका तर्फबाट वनडे अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन् । उनले वनडेमा ३३५ विकेट लिएका लिएका छन् । 

यो सूचीमा उनीअघि मुथैया मुरलीधरन र चामिण्डा वास छन् ।