परम्परागत डोली स‌ंस्कार लाेपउन्मुख !

परम्परागत डोली स‌ंस्कार लाेपउन्मुख  !

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण ८, २०७६

रुकुमपूर्व । एकदशक अघिसम्म रुकुम (पूर्व) का गाउँमा हुने बिहेवारीमा दुलहीलाई डोलीमा चढाएर भित्र्याउने चलन  देख्न पाइन छाेडेकाे छ ।

त्यतिबेला हरेक टोलमा एउटा डोली हुनेगरेकामा अहिले जिल्लाभरमा नै डाेली नभेटिने गरेकाे छ ।   पछिल्लो पुस्ताले त डोली कस्तो हुन्छ भन्नेसमेत थाहा पाउने गरेका छैनन् ।

विसं ०६५ मा सिस्ने गाउँपालिका–५ की रीता बस्नेतले विवाहका बेला बेहुला पक्षले आफूलाई लिन रातो कपडाले सजाएको डोली ल्याएर आएको बिर्सनुभएको छैन । अहिले डोली बोकेर हिँड्दै गरेका जन्ती भेट्न मुस्किल छ । डोलीसँगै पुराना सांस्कृतिक पहिचान र परम्परा लोप हुँदै गएका छन् । सोही गाउँपालिका–८ स्यालापाखाकी बिमला योगीको ०५५ सालमा र वडा नं ६ की नम्रता मगरको पनि ०६० मा बिहे हुँदा उहाँहरू डोली चढेरै आउनुभएको थियो ।

सिस्ने–५ की कमला परियारको बिहे हुँदा पनि उहाँलाई जन्ती पक्षले रङ्गीचङ्गी बनाएर साजाइएको डोलीमा हाली ल्याएकोे सम्झँदा रमाइलो मान्नुहुन्छ । आफ्नो बिहेको रमाइलो पल सुनाउँदै कमलाले भन्नुभयो,   ' त्यसबेला बेहुलीलाई जन्तीले डोलीमै बोकेर ल्याउने चलन थियो ।' स्थानीयवासी आफैंले काठको डोली बनाउँथे ।

डोली प्रयोग गरेबापत जन्तीलाई निश्चित रकम दिने चलन थियो । त्यसबाट आम्दानी पनि राम्रै हुन्थ्यो । डोली प्रयोग हुन छोडेपछि केहीको आम्दानी पनि सुकेको स्थानीयवासी रामबहादुर बुढाथोकीले बताउनुभयो । डोली कसैले एक पटक भाडामा लिएबापत रू तीन हजारसम्म दिने गरेको उहाँले उल्लेख गर्नुभयो । हिजोआज धेरैतिर सडक पुगेपछि गाडी चल्न थालेकाले सबैले गाडी प्रयोग गर्न थालेका छन् । पहिले–पहिले घोडाको प्रयोग पनि बढी नै थियो ।

अहिले बिहेमा घोडाको प्रयोग पनि शून्य भएको सोही गाउँपालिका–४ की सानु बुढाले बताउनुभयो । गाउँघरको परम्परागत कला र संस्कृति पनि लोप हुँदै गएको सोही गाउँपालिका–५ का मोहन शाहीले बताउनुभयो । आफ्नो संस्कृति, रीतिरिवाज जोगाउन ध्यान नदिँदा थुप्रै परम्परा मासिँदै गएको छ भन्दै उहाँले सवारी साधनहरु गाउँघरमा पुगे पनि आफ्नो पहिचान लोप हुनु राम्रो नभएको बताउनुभयो । गाडीमा सहज भए पनि डोली चढाएर दुलही अन्माउनु बेग्लै मिठास हुने शाहीको भनाइ थियो ।

मगर बाहुल्यता रहेको रुकुम (पूर्व)मा फरक भाषा, वेशभूषा, चालचलन, रीतिरिवाज भएका बासिन्दाको बसोबास छ । कतिपय संस्कृतिहरुलाई पश्चिमेली संस्कृतिले फेरबदल गरिदिएको छ । अहिलेका बिहे, व्रतबन्ध, र अन्य चाडपर्वहरुलाई आधुनिकताले परिवर्तन गरिसकेकोे छ । स्थानीय सरकारले संस्कृति जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको उक्त गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । बुढामगरले भन्नुभयो 'मौलिक कला संस्कृतिले जिल्लाको पहिचान झल्काउने गर्दछ ।' 'मौलिकता बोकेका कतिपय परम्परा जोगाउनै पर्छ भन्ने मान्यताले गाउँपालिकाअघि बढेको छ',  जानकारी दिएकाे समाचार राससमा छ ।