कांग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान

कांग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७६

पोखरा । नेपाली कांग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसले ‘निष्ठावान कांग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ । 

अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा. डा. भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण संगठन दिनानुदिन कमजोर बन्दै गएको बताउनुभयो । नेपालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनादेखि दोस्रो लोकतान्त्रिक आन्दोलन हुँदै गणतन्त्रसम्म आइपुग्दा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उहाँले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि पार्टी मजबुत बन्नुपर्ने बताउनुभयो ।

गुट–उपगुटले कांग्रेसलाई कमजोर बनाउने र त्यसको प्रत्यक्ष असर राष्ट्र र लोकतन्त्रमाथि पर्ने भएकाले देशव्यापीरूपमा नै नेपाली कांग्रेसभित्रै निष्ठावान कांग्रेसखोजी अभियानलाई सक्रिय बनाइने जानकारी दिनुभयो । ‘यो अभियानको उद्देश्य कांग्रेसको गरिमामय योगदानलाई जीवन्त राख्दै पार्टीलाई आफ्नो मूल्य मान्यताअनुरूप क्रियाशील गराउनका लागि हो, कुनै पदप्राप्ति वा अन्य स्वार्थमा आधारित भई गरिएको होइन,’ नेपाल प्राध्यापक संघका पूर्वकेन्द्रीय सभापतिसमेत रहनुभएका ढकालले भन्नुभयो, ‘अनुशासित र क्रियाशील कांग्रेस राष्ट्रका लागि आवश्यक छ ।’ 

यो खबर राससमा छ ।