शान्तिनगर स्थित छ वटा तरकारी पसलेलाई पाँच हजारका दरले जरिवाना !

शान्तिनगर स्थित छ वटा तरकारी पसलेलाई पाँच हजारका दरले जरिवाना  !

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ८, २०७६

काठमाडाैं । उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बृद्धि हुन थालेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको जानकारी दिएकाे छ ।

केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७६ साउन ७ गते बानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन गरेको बताएकाे छ ।

अनुगमनका क्रममा सात वटा पसलले तरकारीको मूल्यवृद्धि गर्न सहयोग गरेको भेटिएपछि अनुगमन टोलीले कारवाही गरेको छ । किसान, ढुवानीकर्ता वा कृषिउपज सङ्कलन केन्द्रबाट खरिद गरिएको तरकारीको बिल, भरपाइ वा किसानलाई तिरेको रकम पुष्टी हुने कागजात नदेखाएका कारण ती पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो ।

छ वटा पसलले प्रत्येकलाई  पाँच हजार र अर्को एउटा पसललाई पाँच हजार ५०० जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका लागि विभागका निरीक्षण अधिकृत पवन प्याकुरेलको नेतृत्वमा तीन वटा टोली खटिइएको थियो ।

अनुगमनका क्रममा तरकारी बजारको अवस्था अत्यन्त नाजुक पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको महानिर्देशन गौचनले जानकारी दिनुभयो । तरकारीको थोक तथा खुद्रा मूल्यसूची राख्न, बिलविजक अनिवार्यरुपमा लेनदेन गर्न, दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न र तरकारी बजारको सुधारको कदम चाल्न निर्देशन दिइएको गौचनले बताउनुभयो ।

यसैबीच, हरिया तरकारीको अनुगममा केन्द्रित भएको विभागले अब माछा, मासु बजारको पनि अनुगमन गर्ने भएको छ । माछा, मासुमा पनि अत्यधिक मूल्य वृद्धि गरिएको पाइएकाले अनुगमन गर्ने तयारी गरिएको विभागका महानिर्देशक गौचनले जानकारी दिनुभयो ।

राजधानीमा हरिया तरकारीको मूल्यवृद्धि भएसँगै अहिले माछा, मासुको मूल्य पनि अस्वभाविक रुपमा वृद्धि  गरिएको छ । एक वर्षअघि एक हजारको हाराहारीमा पाइने खसीको मासुको मूल्य वृद्धि भएर अहिले करीब  एक हजार ३५० सम्म पुगिसकेको छ ।