साउने व्रत, उपबास, खानपिन र स्वास्थ्य जीवन बिचको अन्तरसम्बन्ध

साउने व्रत, उपबास, खानपिन र स्वास्थ्य जीवन बिचको अन्तरसम्बन्ध

निर्जला कक्षपति  |  जीवनशैली  |  श्रावण ७, २०७६

साउनको महिनामा महिलाहरूले आफू हरियो रङ्गमा मात्र सजिने मात्र होइन, धार्मिक मान्यता अनुसार ‘ऊँ‘ नमो सिबाय !, ऊँ‘नमो सिबाय !!, ऊँ‘ नमो सिबाय !!! भनेर हरेक दिन बिहान जप्ने गरियो भने मानिसको मनमा एकप्रकारको शान्ति त आउँछ । त्यति मात्र होइन तपाईँ भगवान् शिवको मन पर्ने  साउन महिनालाई ‘अध्यात्ममा विश्वास गरेर’ भगवान्को नाम जप्दा प्रसन्न र आनन्दित हुन सक्नु हुन्छ 

ध्यान, जप, योगा गर्नु हाम्रो शरीरको लागि निकै फाइदाजनक कुरा हो । मेडिकल साइन्सले पनि यसलाई नराम्रो मान्दैन र स्वीकार गरिसकेको छ । शरीरमा भएका कतिपय रोग र नकारात्मक सोंचहरुलाई  ‘ध्यानको माध्यम’बाट न्यूनिकरण गर्न सकिने विश्वास गरिन्छ ।  नियमित योगाले शरीरको  सन्तुलनमा कायम गराउँछ । शरीरको हरेक अङ्गको शारीरिक व्यायाम हुने भएकाले शरीरमा रोग लाग्नबाट बचाउन सक्ने विश्वास गरिन्छ ।  यसै गरी ध्यान गर्दा मस्तिष्कलाई समेत  निकै फाइदा पुरयाउँछ । जब हामी हाम्रो शुद्ध चित्त  पारेर बिहानको समयमा  ‘ऊँ‘’ भनेर भन्ने गर्दा शरीरको विकारहरू फयाँकन सहयोग पुग्ने विश्वास गर्ने गरिन्छ । यसले हाम्रा भित्री अङ्गहरूको पनि ‘एक्सरसाइज’ समेत हुने गर्छ ।  उदाहरणको लागि ढाड नदुखोस, जीउ नदुखोस भनेर शारीरिक ब्यायम गर्न जति आतुर छौ त्यति नै भित्री अङ्गहरू मुटु फोक्सो, कलेजो आन्द्राको पनि ‘एक्सरसाइज’ हुनु अति नै आवश्यक छ । 

साउन महिनामा हरियो, रातो पहेँलो रङ्गका कपडा, चुरा र पोते मिलाएर लगाउने गर्छौ त्यसै गरी खानामा ध्यान दिनु त्यत्तिकै जरुरी छ । हप्तामा १ दिन १६ देखि १८ घण्टा हामी उपवास बस्न सक्यौँ र यसलाई हामीले धर्म र अध्यात्मसँग जोड्न सक्यौँ भने पनि स्वास्थ्य जीवन अझ राम्रो बन्न सक्छ ।

‘ऊँ‘’ भनेर मन्त्र उच्चारण गर्दा हाम्रो पेट स्वात्तै भित्र दबिने गर्दछ । हामीले लामो श्वास लिएर बाहिरको स्वच्छ हावा लिन्छौ, पेट भित्रको हावा बाहिर फयाँकछौं । यसले गर्दा हाम्रो शरीरको मुटु ,कलेजो, आन्द्रा, स्वस्थ राख्न सहयोग पुग्दछ । महिलाहरूको लागि त यो मन्त्रोचारणले  झनै दोहोरो फाइदा पुग्ने गर्छ । यसरी मन्त्रोउच्चारण गर्दा महिलाको तल्लो पेटलाई समेत फाइदा पु¥याउँछ । कतिपय महिलाहरूलाई महिनावारीको समयमा तल्लो पेट दुख्ने समस्या हुन्छ ।  दिनहुँ यसरी १ घण्टा ओम  मन्त्रोउच्चारण गर्ने हो भने दुखाइ समेत कम हुन्छ । 

त्यसैले साउनमा महिनामा हरियो (कपडा,चुरा पोते र मेहन्दी) लगाउने मात्र होइन, शिवजीको ध्यान पनि गर्ने हो । सक्नेले साउन महिनाभर शिवजीको व्रत बस्ने पुरानो परम्परा कायम छ । साउन महिनामा व्रत बमहिलाहरुले  श्रीमान्को आयु बढोस् भनेर मात्र कामना गर्ने र परिवारको सुख र समृद्धिको कामनाको लागि बस्ने गरिन्छ । सक्नेले साउन महिनाभर उपवास समेत बस्ने, नसक्नेले साउनको सोमवार धेरै महिलाहरूले व्रत बसी शिवको पूजा आराधनामा बिताउने गर्छन् ।

यसरी पूजा आराधना गरेर शिवजी प्रति एकत्रित हुनु भनेको पनि एक खालको  ‘ध्यान’ नै हो । केही समयभन्दा पहिलासम्म महिलाहरूले मात्र बस्ने सोमवारको व्रत पुरुषहरूले समेत बस्न थालेको पाइन्छ । पुरुषले पनि शिवलाई सम्झेर ध्यान गर्ने, माछा मासु नखाने, फलफुल र सात्विक भोजन गर्ने गरिएको पाइन्छ । यसो गर्दा व्रत बस्दा शरीर लाइ निर्कै फाइदा पुग्ने जानकारहरूको दाबी रहँदै आएको छ । डाक्टर ओम मूर्ती अनिल भन्नुहुन्छ, ‘व्रत अथवा उपवास बस्दा कम्तीमा १६ देखि १८ घण्टा भोको रहन सक्यो भने शरीरलाई निकै फाइदा पुग्छ । जब हामी फास्टींग बस्छौँ, खाना खादैनौं, त्यो समयमा हाम्रो शरीरको रगतमा भएको ग्लुकोजको उपयोग गर्छ । त्यसपछि शरीरमा भएको ग्लाइकोजीनको उपयोग हुन्छ । त्यसपछि शरीरमा भएको बोसोको मेटापोलीजम घट्न थाल्छ । बोसो घटेपछि हाम्रो शरीरको तौल पनि घट्न थाल्छ । व्रत बस्नाले अथवा फास्टींग गर्नाले, हाम्रो मुटु, मस्तिष्क र हाम्रो पुरै शरीरलाई फाइदा पुरयाउँछ । विपीको लेभल घटाउँछ, सुगर कोलेस्ट्रोललाई नियन्त्रण गर्छ, हार्मोनलाई सन्तुलन गर्छ, सबभन्दा ठुलो कुरा शरीरको तौल घटाउँछ । त्यसैले कम्तीमा १६ देखि १८ घण्टाको ग्याप राखेर फास्टींग गर्नु स्वास्थ्यको लागि निकै राम्रो हो ।’ 

साउन महिनामा सात्विक भोजन गर्नु निकै नै राम्रो मानिन्छ । अघिल्लो पुस्ताका मानिसहरूको भनाइ रहँदै आएको थियो– ‘साउन महिनामा माछा, मासु नखानु, जति सक्दो हलुका खाना खानु’ । यो भनाइ वैज्ञानिक पनि रहेको चिकित्सकहरूले बताउने र आफै ‘फास्टिङ’ बस्ने गरेको पाइन्छ । झरीको समयमा प्रोटिन धेरै भएका खानेकुराहरू खाँदा पचाउन गाह्रो हुने कुरालाई पनि आधार बनाइएको छ । चिसो लाग्ने खानेकुराहरू यो समयमा नखाएको राम्रो मान्ने गरिन्छ । साउनको महिनामा हिउँदको जस्तो राम्रो सागसब्जी र तरकारीहरू नपाइने, पाइहाले पनि धेरै किरा लागेको मात्र पाइने गरेको छ ।

साँझको समयमा विशेष गरी चिसो लाग्न सक्ने खानेकुराहरू नखान आयुर्वेदिक डाक्टरहरूले पनि सल्लाह दिने गरेको पाइन्छ  । यस्तो खानेकुराले वाथ बढाउने, माछा मासुमा प्रोटिनको  मात्रा उच्च हने र उच्च प्रोटिन भएको खाना खाँदा शरीरलाई पचाउन गाह्रो हुन्छ । धार्मिक दृष्टिकोणले समेत साउन महिनामा तामसी क खाना नखानु नै राम्रो मानिन्छ ।  

पौराणिक कालमा हाम्रो खानालाई तिन भागमा वर्गीकरण गर्न गरिएको छ । सात्विक, राजसीक र तामसी क खाना । सात्विक खानाले शरीरलाई शुद्ध र मनलाई शान्त पार्छ  भन्ने मान्यता छ । त्यसले शरीरलाई तन्दुरुस्त राख्छ । हरियो सागसब्जी, ताजा खाना, फलफुल सात्विक खाना भित्र पर्दछ । प्राचीनकालमा क्रषिमुनीहरु समेत सात्विक खाना खाने गरेको विश्वास गरिन्छ ।  त्यसैकारणले उनीहरूको सोच पनि नकारात्मक हुँदैनथ्यो भनिन्छ । सधैँ ध्यान गर्ने अनि सात्वीक खानाको प्रयोगले क्रषिमुनीहरुको अनुहारमा एकप्रकारको ‘चमक’ पाइने गरेको उदाहरण पाइन्छ ।  राजसीक खाना, खाँदा स्वादिष्ट हुन्छ र मसलादार खानाहरू राजसीक खानाको वर्गमा पर्छ । यो खाना बढी खायो भने शरीर र मस्तिष्कलाई बढी क्रियाशील बनाउँछ । धेरै खायो भने यो खानाले उत्तेजित बनाउँछ र नराम्रो असर गर्ने मान्यता छ । मांसहारी र बासी खाना, तामसिक खानाको वर्गमा पर्दछन् ।  यसले शरीरलाई र मनलाई नकारात्मकतक तर्फ लैजाने काम तामसिक खानाले गर्ने गर्छ 

त्यसैले, जसरी हामीले साउन महिनामा हरियो, रातो पहेँलो रङ्गका कपडा, चुरा र पोते मिलाएर लगाउने गर्छौ त्यसै गरी खानामा ध्यान दिनु त्यत्तिकै जरुरी छ । हप्तामा १ दिन १६ देखि १८ घण्टा हामी उपवास बस्न सक्यौँ र यसलाई हामीले धर्म र अध्यात्मसँग जोड्न सक्यौँ भने पनि स्वास्थ्य जीवन अझ राम्रो बन्न सक्छ ।