पाण्डव गुफा संरक्षणको  बजेट सडक निर्माणमा खर्च

पाण्डव गुफा संरक्षणको  बजेट सडक निर्माणमा खर्च

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण ९, २०७६

जुम्ला । सिञ्जा उपत्यकामा रहेको ऐतिहासिक पाण्डव गुफा संरक्षणको अभावमा जीर्ण बनेको छ ।

ऐतिहासिक महत्व बोकेको पाण्डव गुफाको संरक्षण हुन नसकेको स्थानीय राजबहादुर बडुबलले बताउनुभयो ।

गुफाभित्र पाँच भाइ पाण्डवका मूर्ति छन् । रारा जाने बाटोमै पाण्डव गुफा पर्छ । यहाँ दैनिक सयौँ पर्यटकको घुइँचो लाग्ने गरेकाे छ ।

कनकासुन्दरी गाँउपालिकामा रहेको पाण्डव गुफा एक महत्वपूर्ण ऐतिहासिक पर्यटकीय गन्तव्य हो । पाँच भाइ पाण्डवका किंवदन्ती हेर्न आन्तरिक तथा बाह्य पर्यटक दैनिक जसाे  आउने गरेका छन् । सबैले यसको सरंक्षण तथा प्रवद्र्धनमा जोड दिन सुझाव दिन गरेका छन् ।

 'परम्परागत महत्व सम्झेर पर्यटक आउँछन्, अहिलेको दूरावस्था देख्दा निराश भएर फर्कन्छन्', उहाँले भन्नुभयो । यसको संरक्षणका लागि स्थानीय तथा प्रदेश सरकारले पनि ध्यान नदिएको उहाँको गुनासो छ । नाग्म–गमगडी सडकदेखि गुफासम्म पुग्ने पदमार्ग पनि सहज छैन । अहिले गुफाभित्र बनेका संरचना पनि जीर्ण बन्दै गएका छन् । गुफाको अवशेष नै नासिने हो कि भन्ने स्थानीय बासिन्दाको चिन्ता छ । गुफा हेर्न आउने पर्यटकलाई ढोका खोल्ने र बन्द गर्ने मानिससमेत हुँदैनन् ।

अव्यवस्थित गुफा संरक्षणको पर्खाइमा छ । हेर्न भनेर गएका पर्यटक कहिलेकाहीँ त गुफा बाहिरबाटै फर्किने गरेका छन् । गुफाभित्र प्रवेशका लागि आन्तरिक पर्यटकलाई  ३० र बाह्य पर्यटकलाई रु१५० शुल्क लिने गरिएको छ । कनकासुन्दरी गाउँपालिकाले पनि गुफाको संरक्षण तथा सम्वद्र्धनका लागि पहल नगरेको स्थानीय बासिन्दाको गुनासो छ । चालू आर्थिक वर्षमा पाण्डव गुफाको नाममा गाउँपालिकाले  दुई लाख बजेट विनियोजन गरेको थियो । त्यो रकम स्थानीय जनप्रतिनिधिले सडकमा खर्च गरेका छन् ।

तीन दशकअघि स्थानीय धनमल रोकाया गुफा संरक्षणमा लागेका थिए । उनले गुफामा रुद्री लगाउने, पूजापाठ गर्ने, मर्मतसम्भार गर्नेलगायतका काम गरेका थिए । कर्णालीका सबै जिल्लाका पर्यटन सम्भावनाको दिगो विकास तथा पर्यटनबाट आर्थिक समृद्धिका लागि कर्णाली सरकारले पञ्चवर्षीय गुरुयोजना तयार गरिरहेको छ । सम्भावनाको प्रवद्र्धन र नयाँ गन्तव्यको खोजीमा लागि गुरुयोजना निर्माण टोलीले कर्णालीका १० वटै जिल्लामा स्थलगत अनुगमन पनि गरिरहेको छ ।

पर्यटन विशेषज्ञ रामचन्द्र सेढाईंको नेतृत्वमा आठ सदस्यीय टोलीले जुम्लामा चन्दननाथ मन्दिरसँगै सिञ्जा उपत्यका र पाण्डव गुफालाई गुरुयोजनामा विशेष प्राथमिकता दिइएको छ । पाण्डव गुफाको संरक्षण, सम्वद्र्धन तथा पदमार्ग निर्माण, प्रचारप्रसारका लागि झण्डै र एक करोड बढीको बजेट तर्जुमा गरिएको समाचार राससमा छ ।